Connect IPS
IME Life

बीमामा लाग्ने रकम खर्च होइन, लगानी हो: नरेश रोक्का सीईओ प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ हुन्, नरेशकुमार रोक्का । स्थापनाको छोटो समयमै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले  राम्रै व्यापार गर्न सफल भइरहेको छ। लघु बीमा क्षेत्रमा प्रवेश गर्नुअघि सीईओ रोक्काले बैंकिङ क्षेत्रमा लगभग ३ दशक लामो कार्यानुभव हासिल गरेका छन्। कृषि विकास बैंकमा काम गर्दा उनी नायब प्रमुख कार्यकारी अधिकृतसम्म भएका थिए। उनीसँग कृषि विकास बैंकको विभिन्न विभागमा बसेर काम गरेको अनुभव रहेको छ। त्रिभुवन विश्वविद्यालयबाट एमबी गरेका रोक्कासँग लघु बीमा क्षेत्रको चुनौती, सम्भावना र अवसरका विषयमा ‘इन्स्योरेन्स टक’मा गरिएको कुराकानीको सारसंक्षेपः

धनगढी , सुदूरपश्चिम प्रदेश, ननलाइफमा माइक्रो सेग्मेन्टको बिजनेस गर्ने गरी लाइसेन्स लिएर दौडिरहनुभएको छ। गरिब प्रदेश भन्छन्। तपाइँ पैसा भएकाहरुको बीमा गराउन जानुभएको छ। कत्तिको सजिलो छ ? कत्तिको अप्ठ्यारो छ ?

Prabhu
Crest

हरेक ठाउँमा आआफ्ना विशेष हुन्छ। सजिलो र अप्ठ्यारो आआफ्नो छँदैछन्। हाम्रो प्रधान कार्यालय सुदूरपश्चिमको धनगढीमा रहेको छ। त्यो प्रदेशमा समग्रतामा हेर्दाखेरी नेपालको कुल निर्जीवन बीमातर्फको कारोबार तुलनात्मक रुपमा कमी नभएको प्रदेश हो। त्यो अर्थमा अलि पछाडि रहेको प्रदेश पनि भन्न सकिन्छ। अरु विभिन्न कारण। सँगसँगै सुन्दर सुदूरपश्चिम भनेर धेरै राम्रा टुरिजमका सम्भावना बोकेको प्रदेश पनि हो। र, विभिन्न कृषिलगायतका अन्य सम्भावना रहेको ठाउँ हो। भारतसँग नाका जोडिएका ठाउँहरुबाट चाहिँ व्यापारको सम्भावना बोकेको पनि ठाउँ हो। त्यस कारणले जे जस्तो छ आफ्नो ठाउँमा जे सकिन्छ, त्यो चाहिँ त्यहाँका मानिसहरुलाई सेवा दिने हिसाबले हामी अगाडि बढेका छौँ। यो भर्खर सुरुआत हो हाम्रो। हेरौँ कस्तो हुन्छ ?

थोरै मान्छेमात्रै इन्स्योरेन्सको राडारमा आएका छन् भनेपछि अपरच्युनिटी पनि हो ?

पक्कै अपरच्युनिटी हो। किनभने नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्याको ४३–४४ प्रतिशतमा मात्रै बीमाको पहुँच पुगेको छ। त्यो ४३–४४ प्रतिशतमा पनि डुब्लिकेसन हटाउने हो भने चाहिँ अझै केही प्रतिशत घट्न सक्ला। त्यो प्राधिकरणकै अनुमान हो। त्यस कारणले भर्जिन मार्केट छ, हामीसँग। त्यो मार्केटमा एकैपटक त सबै भएभरका छुटेका मान्छेहरुलाई समावेश गरौँ, माइक्रोले मात्रै त्यसलाई कभर गरौँ भन्ने सम्भावना नरहला। तर, पक्कै हामी गइसकेपछि केही न केही त्यहाँ सुधार हुन्छ र विभिन्न कारणले छुटेका मान्छेहरु कुनै न कुनै रुपमा समेट्दै जाने लक्ष्य रहेको छ।

त्यसमा पनि सुदूरपश्चिममा त थोरै मान्छेको मात्रै बीमा भएको छ। थोरै एरियामात्रै कभरेज भएको छ भनेपछि त तपाइँहरुलाई धेरै ठूलो स्पेस बाँकी छ।

एकदमै हो। त्यही लक्ष्य विचार गरेर अहिले हामी सुदूरपश्चिममा हाम्रो ४ वटा युनिट छ, पहिलो साल। धनगढीमा हाम्रो केन्द्रीय कार्यालय भइहाल्यो। सँगै हामीले डडेल्धुरामा एउटा युनिट राखेका छौँ भने गोकुलेश्वर जहाँ चाहिँ अहिलेसम्म ननलाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कसैको पनि शाखा नभएको बैतडी र दार्चुला जिल्लालाई जोड्ने ठाउँ जुन छ, त्यहाँको भर्जिन मार्केटमा पनि हामी गएका छौँ। त्यहाँका स्थानीय निकायहरुलाई चाहिँ खुद मागअनुसार नै हामी त्यहाँ गएका छौँ। भलै त्यो व्यावसायिक रुपमा कति सफल हुन्छ, हेर्नै बाँकी छ। र, सँगै लम्की भन्ने तराईमा पनि पुगेका छौँ। यसरी हामी पहिलो साल ४ वटा युनिट लिएर गएका छौँ। हाम्रो लक्ष्य के छ भने आगामी २ वर्षमा हामी सुदूरपश्चिमका ९ वटै जिल्लामा पुग्छौँ।

भनेको अहिले तपाइँहरु पूरै ध्यान सुदूरपश्चिम प्रदेश हो ? त्यहाँबाट बाहिर निस्किनु भएको छैन।

बाहिर पनि निस्केका छौँ हामी। हामी कुनै पनि व्यावसायिक संस्था वित्तीय रुपमा वा आर्थिक रुपमा सक्षम भएमात्रै त्यसले क्वालिटी सर्भिस डेलिभरी गर्न सक्छ भन्ने मान्यता विश्वास राख्छौँ। हिजोदेखि हामीले विश्वास गरेको चिज त्यही हो। त्यो शाश्वत सत्य पनि हो। त्यसका कारणले सेवा दिने नाममा सेवामात्र दिने भनेर दुर्गम र विकटमात्रै दौडियौँ भने जुन लक्ष्य त्यो पूरा गर्न नसकिएला। सँगसँगै सुदूरपश्चिम हाम्रो विशेष प्राथमिकता भए पनि हामीले नेपालका अरु क्षेत्रमा हाम्रो कारोबारको दायरा लिएर गएका छौँ। अहिले हामीले पूर्वको झापादेखि पश्चिमको दार्चुलासम्म हाम्रा ११ वटा युनिट राखेका छौँ। सानो–सानो युनिटहरु छ। एकदमै लो कस्टमा। प्राधिकरणले पनि हामीलाई पुराना कन्भिस्नल कम्पनीहरुजस्तो खर्चिलो भयो भने तपाइँहरु धान्न सक्नुहुन्न माइक्रो भनेरै सुझाव दिइरहेको छ। त्यसका कारण हामी एकदमै लो कस्टका ब्रान्चहरु राखेका छौँ। अलि सानो साइजका कर्मचारी राखेका छौँ। तर, कहीँ न कहीँ त हाम्रो उपस्थिति जरुरी छ। त्यो कर्मचारीले पनि ओत लाग्ने ठाउँ त चाहियो नि। झोला बोकेर हिँडेरमात्रै पनि खासै उपलब्धि नहोला भनेर त्यो प्वइन्टमा टेकेर स्थानीय निकायहरुसँग समन्वय गरेर हामी अगाडि बढिरहेका छौँ।

माइक्रो इन्स्योरेन्स तपाइँहरु। उता माइक्रो फाइनान्सवालाहरु बदनाम छन्। धेरै पैसा उठाए। यो गरे, त्यो गरे, के गरे भन्ने नाममा। त्यो माइक्रोफाइनान्सको ब्रान्ड चाहिँ नेगेटिभ ब्रान्ड तपाइँहरुकहाँ ट्रान्सफर भएर दुःख अथवा कन्भिन्स गर्न कठिन भइरहेको पस्थिति छ कि छैन ?

म बैंक तथा वित्तीय संस्थाबाट आएको नाताले म के भन्छु भनेँ लघुवित्तको जुन कन्सेप्ट हामीकहाँ आयो, जुन समयमा आयो, त्यो ठीक समयमा ठीक किसिमले आएको थियो। लघुवित्तका केही फन्डामेन्टल मान्यताहरु हुन्छन्। लघुवित्तको हाम्रो यहाँ मोडल चाहिँ करिब–करिब बंगलादेशको ग्रामीण बैंकको मोडल (मोहम्मद युनिसको मोडल, जसले नोबेल पुरस्कार पायो) कपी गरेको हो। तर, भइदियो के भने बीचमा चाहिँ लघुवित्तहरु जुन मेन १२–१५ वटा फन्डामेन्टल प्रिन्सिपल हुन्छन्, लघुवित्तको सदस्य बन्नका लागि फन्डामेन्टल हुन्छन् कि उसले आजआर्जन गरेकै हुनुपर्छ, उसले आफ्नो बचत गर्ने बानी गरेकै हुनुहुपर्छ, उस कुनै लागूपदार्थ खाने मान्छे हुनुहुँदैन, उसले दाइजो प्रथाको विरोध गरेकै हुनुपर्छ, सागसब्जी लगाउनुपर्छ, स्वास्थ्य वर्षको एकपटक जचाउनुपर्छ, सफा ट्वाइलेट युज गर्नुपर्छ, एकदम स्वस्थवर्द्धक खानेकुरा खानुपर्छ। यस्ता चिजहरु चाहिँ फन्डामेन्टल प्रिन्सिपलका कुराहरु एउटा। अर्को कुरा सँगै के हो भने एकजना मान्छेले एउटा संस्थाबाट मात्रै सर्भिस लिनुपर्ने कुरा थियो। र, उसले केही जेनेरेट गर्नुपर्छ त्यहाँबाट। उसले फाइनान्सियल सपोर्ट पाइसकेपछि उसले त्यसमा भ्यालु एड गर्न सक्नुपर्थ्यो। त्यहाँनिर हामी अलिकति चुक्यौँ। मेरो व्यक्तिगत विचारमा लघुवित्तहरु पनि कसरी आफ्नो टार्गेट मिट गर्ने अथवा फानाइन्सियल्लीमात्रै नाफा कसरी कमाउने भन्नेतिर गए। ग्राहक पनि इन्कम जेनेरेट भएन, त्यो एउटाको खाल्डो पुर्नलाई क्रमशः अर्को र अर्कोको खाल्डो पुर्न अर्को भयो र रेगुलेसनको पार्टमा कहीँ न कहीँ चुकावट भयो भनौँ न। अहिले आएर इभ्यालुएसन गर्दा अलिकति कमजोरी रह्यो। यसको अर्थ सबै नेगेटिभ नै भयो, लघुवित्तले सबै खराब गर्यो भन्ने होइन। लघुवित्तमा लागेर धेरै राम्रो स्कोप गर्ने मान्छेहरु लघुवित्तबाट उम्केर भोलि कमर्सियल बैंक माथि–माथि पुगेको क्लाइन्टहरु पनि हुनुहुन्छ। तर, जसले त्यो सदुपयोग गर्यो र इन्कम जेनेरेसन गर्यो, त्यसले प्रगति गर्यो। जसले त्यही खाइखेल्को मात्रै गर्यो, एउटासँग तिर्न अर्कोसँग लियो, अर्कोसँग लिएको तिर्न अर्कोसँग लियो, इन्कम त उसको बढेन, केही पनि बढेन। उसका आदत्त पनि सेभिङ गर्नेतिर गएन। उसका खर्च गर्ने बानी पनि यथवात रह्यो। पैसा आइहाल्यो, ३ लाख, ४ लाख र ५ लाख, २–४ महिना त त्यसले चल्यो। त्यही पैसाबाट अर्को संस्थालाई ब्याज बुझाउँदै, साँवा–किस्ता तिर्दै गयो। यो रोटेसनको प्रक्रियामा जो गए, ती चाहिँ असाध्यै अप्ठ्यारोमा परे।

त्यो तपाइँहरुतिर आफ्नो कलस्टरमा सरेर आउँछ कि, दुःख दिन्छ कि भन्ने छ कि ?

यस्तो छ क्या। माइक्रो इन्स्योरेन्स अझै ढिलो आयो। माइक्रो इन्स्योरेन्स चाहिँ लघुवित्तसँग जोड्छु म। मेरो बुझाइमा। किनभने जब लघुवित्त आयो, सँगसँगै लघु बचत आयो, लघु कर्जा आयो तर लघु बीमा आएन। म चाहिँ त्यतिखेरै लघु बीमा आउनुपथ्र्यो भन्छु। उनीहरुको लोनका लागि कहीँ–कतै अप्ठ्यारो पर्दाखेरी ब्याकअपका रुपमा लघु बीमा आउनुपर्थ्यो। यदि हामी ८–१० वर्ष अगाडि नै लघु बीमा आइसकेको थियो भने अहिले जति अप्ठ्यारो पर्यो, ती अप्ठ्यारोमा परेका केही न केही मान्छेहरुलाई, जो चाहिँ परियोजना नोक्सान भएर अथवा विविध कारणले नोक्सानीमा परे, उनीहरुलाई हामीले सपोर्ट सक्थ्यौँ र यो नेगेटिभिटीमा केही न केही मह्लम लगाउन सक्थ्यौँ। अब यो इन्टायर्ली फरक छ, कर्जा दिने काम र बीमा गर्ने काम फरक–फरक काम हुन्।

माइक्रोफाइनान्सहरु किन बदनाम भएभन्दा ग्रामीण क्षेत्रमा गए। बिना धितो समूह बनाएर ऋण दिन थाले। तपाइँले भनेको जस्तो ‘इधरका माल उधर, उधरका माल इधर’ गरेर बिग्रिए। उनीहरुको कस्ट हाई थियो। तपाइँहरु पनि आखिर जाने त झुपडीमै जाने हो। ग्रामीण बस्तीमै जाने हो। तपाइँहरुको पनि लागत बढेको होला। क्लेम पनि त्यही लोकल्ली सेटल गराउनुपर्ने भएकोले क्लेम अलि धेरै बढी आइदेला। लघुवित्त उता फाइनान्सियल मार्केट बिगार्न भूमिका खेले भन्ने आरोप छ। भोलि बीमा बजार बिगार्न चाहिँ लघुबीमा भूमिका खेले भन्ने दिन त आउँदैन, भन्ने चासो छ नि ?

अहिले ठूल्ठूला नाम चलेका लघुवित्त र सहकारीहरुप्रति जुन किसिमको धारणा छ, सबै त न भनौँ, धेरैजसो आममान्छेको धारणा छ। कतै लघु बीमा पनि त्यस्तै त हुने होइन भोलिका दिनमा, त्यही खाल्डोमा जाने त होइन, त्यही ब्ल्याक होलमा फस्ने त होइन भन्ने सर्वसाधारणको धारणा छ। हामी क्रमशः लघु बीमा के हो ? लघु बीमाले के गर्छ ?, लघु बीमाले समेट्ने चिज के हुन् ? यो चाहिँ तपाइँहरुलाई अझै गरिब बनाउन आएको होइन, तपाइँहरुलाई गरिब बन्ने प्रक्रियामा हामी कुनै न कुनै रुपमा टेवा दिन आएका हौँ। तपाइँहरुलाई सपोर्ट गर्न आएका हौँ भन्ने हिसाबले गइरहेका छौँ। हेरौँ क्रमशः विस्तारै यो पनि यस्तो रहेछ बुझ्लान। नभए त अहिले त्यत्रा त्यत्रा ठूला मार्टहरु चलाउने चाहिँ डिपार्टमेन्ट स्टोर, स्कुल, कलेज सबै चलाउने सहकारीहरुको हालत त त्यस्तो भयो भने यो झन् के कम्पनीहरु हो र, यो फुच्चे कम्पनी भन्ने केही मान्छेहरुको धारणा छ। त्यस्तो होइन। यस्तो हो, लघु बीमा यो हो। तपाइँको आपतको साथी हो। र, यसको ब्याकअप यस्तो हुन्छ। हामीले पनि पुनर्बीमा गर्या हुन्छौँ। हामी चाहिँ भोलि क्लेम दिँदैन कि यो सानो कम्पनीले भन्ने पनि कतिको धारणा छ। त्यस्तो छैन। क्रमशः हामी गर्दै गइरहेका छौँ। लघु बीमालाई एकदमै सापेक्ष रुपमा यो एकदम खत्तमै भयो, यो कम्पनी कामै लाग्ने थिएन भन्ने भाष्य पनि त्यति राम्रो होइन। अब विचारा अप्ठ्यारोमा परेको मान्छेलाई के गर्छ, मिनाहा भइदिए राम्रो हुन्थ्यो भन्ने सोच्छ। केही वर्गले म मिनाहा गराइदिन्छु आश्वासन बाँडियो। विस्तारै त्यो उजागर हुँदै जान्छ। त्यो सम्भव नभएका कुराहरु हुन्। त्यस हुनाले अल्टिमेल्टी अब उसलाई कसरी उसलाई मौका दिने, समय दिने र त्यो ब्ल्याक होलबाट बाहिर निकाल्नेबाहेक राज्यसँग र हामी कसैसँग पनि विकल्प छैन।

थोरै–थोरै प्रिमियम उठाउनुहुन्छ। जोखिम पनि थोरै नै बोक्नुहुन्छ, बोक्न त। तर, यत्रो पुँजी छ। लगानीकर्तालाई जस्टिफाई गर्न त मुश्किल पो देखिन्छ त ?

अब गाह्रो। आजको दुनियाँमा जन्म लिएर आइसकेपछि हरेक पल गाह्रो, साह्रोबाटै अगाडि बढ्छौँ। आजको दिनमा संसारको सबैभन्दा शक्ति राष्ट्रको सबैभन्दा प्रमुख मान्छेलाई पनि गाह्रो छ, सँगै हरेक संस्था र इन्स्टिच्युटलाई पनि गाह्रो छ। तपाइँले भन्नुभएको कुरा ठीक हो। सानो छ प्रिमियम साइज। एकदमै कर्मचारी राखेर वा फिजिकल्ली नै काम गर्दाखेरी चाहिँ हाम्रो कस्ट इफेक्टिभ नआउन सक्छ। त्यस हुनाले हामी केही हदसम्म डिसिजनमा पनि (१२ः३८) जान्छौँ। त्यो प्रयास भइरहेको छ हाम्रो। अरुको कुरा चाहिँ अलिकति हामीले व्यावसायिक रुपमा सम्भावना भएका ठाउँहरु छाडेका छौँ। त्यति भएर किन लघु बीमा सहरमा भन्नुहुन्छ नि। लघु बीमा गाउँमा, दुर्गममा, विपन्नमा, अरु जानै सक्ने ठाउँमा पठाइदिने हो भने ४–५ वर्षमा लघु बीमा आफ्नो पुँजी खाइसक्छ। लेखेर राख्नुहोस्। त्यसैले यो कुनै लहडबाजीमा आएको, च्यारिटेबल वा अनुदान प्राप्त कुनै संस्था होइन। यो संस्थाले छुटेका, सहरमा पनि गरिब छ नि त। एउटा मोटरसाइकल चढ्ने मान्छेले, सुन पसलमा काम गर्ने मान्छेले, महिनाको १०–१२ हजार, १५ हजार कमाउने वा अरु कुनै इलम कृषि गर्ने मान्छेले त्यो मोटरसाइकलको एउटा बीमा गर्दाखेरी आजको एक दिन बिताउनुपर्यो भने त उसको ५–७ सय रुपैयाँ ज्याला त गयो नि त। दिनभरि १०० जना मान्छे लाइन लागेर बस्नुभन्दा त ४–५ वटा हामीले सहयोग गर्यौँ, उसको काम आधी घन्टामा भयो, छिटो भयो रिन्युको पार्ट भने त आखिरमा यसले पनि नेसनलाई कन्ट्रिब्युसन हुन्छ नि। यसरी पनि हामीले सोच्नुपर्छ।

तपाइँहरुले यो लागत घटाउन त डिजिटल्ली म्यासिभ जानुुपर्ने रहेछ। टेक्नोलोजीमा खर्च पनि हुन्छ। अवेयरनेस पनि बढाउनुपर्यो। अनि त्यसको लाभसँग तपाइँहरुले भन्दा ठूला कम्पनीले बढी लिइदेलान्। किनकि उनीहरु जताततै देखिन्छन्।

होइन ठीक छ। हामी त्यसमा खुसी नै हुन्छौँ। उहाँहरुले गरेको प्रयासले हामीले केही पाउँछौँ होला। हामीले गरेको प्रयासले उहाँहरुले लाभ लिनुभयो भने त अल्टिमेट्ली बीमाको दायरा नै बढ्ने हो। अनकभर्ड मान्छे कभरेजको क्षेत्रभित्र आउने छ। त्यसो भएको हुनाले उहाँहरु हाम्रो ठूल्दाइ हुनुभयो। उहाँहरुले लाभ लिँदा हामीलाई केही फरक पर्दैन।

अलि खोसा–खोसको कत्तिको जारी छ ?

छैन। हामीले के खोस्न सक्छौँ र। माइक्रो इन्स्योरेन्स भर्खर त जन्म भएर आएको हो। भर्खर सानो पास्नी सकिएको भनौँ न अब।

तर, विल्कुल नयाँ बजार झन गाह्रो हुन्छ।

केही हदसम्म गाह्रै छ। तर, मान्छेको विश्वास बढ्दै गइरहेको छ। मान्छे के चाहन्छ आज भने उसले कुनै चिजा वा सेवा तिर्नुपर्ने भएपछि समय चाहिँ किल नहोस् भन्ने चाहन्छ। त्यस कारणले हिजोको कुरा गर्दा ठूल्दाइ (ठूला कम्पनी)हरुलाई अवसर नदिएको पनि होइन। भनौँ न २०७०।७१ सालको नीति तथा कार्यक्रममा लघु बीमाको कन्सेप्ट आएर उहाँहरुलाई तपाइँहरु चाहिँ लघु बीमाको दायरा बढाउनुहोस्, अनिवार्य गर्नुहोस् भनिएको थियो। हाम्रो लघु बीमा कम्पनीहरुको त कन्सेप्ट नै थिएन नि। जब उहाँहरुलाई त्यो अवसर आयो, लामो समयसम्म त्यसलाई वाचफुल भएर हेरिरहँदा पनि होइन यहाँबाट डिजायर रिजल्ट आएन भनौँ। उहाँहरुको टोटल पोर्टफोलियोमा त इच्छा त देखिएन नि।

इच्छा नदिएको हो कि प्रफिटेबल नदेखेर स्किप भइरहेका थिए ?

दुइटै कुरा हुन सक्छ।

तपाइँहरुले कसरी लैजानुहुन्छ ?

हामी त्यसलाई प्रफिटेबल बनाएर लैजान्छौँ। त्यस्तो ठूलो प्रफिट चाहिँदैन। अनफेयर कम्पिटिसन चाहिँदैन। तर, संसारमा कुनै पनि लगानीकर्ताले कम्पिटिटिभ रिटर्न त खोज्छ, खोज्छ। त्यसकारणले हामीलाई सहरबाट निकालेर गाउँ नै जा भन्ने भाष्य चाहिँ ठीक होइन। सहरमा मात्रै नबस है भन्ने भाष्य ठीक हो। हामी सहरमा मात्रै बस्न आएका होइनौँ। तर, तँ यहाँ सहरमा टिक्दै टिक्दैनस्, गाउँ गइहाल, भित्तैमा जा, जहाँ चाहिँ मान्छे नै छैन, जहाँ एउटा घरका लागि दिनभरि हिँडेर पुग्नुपर्ने ठाउँमा प्रयास गरिराख् भन्ने दुइटै भाष्य ठीक होइन। हामीले व्यावसायिक रुपमा सहरी एरियामा पनि काम गर्छौं। सहरका गरिबी छन्। छुटेका मान्छे छन्। छुटाइएका मान्छे छन्। अवेयरनेस जगाउनुपर्ने मान्छे छन्। तिनलाई पनि समेट्छौँ। सँगै हामी हाम्रो ड्युटी ग्रामीण क्षेत्रमा पनि जारी राख्छौँ।

तपाइँहरु भन्नलाई नै यो तल्लो तहका नागरिकको बीमा गर्नु भनिएको रहेछ। अब गरिबकै पैसा उठाएर कसरी धनीको सेवा गर्न सकिएला ? सहरमा छिरेर ठूल्ठूला चिज हेर्न पाइए पो अलि हुन्छ।

त्यही त चुनौती हो। त्यो चुनौतीसँगै अवसर पनि हाम्रा लागि छ। हामी त्यो दुइटैलाई ब्यालेन्स गरेर जान्छौँ। आजको दिनमा जुन ६–७ महिनाको हाम्रो अनुभव छ, त्यसले हामीले झारी फाँड्ने, डल्ला फुटाउने काम गरिसकेका छौँ। एउटा गोरेटो कोरिसकेका छौँ हामीले। केही–केही हाम्रो माइलस्टोन तयार भएको छ। अब त्यसलाई थप पिच गर्ने अथवा अगाडि बढाउने काम हामी गर्छौं। हामी सहकार्य गरेरै अगाडि बढ्ने हो, ठूला कम्पनी, साना कम्पनी सबैसँग। आखिर हामी सबैको उद्देश्य त कुनै पनि मान्छे आपतमा पर्दाखेरी अप्ठ्यारोमा नपरोस्, ऊ आजभन्दा थप गरिब नहोस् र उसले सहज र सरल रुपमा नियरेस्ट प्वइन्टबाट सेवा पाओस्। यही नै त हो नि अल्टिमेट उद्देश्य हाम्रो। र, सँगसँगै व्यावसायिक रुपमा समक्ष पनि होस् है, सफल पनि हो है भन्ने हो। यो च्यारिटेबल संस्था होइन। अघि पनि भने मैले। व्यावसायिक रुपमा सफल हुन सकेन भने त आदर्शको कुरा गरेर मात्रै सम्भव हुँदैन। यी दुइटै कुरालाई ब्यालेन्स गरेर अगाडि बढ्नुपर्छ।

देश संघीयतामा छ। तीन तहका सरकार छन्। तपाइँहरु प्रदेश केन्द्रीय कार्यालय राख्ने सर्तसहित जानुभएको छ। बजेटको ठूलो हिस्सा स्थानीय तहले लैजान्छ। सामाजिक सुरक्षा भनेर सरकारले ठूलो रकम खर्च गर्छ। स्थानीय तहमा गएको बजेटको ठूलो हिस्सा त्यो सामाजिक सुरक्षाको कलस्टरमा लगेर गरिबहरुलाई थप गरिब हुनबाट रोक्नका लागि के–के गर्न सकिन्छ भनेर योजना बनाइरहेको देखिन्छ। लोकल बडीहरुसँग तपाइँहरुको कस्तो छ सहकार्य ?

यस्तो छ, हाम्रो क्षमताले भ्याएसम्म, हाम्रा जुन युनिटहरु छन्। हामी प्रदेश कार्यालयबाट परिचालन भइरहेका छौँ। हामी बीमा प्राधिकरणको प्रदेश कार्यालयका समन्वय गरेर केही ठाउँहरुमा हामी गएका छौँ। सबै ठाउँमा पुग्न सकेका छैनौँ। जाँदैछौँ हामी। सुरुआतमै हो भने अघि पनि मैले। केही स्थानीय निकायसँग राम्रो बजेट पनि आउने, उहाँहरुको इच्छा पनि छ, सबैजना बीमाको कभरेजभित्र आओस् भन्ने। अलिकति हामीलाई यहाँनेर चाहिँ अप्ठ्यारो के भने हाम्रो कृषि बीमा जुन अनुदान कुरा छ। ठूला कम्पनीजस्तो हामी उदारोमा बीमा गर्न सक्दैनौँ।

ठूला त रोइकराइ गरिरहेका छन्।

स्थानीय निकायमा पुगिसकेपछि बिनाअनुदानको फुल पेमेन्टवाला चाहिँ बीमा गर्न कति इच्छाशक्ति देखाउनुहुन्छ, त्यति देखिरहेको छैन। त्यसकारणले यो बीचमा प्राधिकरणले पख्नुहोस् है ठूला कम्पनीहरुको अलिकति चाहिँ प्राविधिक रुपमा जुन निकासा हुनुपर्ने रकम, त्यो निकासा होस् अनि कुनै त्यस्तो मेकानिजम बनाऔँ, जुन मेकानिजम माइक्रोले धान्न सक्ने मेकानिजम होस्। जसले गर्दा तपाइँहरु जान सक्नुहुन्छ भनेर कृषिको चाहिँ अहिले आइसकेको छैन। तर, हामी ठोक्किन्छौँ। स्थानीय निकायको पहिलो नै कृषि र पशुपालनतिर गएर ठोक्किन्छौँ। सँगैसँगै दुर्घटना बीमाका आइसकेका प्रडक्ट चाहिँ हामीले बेच्न थालिसकेका छौँ। समग्रतामा स्थानीय निकायको पहल राम्रो छ। कहीँ–कहीँ फेरि यो बीमा कम्पनीहरु, यो झन्झट नै हो भन्याजस्तो पनि सुनिन्छ। कहीँ–कहीँ एक–दुई ठाउँमा त्यस्तो भएको पनि छ।

तर, बीमामा त लागत सहभागी अनिवार्य हुनुपर्ला नि ? स्थानीय तहले सबै पैसा हामी तिरिदिन्छौँ भनेँ भने त बीमितहरुले त्यसको वेटेज के हो भन्ने नै नबुझ्लान् नि ?

एकदमै ठीक हो। कहीँ न कहीँ उसको सहभागिता भयो भने त्यसको माया पनि हुन्छ, त्यसको महत्व पनि बुझ्छ। कहिले–काहीँ अवस्था हेरेर कुनै पालिकाहरुले बाँकी २० प्रतिशत पनि हामी अनुदान हाल्छौँ भन्या पनि छन्। कहीँ किसानहरु नै आफैँ २० प्रतिशत हालेर जाने मुडमा पनि हुनुहुन्छ। समस्या त्यही हो क्या ८० प्रतिशतको पेमेन्ट मेकानिजम कसरी डेभलप गर्ने ? त्यो नगरीकन हाम्रो पुँजी त्यहीँ गएर फस्यो भने त हामी अलि अप्ठ्यारोमा पर्छौं। त्यसकारणले त्यो चिज चाहिँ हामीले बेस्ट वेमा लिएर जान सक्यौँ भने अहिलेभन्दा मोर इफेक्टिभ रुपमा स्थानीय तहमा जान सक्छौँ।

ठूला कम्पनीहरु मूलतः ठूल्ठूला प्रिमियमको बिजनेस गर्छन्। फेरि पनि उहाँहरुको गुनासो के छ भन्दा हामीले क्लेम सेटल गर्ने बेलामा चाहिँ ४–५ वटा सरकारी अड्डाबाट म्यानुअल्ली कागज मागेर भेरिफाई गरेर क्लेम सेटलमेन्ट गर्नुपर्ने जोखिम छ भनिरहनुहुन्छ। तपाइँहरु त सानो प्रिमियममा तल्लो तहका नागरिकको बीमा गराउन जानुहुन्छ। त्यसैगरी क्लेम सेटलमेन्टको प्रोसेस गर्नुपर्यो भने त यो लेन्दी पनि हुन्छ, तपाइँहरुका लागि कस्ट्ली पनि हुन्छ र नागरिकका लागि यो बीमा कम्पनीहरुले दुःखमात्रै दिन्छन् पैसा लगेर पनि भन्ने हुन सक्छ। त्यसलाई कन्सन्ट्रेट अप्रोचमा यसो गरौँ भन्ने केही उपाय निकाल्न सकिन्न ?

त्यो काम हामीले नगरेको भएर उहाँहरुको पीडा हामीले बाहिर बसेर बुझेका छौँ। सरकारका पनि बजेटरी व्यवस्था आफ्नै एउटा हुन्छ। प्राइभेटजस्तो एकै तहमा टुंगिने हुँदैन। विभिन्न तह हुन्छ। त्यसलाई क्रसचेक गर्ने विभिन्न निकाय हुन्छन्। जस्तै कृषि मन्त्रालय, अर्थ मन्त्रालयको रोल आआफ्नो ठाउँमा हुन्छ। हुन सक्छ कतिपय हामीले पठाएका चिजहरु पनि कहीँ–कतै कुनै न कुनै फेकै पनि हुन सक्छ। भेरिफाई त गर्नुपर्यो अखिरमा। सुपरभाइजरले कहीँ–कतैबाट यसलाई भेरिफाई गर्नुपर्यो। अब पनि त्यही चाहिरहेका छौँ कि प्रिमियम काट्नुमात्रै ठूलो कुरो होइन, अब टाइमली क्लेम सेटलमेन्ट गर्नका लागि हामीलाई एभड्भान्स फन्डिङ अथवा केही त्यस्तो मेकानिजम होस्, जुन एउटा फन्ड रेज हो। जुन फन्डबाट हामीले चाहिँ त्यो अनुदानको प्रिमियम काट्न पायौँ भने सहज हुन्छ। यो मेरो प्रसनल धारणा हो। अथवा होइन हामीले चाहिँ एड्भान्स नै गर्नुपर्ने हो भने पनि अब एड्भान्स सेटलमेन्ट एउटा ड्युरेसन चाहिँ फिक्स होस्। १५ दिन हो कि १ महिना हो। त्योभन्दा बढी समय त कुर्न सक्दैनौँ हामी। किनकि क्लाइन्टलाई हामीले सरकारबाट अनुदानको रकम आएको छैन, त्यसका कारण क्षतिपूर्ति पाउन सक्दैनौँ भने रोक्न सक्ने अवस्था भएन। त्यसले झन् नेगेटिभिटी बढाउँछ, बीमा क्षेत्रप्रति। झन् चाहिँ असन्तोष बढाउँछ। त्यसका लागि हामीले खप्न सक्ने जुन क्यापसिटी छ, त्यो क्यापसिटीअनुसार चाहिँ आइदर क्विक पेमेन्ट मेकानिजम हुनुपर्यो अथवा एड्भान्स फन्डिङ भयो भने अघि तपाइँले भन्नुभएका कुरा हुन सक्छ।

तपाइँहरुकोमा अन्डराइटिङको ठूलो जोखिम त हुन्न होला है ? तलका मान्छेहरुको थोरै–थोरै प्रिमियम उठाउने हो।फल्स क्लेमको जोखिम अलि–अलि रहला। अरु त त्यस्तो के होला ?

सानै कारोबारमा पनि भोलुममा धेरै हुने भएकोले जोखिम हुँदै हुँदैन त नभनम्। सानो–सानो जोखिम नै एकुमुलेसन भएर ठूलो जोखिम हुन सक्छ कहिले–काहीँ। तर, कन्सन्ट्रेसन रिस्क चाहिँ पुराना कम्पनीहरुको तुलनामा हामीकहाँ पक्कै कम छ।

तपाइँहरु क्लेम सेटलमेन्टको प्रोसेसलाई चाहिँ कसरी एक्जिक्युट गरिरहनुभएको छ, आजको दिनमा ?

क्लेम सेटलमेन्टको पहिलो पाटो भनेको हामीलाई नोटिस दिनुपर्यो। ननलाइफको कुरा गर्दा मेरो चिजको घटना भयो, जसका कारणले मेरो सम्पत्ति नोक्सानी भएको भएर पहिले नोटिस दिनुपर्यो। नोटिस दिएपछि हाम्रो जुन प्वइन्टबाट हुन्छ, हामीले तपाइँले पूरा गर्नुपर्ने डकुमेन्ट यो–यो भनेर जुन १२–१५ वटा डुकुमेन्ट छ उसले पूरा गर्नुपर्ने भनिदिन्छौँ। त्यो घटना भएकै हो भन्ने प्रमाणित गर्ने जुन आधारहरु छ, जुन बीमाको प्राक्टिस छ, त्यो प्राक्टिसअनुसार डकुमेन्ट जुटाउन दिन्छौँ, अनि डकुमेन्ट हामीलाई पठाइसकेपछि हामीले सरसर्ती डकुमेन्टको अथेन्टिसिटी हेर्छौं। त्यो हेरेपछि विथ इन सेभेन डेज, एकदम ढिलो भयो भने ७ दिन लाग्ला, त्योभन्दा पहिले नै हामी क्लेम सेटलमेन्ट गरिदिन्छौँ।

म्यानुअल्ली आउनुपर्यो तपाइँहरुकोमा ?

अहिले चाहिँ म्यानुअल्ली आइरहेको छ।

एउटा उदाहरण थियो, केही दिनअगाडि यातायात कार्यालयमा थर्ड पार्टी गराउनुपर्छ भनेर माइक्रो इन्स्योरेन्स किन छान्ने, यिनीहरुको कारोबार नै कहाँ छ कहाँ छ ? भोलि क्लेम पर्यो भने कहाँ गएर हारगुहार गर्ने ? त्यस कारण हुन्न भन्ने मान्छेहरु भेटिँदै थिए। यस्तो खालको समस्याबाट स्किप भएर उनीहरुलाई कन्भिन्स कसरी गर्ने ? हामीले पनि गर्छौं, यिनीहरु (ठूला कम्पनी)भन्दा चाँडो पैसा दिन्छौँ भनेर कसरी भन्ने ?

त्यो बुझाइमा समस्या हो। मैले अघि म्यानुअल्ली त भनेँ। म्यानुअल्ली आउँदा पनि हामी मान्छौँ भनेको हो। मेल आउँदा पनि हामी मान्छौँ। हाम्रो कर्पोरेट मेल आईडी छ, त्यसमा डुकुमेन्टहरु स्क्यान गरेर हाल्नुभयो भने पनि हामीले मानिहाल्छौँ। त्यसका लागि टाइम लाग्ने कुरा आएन। खाली भनेको जेन्युन हुनुपर्यो, क्लेमको पार्टमा। अब त्यो बुझाइ त हाम्रो पार्टमा पनि कमी–कमजोरी होला। अवेयरनेस जगाउन सकेनौँ होला। माइक्रो भनेको यसै फुच्चे, यसको के हो भन्ने होला। अब प्रत्येक इन्डिभुजुअल कस्टमरको घरमा गएर क्लेम दिने भने सम्भव नै छैन। तर नियरेस्ट प्वइन्ट वा भनौँ न उहाँले जुनै चिजबाट अहिले यतिधेरै कम्युनिकेसनका साधनहरु भइसकेका छन्। जुनसुकै साधनबाट नोटिस गर्नु, डकुमेन्ट दिनुहोस्, हामी क्लेम सेटलमेन्ट गर्छौं। होइन उहाँले भनेजस्तो यो कहाँ खोज्न जाने भन्नेकुरामा बीमा गर्ने मान्छे इन्स्योरेन्स कम्पनी खोज्दै हिँड्ने काम पनि होइन। त्यो त ट्रस्ट गर्नुपर्यो नि। किनकि हामी लाइसेन्स प्राप्त कम्पनी हौँ। हामीले पनि रिइन्स्योरेन्स गरेका हुन्छौँ। सबै जोखिम त हामीले बोकेर बसेका हुँदैनौँ। त्यसको थोरै पर्सेन्ट त बोक्छौँ होइन। ठूला कम्पनीले जसरी रिइन्स्योरेन्स गरेका हुन्छन्, हामीले पनि त्यसरी नै रिइन्स्योरेन्स गरेका हुन्छौँ।

विश्वास बढाउने कुरा चाहिँ चुनौतीपूर्ण छ ?

चुनौती छ। जरुरी पनि छ। गर्दैछौँ हामी।

तपाइँहरु रिइन्स्योरेन्स सबै नेपालभित्रै गर्नुहुन्छ ?

हामी माइक्रोले त नेपालभित्रै गरेका छौँ।

त्यसकारण अरु थप कता–कता बाहिरबाट पैसा आउन्न कि भन्ने छैन ?

हाम्रो साइज सानो छ। अहिले नेपालभित्रै गरेका छौँ। नियर फ्युचरमा बाहिर जाने भन्ने पनि नहोला।

तपाइँ एकदम भित्रैबाट प्रफुल्लित हुनुहुन्छ, आशावादी हुनुहुन्छ, हामी नियर फ्युचरमा एकदम राम्रो गर्छौं। मार्केट बाँकी छ। सबै चिज राम्रो हुन्छ भन्नेमा ?

असल कर्म गर्नुपर्छ। आफूले लिएको बाटो राम्रो हुनुपर्छ। निश्चिय नै त्यसले सही गोरेटो देखाउँछ। ठाउँमा पुर्याउँछ। म १९ वर्षमा नियुक्ति लिएर झोला बोकेर कार्यालय प्रमुख भएर किसानको काम गर्न आयोजना प्रमुख भएर निस्केको मान्छे हो। त्यस कारणले तल्लो पददेखि माथिल्लो पदसम्मको मेरो आफ्नो अनुभव र मेरो व्यक्तिगत कुरा गर्दाखेरी र यो फिल्डमा आउने ७ वटै इन्स्योरेन्स कम्पनीमा हेर्न सक्नुहुन्छ, उहाँहरुको प्राफाइल हेर्यो भने २५–३० वर्षभन्दा कम अनुभवको मान्छे कोही पनि आएका छैनन्। २५–३० वर्षको अनुभव त्यतिकै त हुने होइन। तपाइँहरुले यो फिल्डमा कति वर्षको अनुभव लगाएर आउनुभएको छ। अब त पक्कै फ्रेसरभन्दा केही न केही कुराको अनुभव छ। त्यसैले मैले के देखिरहेको छु भने हिजो म कमर्सियल बैंक वा डेभलपमेन्ट बैंकमा काम गर्थें, त्यहाँ जति कठिन थियो, त्योभन्दा सजिलोसँग यो कम्पनी अगाडि लैजान सकिन्छ। यसको स्कोप अझै बढी छ। किनभने जहाँ भर्जिन मार्केट छ, त्यहाँ स्कोप बढी छ। सँगसँगै सरकार र रेगुलेटरले पनि माया गरेको अवस्था छ। किनभने यो बढोस्, यसले सेवा दियो भने अल्टिमेट्ली कहीँ न कहीँ गएर नेपाली जनताले चाहिँ यसको लाभ लिन सक्छन् र, लाभ उठाउनुपर्छ भन्ने नै मान्यता भएको भएर हामी गद्गद नै छु किनभने हामी लक्ष्यमा पुग्छौँ। अब देखिन टाइम लाग्ला अलिकति। एउटा बिरुवा रोपेर हामी दुई दिनमा जरा खोतल्न थाल्यौँ, कति फल्यो भनेर भने आउँदैन केही पनि। त्यसले हाँगाबिँगा लिनुपर्यो, फूल फुल्नुपर्यो, पक्नुपर्यो अनि न हामीलाई आउँछ। त्यसैले केही समय लेला तर निश्चय नै अघि तपाइँले भन्नुभएको फेरि लघुवित्तमा लगेर जोडेँ, मेरो ब्रह्मले चाहिँ के भन्छ भने अहिलेसम्मको अनुभवमा त्यो पार्टमा जाँदै जाँदैन। लघु बीमा नेपाल एउटा समक्ष मोडलका रुपमा स्थापित हुन्छ।

तपाइँहरुलाई अहिले जुन क्याप उपलब्ध छ, बिजनेसका लागि बीमा प्राधिकरणबाट। त्यो क्याप अहिलेका लागि पर्याप्त छ अथवा त्यो पनि बढी भयो वा अझै धेरै चाहिन्छ ?

होइन यस्तो छ। ठाउँ विशेष हुँदो रहेछ। सानो कुनै बजारमा हामीलाई दिएको क्याप सफिसेन्ट जस्तो देखिन्छ। काठमाडौंकै कुरा गर्ने हो भने जहाँ ठूला कम्पनीहरुको चाहिँ दुई तिहाइभन्दा बढी निर्जीवन बीमाको कारोबार हुन्छ। हाम्रो हिस्ट्री छैन। त्यही हिस्ट्री पल्टाउने हो हामीले। हेर्ने हो भने झन्डै ६७–६८ प्रतिशत अर्थात दुई तिहाइ काम यहाँ हुन्छ। त्यहाँका लागि यो क्याप एकदमै कम हो भनौँ न थोरै हो। तर, अब यसमा केही हुन्छ भने बाहिरफेरको अरु मोडल स्टडी गर्दा कतिपय देशहरुमा चाहिँ उसको आम्दानीको तुलनामा प्रिमियम पनि तोकिएको हुन्छ। उसको इन्कमसँग समइन्स्योर्ड र प्रिमियम टाईअप गरेको हुन्छ। हाम्रोमा त्यसो गर्दा एक्ज्याक्टली इन्कम डिटरमिनेस गर्ने प्यारामिटरहरु पनि कहीँ विवादित हुन्छन्। यति दिनको ज्यालाबराबरको यति प्रिमियम भन्ने पनि हुन्छ कतै। तर, हामीकहाँ के छ भने तिम्रो चाहिँ समइन्स्योरलाई बेस मानिसकेपछि यसलाई मापन गर्ने प्यारामिटर मलाई लाग्छ ठीक छ, यो। सही छ। अहिले हामीले यसलाई प्रयोग गरेर यसबाट हामीले प्रभाव देखाउँदै जाने हो। भोलि गर्दै जाँदा इन्फ्लुएसनको हिसाबले पनि सर्टेन टाइमपछि त अहिले दिएको लिमिट त सधैँभरि बस्दैन। मुद्रास्फीतिको दरले पनि त ८–१० प्रतिशतको वर्षको ग्रोथ हुनुपर्छ। त्यस हुनाले अब लेट अस होप। अलि यतिबाट सुरु गरौँ। अहिले दिएको ठीकै हो। ठूलो सहरमा हाम्रो स्कोप नै छैन। त्यसकारणले ठूल्दाइहरुले साह्रै डराउनुपर्ने अवस्था नै छैन। किनभने हाम्रो क्लाइन्ट नै होइन उहाँहरु, हामीले खाजेको क्लाइन्ट। अलि सानो सहरमा, जहाँ अरु सर्भिस पुग्न कम छ, त्यहाँ हाम्रो स्कोप छ। त्यो हाम्रा लागि सफिसिएन्ट नै छ।

अब डिजिटल्ली कि ब्रान्च एक्सपान्सन गर्दै–गर्दैै दौडिने हो ?

हामी दुवै मोडलमा जाने हो। पहिलो साल भएर ८–१० वटा ब्रान्च राख्यौँ हामीले। एउटै प्वइन्ट–प्वइन्ट कम्तीमा एउटा रिजन छुने गरी राख्यौँ। आफ्नो क्षेत्र भएर मैले सबैभन्दा धेरै ४ वटा ७ नं. प्रदेशमा राखेँ। त्यहाँ अझै गर्नुछ मैले। एक्सपान्सन त्यही ७ नं. प्रदेशमै हुन्छ। फाट्टफुट्ट अन्त कहीँ डिमान्ड आयो, माइक्रो आइदिए हुन्थ्यो भन्ने लग्यो अथवा बीमा प्राधिकरणले तपाइँहरु त्यहाँ गइदिनुहोस् भन्ने भयो भने हामी गइदिउँला। नभए ब्रान्च एक्सपान्सनतिर जाँदैनौँ, डिजिटल्ली नै जान्छौँ।

ट्रेडिसन कम्पनीहरुले जुन प्रकृतिका प्रडक्टहरु बेच्थे, त्योभन्दा अलिकति नयाँ भएर केही इनोभेटिभ प्रडक्ट लिएर गएर आफ्नो अस्तित्व देखाउनुपर्ने जोखिममा पनि त्यहाँहरु हुनुहुन्छ। त्यतातिर चाहिँ के–के गर्दै हुनुहुन्छ ?

यस्तो छ, भर्खर बामे सर्दै गरेको मान्छेले म एकैचोटी ३०० मिटर दौडिन्छु भन्नु त्यति राम्रो होइन। पहिला यो मोडल टेस्ट गरौँ। लेट अस होप फर दर फर्स्ट फिस्कल इअर। कम्तीमा १ वर्ष त यसको इम्प्याक्ट हेरौँ न अहिले उपलब्ध प्रडक्टको होइन। हामीलाई पनि प्राधिकरणले भनिरहनु भएको छ, तपाइँहरुलाई त्यस्तो इनोभेटिभ प्रडक्ट कुनै छ भने तपाइँहरु आफैँ डेभलप गरेर ल्याउनुहोस्, त्यो प्रडक्ट। हामी सल्लाह गरिरहेका छौँ। अब कुनै प्रडक्टको मोडलहरु यो चिज चाहिँ फिजिबल हुँदैन भन्ने पनि आइरहेको छ। भोलि घाटामै गएर ६ महिनामै बन्द गर्नुपर्ने प्रडक्ट एउटा भोगेका छौँ। किनकि लोकप्रियताको हिसाबले मात्र गएर हुँदैन। त्यो व्यावसायिक रुपमा सफल हुनुपर्यो र त्यसको इम्प्याक्ट पनि निश्चय नै पोजिटिभ पाउनुपर्यो। एकदमै ठीक कुरा उठाउनुभएको हो। हामीले त्यसमा वर्कआउट गर्नुपर्छ। गर्छौं हामी। अहिले सेटअपमै भएकोले त्यो पार्टमा अलि कमजोरी नै छ। जान्छौँ हामी।

एक वर्षमा मसँग मुस्किलले १ हजार रुपैयाँ वा ५०० रुपैयाँ हुन्छ। यो ५०० रुपैयाँबाट तिमीले मेरो के–के जोखिम बोक्न सक्छौँ, बोकिदियौँ भन्यो भने तपाइँहरुले के–के दिनुहुन्छ त, आजको दिनमा ?

आजको दिनको सबैभन्दा ठूलो समस्या के हो भने बीमा प्रिमियम चाहिँ खर्च हो भन्ने।

होइन, मनौँ ए नाम गरेको नागरिक तपाइँकोमा आउनुभयो, मसँग ५०० रुपैयाँ छ, यो पैसा म तपाइँको कम्पनीलाई दिन्छु, मेरो के–के जोखिम बोकिदिनुहोस् भन्नुभयो भयो तपाइँहरुले आजको दिन के–के दिनुहुन्छ ?

उहाँ कस्तो घरमा बस्नुहुन्छ ? व्यापार–व्यवसाय वा कृषि के गर्नुहुन्छ उहाँले ? अथवा उहाँ चाहिँ मेडिकल्ली कति रिस्कमा हुनुहुन्छ ? यी सबै हामीलाई उपलब्ध भएका चिजहरु र उहाँको सबै चिज ५०० रुपैयाँमा मेरो घरको पनि गरिदियौ, पसलको पनि गरिदियौ, दुर्घटनाको पनि गरिदियौ, त्यो सम्भव होला नहोला त्यतिखेरको सिचुएसनमा भर पर्ने कुरा हो। मैले के कुरा जोड्न खोजेको भने हामीले के अवेयरनेस जगाउनुपर्छ भने यो ५०० रुपैयाँ लगानी हो। हामीले अहिले निरन्तर रुपमा शारीरिक चेकअप गर्न थालेका छौँ। भोलि स्वाभाविक रोग आइहाल्छ कि, अनिश्चित भयो नि। भोलि मलाई गाह्रा हुन्छ कि। हामी त रिस्कको पार्टमा खेलिरहेका छौँ नि होइन। भोलि भनेको अनिश्चय छ, जोखिमपूर्ण छ। जे पनि हुन सक्छ। त्यस कारणले भोलि आउने सम्भावित जोखिमलाई लगानी गरेर जान्छु भन्ने भावना हामी सबैले मिलेर जगाउनुपर्छ। पहिलेभन्दा मान्छेहरुमा चेतना बढेको छ। विशेषगरी भूकम्पपछि पनि धेरै बढेको छ। तर, जुन रुपमा हुनुपर्ने, त्यति भएको छैन। हामी सबैको दायित्व त्यो बढाउने हो। मेरो लगानी हो, खर्च होइन भन्ने हुनुपर्यो। बीमाको मान्छे आए, भागी–भागी हिँड्नुपर्छ। यो प्रिमियम लिएर गइहाले, यसको केही आउँदैन। तपाइँको क्षति भएन भने राम्रो भयो नि त। मैले केही पाइनँ होइन नि त। लिनुपरेको भए त उसलाई नोक्सान पुगेपछि मात्रै लिने हो नि। तर, हामी दिन चाहिँ खुसी हुन्छौँ फेरि। कम्तीमा माइक्रो क्षेत्रले चाहिँ जुन छुटेका मान्छे, ती मान्छेलाई आपत पर्दा हामीले गएर क्लेम दिन पाउँदा खुसी हुन्छौँ। प्रिमियम कलेक्सन गरेर म खुसी हुन्न म कहिल्यै पनि। म पर्सनल्ली खुसी हुन्न। मैले जहिले पनि क्लेममा उहाँहरुलाई सहयोग गर्न सक्छु। यदि हामीले उसलाई कभर गर्न नसकेको भए ऊ त झनै गरिब हुन्थ्यो, उसको पीडामा मलम लगाउने मान्छे कोही हुन्थेन नि। महाकविको एउटा कविता ‘मलम लगाऊ, हातहरु चर्हाइरहेको घाउ’ भनेझैँ त्यो बेलामा हामी पुग्यौँ भने खुसी मिल्छ नि।

त्यस्तो कुने एक्सपिरियन्स छ, एकदम तल्लो लेभलको नागरिक तपाइँकहाँ बीमा गरेर उहाँले क्लेम प्राप्त गरेपछिको एउटा इन्भाइरोमेन्ट ?

हामीसँग धेरै अनुभव त छैन। भर्खरै सुरु गरेका थियौँ। एकजना साथीले मोटरसाइकल किन्नुभयो। पल्सर मोटरसाइकल। गाईको दूध बेच्नु हुँदै रहेको छ, नागार्जुनको स्युचाटारमा। दसैँअगाडि पल्सर लैजानुभयो। उहाँको नाममा आइसकेको पनि छैन। दसैँको बेला पल्सर घर अगाडि राख्नुभयो। खानपिन गरेर तल ओर्लिंदा पल्सर छैन। उहाँको नाममा आइसकेको थिएन, किनेको ४–५ दिनमात्रै भएको थियो। नयाँ पल्सर लान्छु, पुराना फाल्छु। नयाँबाट बिजनेस गर्छु भन्ने सोच थियो, हरायो सकियो। अब मेरो आफ्नै उदाहरण, हामीकहाँ बीमा गर्नुभएको रहेछ। उहाँ हामीकहाँ आउनुभयो, हामीले डकुमेन्ट यो–यो चाहिन्छ भन्यौँ। अब नर्मल केसमा चाहिँ ३ महिना, ६ महिना कुर्ने, सबै कुरा भेरिफाई गर्ने, कतै त्यो बाइक फेला पर्छ कि भनेर अब्जर्भेसन गर्ने, वेट एन्ड सीको कन्डिसनमा राख्ने रहेछ। हामीले के भन्याँै भने अरु प्रक्रिया त फेला पर्यो भने हाम्रो सम्पत्ति हो गर्दै गर्छौं। तपाइँको डकुमेन्ट पुगिसकेपछि क्लेम पेमेन्ट गर्नुपर्छ भनेर १५ दिनभित्र क्लेम दियौँ। दसैँ–तिहारको बिदा भएकोले १५ दिन लाग्यो। हामीले दियौँ र उहाँले भन्नुभयो वास्तवमा मैले कतै थर्ड पार्टीमात्र गरेको भए डुब्ने रहेछ। मेरो चाहिँ बिजनेस नै लथालिंग हुने रहेछ। मेरो २–३ वटा गाई छ। म व्यावसायिक हिसाबले दूध बेच्छु। मैले ३–४ हजारको लोभ गरेको भए आज मेरो ३ लाख रुपैयाँको नोक्सान हुने रहेछ। मैले ठीक गरेछु। म एकदमै सन्तुष्ट छु। मैले समयमै पाएँ भन्नुभयो।

हाम्रो बीमा बजारको समस्या यही हो कि उहाँहरु ऋण लियो भने ऋणबराबरको मात्रै गर्ने। भनेको अन्डर इन्स्योरेन्स गर्ने। अन्तिममा दुःख पाएपछि जा भन्नेमात्रै अवस्था बन्ने। उनीहरुलाई जे गर्नुपर्ने हो, एउटा ठूलो १ करोडको घर ५० लाख ऋण लिएको छ भने ५० लाख होइन १ करोडकै इन्स्योरेन्स कभर गराम् भन्ने तपाइँहरुको कलस्टरमा जति राडार हो, त्यतिमै जाऔँ। अथवा कुल इन्स्योरेन्स गराउन भेहिकल होल्डरहरुलाई कन्भिन्स गरौँ। त्यो बाटोमा केही गर्नुपर्ने पर्लाजस्तो देखियो।

त्यही त मैले अघि भनेजस्तो घुमिफिर त्यहीँ आउँछौँ हामी। त्यो मेरो खर्च हो, म किन गर्ने ? मेरो ५० लाख रुपैयाँको लोन छ, म १ करोड रुपैयाँको बीमा किन गर्ने ? भन्ने हामी। बैंकरहरुको केही पार्टमा चाहिँ होइन यसलाई अनावश्यक किन गर्न लगाउने, उसले जति लिएको त्यतिसम्मको मात्रै गरिदिउँ न त भन्ने। केही हदसम्म है। धेरैजसो बैंकले भन्ने फुल भ्यालुएसनबराबरकै गर्न लगाउँछन्। भ्यालुएसनबराबरकै गराउनुपर्छ। भलै त्यो माइक्रोको सेक्टरमा माथि जाओस्। ५० लाख रुपैयाँसम्मको हामीले गर्न पाउँथ्यौँ होला। ६० लाख रुपैयाँ भयो भने हामीले पाउँदैनौँ, होला। तर उताबाट ऊ सेक्योर्ड हुनुपर्यो। जताबाट पनि सेक्योर्ड हुनुपर्यो। त्यो जुन पुराना कम्पनीबाट भए पनि, हामीबाट भए पनि ऊ सेक्योर्ड हुनुपर्छ। उसको सेक्युरिटी फर्स्ट प्रायोरिटी हो। र, हामीले के बताउनुपर्यो भने ऊ आफैँ उत्सुक भएर आउनुपर्यो, होइन सर, मेरो लोन ५० लाखको भए पनि मेरो घर १ करोडको हो, १ करोडको क्षतिपूर्ति पाउने गरी बीमा गरिदिनुहोस्। उसलाई त्यो बनाउने दायित्व हामी सबैको हो। मेरो पनि हो, त्यो दायित्व। त्यस कारणले त्योतर्फ चाहिँ हामीले प्रयास गर्नुपर्छ।

कति प्रिमियम उठाउनुभयो, कति दाबी तिर्नुभयो, अहिलेसम्म ?

फागुन महिनाको अन्त्यसम्म ३ करोड ६७ लाख रुपैयाँ प्रिमियम उठेको छ। १३ लाख रुपैयाँ क्लेम पेमेन्ट भएको छ। जुन चाहिँ १८–१९ वटा क्लेम पेमेन्ट भएको छ। १०–१२ वटा क्लेमको चाहिँ रजिस्टर भएको छ, उहाँहरुले डकुमेन्टेसन अगाडि बढिसक्नुभएको छ। कुनै क्लेममा डिस्प्युट पनि आउला। हामीलाई लाग्न सक्छ यो चाहिँ फेक हो, त्यो त डकुमेन्ट हेर्नुपर्यो। हाम्रो दायित्व के छ भने फेकको पेमेन्ट त हामीले पनि गर्नुभएन। भोलि हामीलाई पनि हेर्ने निकायहरु छन्। प्रोटेक्टिभले फेक क्लेम तिर्यो, केही हेर्दैन रहेछ त्यसले। त्यो अवगालबाट पनि बच्नुछ। त्यस हुनाले हाम्रा मेकानिजमहरु छन्। हामी हेर्छौं त्यसलाई। कुनै प्वइन्टमा आउन सक्छ त्यो। हामीलाई लाग्छ, त्यो फेक हो। उसले भन्छ यो मेरो जेन्युन हो। त्यो इस्युहरु हामीभन्दा पनि माथि जान सक्छ। तर, हाम्रा प्रयास के छ भने हामीले काम गरेको थ्रु आउट दि इअर एउटा पनि क्लेम फ्रड आएको छैन। फ्रड पनि नआओस्। भागिसकेका छन् केही हाम्रा अनुभव भइसकेको अहिले पनि। हामीले जब मोटरसाइकल हराएको, आफ्नो साधन हराएको सीसीटीभीको रियल टाइम डाटा ल्याइदिनुहोस् भनेपछि क्लेमवाला विथड्र गरेर भागेको केस पनि छ। अहिले नै भर्खर २–३ महिनामै त्यस्ता २–३ वटा केस आइसक्यो कि उहाँहरु अलमोस्ट करिब–करिब एक्सिडेन्ट भइसकेपछि बीमा गर्न आउने अथवा चाहिँ फेक एक्सिडेन्ट वा फेक चोरी देखाउने प्रयासहरु पनि भएका छन्। त्यसबाट त हामीले जे जानेका छौँ, त्यो सिकेर कन्ट्रोल गर्छौं। हामी के चाहन्छौँ भने कुनै पनि सेटलमेन्ट टाइम भएन भनेर हामीभन्दा माथिल्लो निकायमा नजाओस्। त्यसरी जानु भनेको हाम्रो असफल हो।

तपाइँहरुलाई सरकारले बजेटबाट व्यवस्था गरेर बीमा प्राधिकरणले लाइसेन्स दियो। अब सरकारले, तपाइँहरुको रेगुलेटरले यति–यति एक–दुईवटा काम गरिदियोस् यो मार्केट चाहिँ अझ राम्रोसँग हामी अगाडि ड्राइभ गर्छौं, गरिबको बीमा गर्छौं, तिनलाई झन् गरिब हुनबाट रोक्छौँ। त्यस्तो के ठाउँ देख्नुहुन्छ ?

सरकारले बजेटमा व्यवस्था गर्यो। यो लघु बीमा जरुरी छ नेपालमा भन्यो। त्यसपछि केही बीमकसँग सम्बन्धित निर्देशन जारी भयो। बीमक निर्देशनमा चाहिँ कसरी बीमक कम्पनी, लघु बीमा कमपनीहरु दर्ता गर्न सकिन्छ भन्ने प्रावधान भयो। त्यसपछि केही कम्पनीहरुले अप्लाई गरे। त्यसमध्येबाट हरेक प्रदेशमा एउटा–एउटा कार्यालय रहने गरी ३ वटा लाइफ र ४ वटा ननलाइफ आए। हामीलाई के लाग्छ भने अब मिसमास छ अहिले। यदि साँच्चै हामीसँग रियल ग्राउन्डमा चाहिँ सबै विपन्न, गरिब, सीमान्तकृत मान्छे, न्यून आय भएका मान्छेसम्म पुग्नुपर्ने दायित्व हो भने एउटा लिमिटको ब्यारियर राखिनुपर्छ। भनेको मतलब यतिसम्म चाहिँ माइक्रोले गर्ने। अहिले त जति पनि गर्न सकियो नि। १०० रुपैयाँ प्रिमियम पनि बीमा कम्पनीले उठाउने अधिकार छ। यतिसम्म गर्ने भनेर अलिकति यसलाई चाहिँ गर्नुपर्छ। यस्तो भएमा केही समयपछि ठूला कम्पनी र माइक्रोको आआफ्नो स्कोप छुटिन्छ। हामी आफ्नो स्कोपमा काम गर्न तयार छौँ। हामी मिलेर पनि काम गर्न तयार छौँ। जसरी माइक्रो फाइनान्सहरुले कमर्सियल बैंकसँग होलसेलमा पैसा लिएर लेन्डिङ गरिरहनुभएको छ, सौहाद्र सम्बन्ध छ नि होइन। अहिले पनि कमर्सियल बैंकले १ लाख रुपैयाँ लगानी गर्न पनि सक्छ। माइक्रो फाइनान्समा पनि जान्छ। मान्छेहरुसँग च्वाइस छ। हामी के चाहन्छौँ भने त्यस्तो प्रोटेक्सनहरु हुन सक्यो भने र सहकार्य गरेर अगाडि बढ्यौँ भने सबै कम्पनीहरु सफल भएर अगाडि जाने मोडल आउँछ।

अन्तिम अझ यति कुरा चाहिँ भन्न पाए हुन्थ्यो भन्ने महसुस भएको छ भने भनिदिनुहोला ?

म विशेषगरी बैंकिङ क्षेत्रबाट आएको हुँ। पढ्न त हामीले बैंकिङ र इन्स्योरेन्स सँगसँगै पढेको हो, म्यानेजमेन्टको स्टुडेन्ट भएको कारणले। हामीमध्येकै केही साथीहरु इन्स्योरेन्सतिर लाग्नुभयो, हामी बैंकिङतिर लाग्यौँ। हिजो हामी बैंकर थियौँ, हामी इन्स्योरेन्सहरुसँग कुनै न कुनै रुपमा जोडिरहन्थ्यौँ, हामी बीमा गराउँथ्यौँ। अहिले चाहिँ म बैंकरहरुसँग इन्स्योरेन्स गराउन जाने रोलमा छु। मैले सुरु गर्दा मेरो क्षेत्र होइन यो, मैले सक्दिनँ कि, मैले सोचेजस्तो हुँदैन कि भन्ने लागेको थियो। अब विस्तारै एक वर्ष काम गरिसकेपछि मलाई यसको स्कोप राम्रो छ भन्ने लाग्यो। यो पनि जनताको सेवा गर्ने एउटा प्लेटफर्म हो। हामीले आफ्नो कर्मबाट गर्ने हो नि त। सबै मान्छे भक्त भएर मन्दिर गएरमात्रै कसेको सेवा हुने होइन। हामीले जे कर्म गर्छौं, मन, वचनले नै गर्यौँ भने त्यो काम सफल रुपमा गर्यौँ भने त्यो नै देशप्रतिको माया र त्यो देशको सेवा हो, जनताको सेवा हो। त्यही नै हो मेरो भनाइ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS