IME Life
GBIME

राहुघाट जलविद्युत् आयोजनाको काम ८०% सकियो, आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सकिएको छ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलियतपूर्ण ऋणमा आयोजना निर्माण भइरहेको छ। म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

Crest

आयोजनाको ६.२ किलोमिटर लामो सुरुङ खनी कंक्रिट लाइनिङको काम धमाधम भइरहेको छ। कमजोर भौगर्भिक अवस्था रहेकाले सुरुङलाई पूर्ण रुपमा कंक्रिट लाइनिङ गर्नुपर्नेछ।

हालसम्म मुख्य सुरुङको १ किलोमिटर कङ्क्रिट लाइनिङ गरिएको छ। मुख्य सुरुङबाट विद्युत् गृहसम्म पानी पुर्याउन राखिने १०५० मिटर पेनस्टक पाइपमध्ये १३० मिटर जडान गरिएको छ। विद्युत् गृहको मुख्य सिभिल संरचनाहरुको निर्माण सम्पन्न गरी टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको छ। विद्युत् उत्पादनका लागि २०–२० मेगावाटका दुईवटा युनिट रहनेछन्।

खोलाको नदी फर्काउन आवश्यक बाँधको सिभिल संरचना निर्माण सम्पन्न भएको छ। बाँधमा रहने गेटलगायतका उपकरणहरु आयोजनास्थलमा ढुवानी भइसकेका छन्। अब जडान सुरु हुनेछ। बालुवा थिग्ग्रयाउने पोखरी (डिसेन्टर)को निर्माण करिब ३० प्रतिशत सकिएको छ। बर्खाका कारण रोकिएको हेडवर्क्सको निर्माण अब सुरु हुने आयोजनाले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले बिहीबार निर्माणस्थलको अनुगमन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका छन्। घिसिङले विभिन्न समस्या झेल्दै आएको आयोजना आगामी असारभित्र जुनसुकै अवस्थामा निर्माण सम्पन्न गर्ने गरी एकीकृत तालिका बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। ‘कमजोर तथा जटिल भौगोलिक अवस्थिति, कोभिड–१९ को महामारी, भूकम्पलगायतका वाबजुद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ’, उनले भने, ‘आयोजना निर्माण सम्पन्न हुने विषयमा भारतीय अधिकारीहरुबाट निरन्तर चासो व्यक्त भइरहेको हुन्छ, सबै पक्षले अन्तिम प्रयास गरी चालु आर्थिक वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिनुपर्छ, यसका लागि हाम्रोतर्फबाट आवश्यक सहजीकरण गर्नेछौँ।’

असारभित्र सम्पन्न हुने गरी एक हप्ताभित्र निर्माण समयतालिका टुंगो लगाएर सबै पक्षले हस्ताक्षर गरी सोहीबमोजिम कार्य अगाडि बढाएको घिसिङले बताए। ‘कंक्रिट लाइनिङको काम सम्पन्न गर्न चुनौतीपूर्ण देखिएकाले जनशक्ति थप गरी निर्माणलाई तीव्रता दिनुपर्ने देखिन्छ’, उनले भने।

आयोजनाको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा उल्लेखित स्थानबाट झिक्न नपाउँदा ढुंगा, गिट्टी र बालुवाको अभावमा व्यहोर्नुपरेको थियो। सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको २९ असार २०७८ को एकल इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा वातावरणीय महत्वको देखिएकाले रिटको अन्तिम टुंगो नलागेसम्म उक्त नदीको प्राकृतिक बवावलाई पथान्तरण गरी जलाशय बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनास गर्नेलगायतका प्राकृतिक बहाव र पर्यापरण प्रतिकूल हुने गरी कुनै पनि कार्यहरु नगर्नू नगराउनू भनी अन्तरिम आदेश जारी गरेको थियो। मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

आयोजनाको प्रवर्द्धक कम्पनी रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले नदीजन्य निर्माण सामग्रीमा देखिएको समस्या हाल अस्थायी रुपमा समाधान भएको बताए। केसीले कुनै ठूलो समस्या नदिएमा असारभित्र आयोजना सम्पन्न हुने अवस्थामा पुगेको बताए।

आयोजनाको अनुमानित लागत ९ अर्ब १७ करोड रुपैयाँ छ। आयोजनामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलियतपूर्ण ऋण रहेको छ। बाँकी रकम सरकार र प्राधिकरणले लगानी गरेको छ। त्रिशूली र देवीघाट जलविद्युतपछि भारतले विद्युत उत्पादनतर्फको राहुघाटमा सहायता उपलब्ध गराएको हो।

सुरुमा आयोजनाको क्षमता ३२ मेगावाट थियो। आयोजना निर्माणका लागि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएपछि ठेक्का तोडिएको थियो। त्यसपछि आयोजनाको क्षमता बढाएर ४० मेगावाट बनाएर नयाँ ठेक्का सम्झौता गरिएको थियो। दैनिक ४ घन्टा पिकिङ गर्न मिल्ने आयोजनाबाट वार्षिक रुपमा २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुनेछ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS