SKIP THIS

MLBL
IME Life
Beema Board

नेपालमा बीमा कम्पनी गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने अभ्यासको सैद्धान्तिक समीक्षा: सविता थापाको लेख

SPIL
NIC ASIA
Sanima Reliance

पृष्ठभूमि

नेपाल सरकारको वित्तीय उदारीकरणको फलस्वरुप निजी क्षेत्र समेतको संलग्नतामा बीमा कम्पनी संस्थापना गर्ने क्रममा मिति २०७८ सालसम्म २० जीवन तथा १९ निर्जीवन बीमक इजाजतपत्रप्राप्त गरी कारोबार सञ्चालन गरेको अवस्था रहेको थियो। अर्थतन्त्रको विस्तारको तुलनामा बीमाको संख्यात्मक वृद्धिले समग्र अर्थतन्त्रको विकासमा अपेक्षाकृत सहयोग पुग्नुको सट्टा अस्वस्थ प्रतिस्पर्धा, कमजोर सुशासन, न्यून पुँजी आधार आदि पक्षबाट बीमामा प्रणालीगत जोखिम सिर्जना हुन सक्ने अवस्थालाई मध्यनजर गरी वित्तीय क्षेत्रलाई सबल, सुदृढ र सक्षम तुल्याउन नेपाल बीमा प्राधिकरणबाट संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७६ लागू भएकोमा समसामयीक व्यवस्था गर्न २०७८ सालमा संशोधन गरी एक आपसमा मर्जर गर्न प्रोत्साहन गरिएको छ। बीमकको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, पुँजी वृद्धि गर्न, नयाँ प्रविधि र व्यवस्थापकीय दक्षता हासिल गर्न, बीमकको बजार हिस्सा बढाउन र रणनीतिक श्रेष्ठता हासिल गर्नका लागि गाभ्ने, गाभिने तथा प्राप्तिलाई माध्यमका रुपमा लिइने गरेको देखिएको छ।

Prabhu
Crest

वित्तीय उदारीकरणबाट बीमा कम्पनीहरुको संख्यात्मक विस्तारसँगै स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट तुलनात्मक रुपमा बचत तथा सुरक्षाका लागि देशको दूरदराजका ग्रामीण क्षेत्रसम्म बीमा सेवाको विस्तार हुन पुग्ने अपेक्षाविपरीत सहरी क्षेत्रमा मात्र केन्द्रित हुने प्रवृत्ति, अस्वस्थ प्रतिस्पर्धाको स्थिति, संस्थागत सुशासनको कमी, पुँजीको न्यूनता, दाबी भुक्तानीमा विलम्बता, गुणस्तरमा ह्रास, तरलता व्यवस्थापनमा कमजोरी, सञ्चालक समिति र व्यवस्थापनका बीचमा विवादजस्ता पक्षहरुले समग्र बीमा क्षेत्रको विकासमा नै प्रतिकूल प्रभाव पर्न गई प्रणालीगत जोखिम निम्तिन सक्ने अवस्था उत्पन्न भएको तथा आर्थिक मन्दीका कारण पुँजी पर्याप्तताका लागि बीमा कम्पनीहरु सुरक्षित अवतरणको खोजीमा रहेको हुँदा उपयुक्त विकल्पका रुपमा गाभ्ने, गाभिने तथा प्राप्तिको आवश्यकता महसुस हुन पुग्यो।

बीमकको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, पुँजी वृद्धि गर्न, नयाँ प्रविधि र व्यवस्थापकीय दक्षता हासिल गर्न, बीमाको बजार हिस्सा बढाउन, बीमा सेवा थप तथा विविधीकरण गर्न गाभ्ने, गाभिने तथा प्राप्तिलाई एक महत्वपूर्ण रणनीतिक औजारका रुपमा लिएको गरेको पाइन्छ। वित्तीय संकटको समयमा समेत बीमा कम्पनीहरुलाई संकटबाट उद्धार गर्न गाभ्ने, गाभिने तथा प्राप्तिको विधि अवलम्बन गरिएको पाइन्छ।

बीमकहरुको उल्लिखित अवस्थालाई मध्यनजर गरी संस्थागत सुशासन, वित्तीय, प्राविधिक र प्रतिस्पर्धी क्षमता अभिवृद्धि गरी सर्वसाधारण तथा लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विनियमावली, २०७६ जारी गरी कार्यान्वयनमा ल्याएको र सोमा आवश्यक परिमार्जन गरी लागू गरेको छ।

त्यसैगरी ‘बीमा ऐन, २०७९’ को परिच्छेद १४ मा समेत गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धमा छुट्टै व्यवस्था गरिएको छ। बीमा कम्पनीहरुको संख्यात्मक वृद्धिका साथै शाखा सञ्जालमा भएको विस्तारले बीमा साक्षरता अभिवृद्धि, रोजगारी अभिवृद्धि, ग्रामीण क्षेत्रसम्म बीमा प्रणालीमा नयाँ सेवाहरुको सुरुआत, आधुनिक प्रविधिको उपयोग डिजिटल बीमा, घुम्ती बीमा, शाखारहित बीमा सेवा आदि विस्तार हुँदै गएको छ। न्यूनतम चुक्तापुँजी वृद्धि गर्न बीमकहरुबाट माग गरिएको पुँजी योजनामा अधिकांश बीमकहरुले वैकल्पिक औजारका रुपमा गाभ्ने, गाभिने प्रक्रियालाई रोजेको पाइन्छ।

गाभ्ने, गाभिने तथा प्राप्तिको उद्देश्य

गाभ्ने, गाभिने तथा प्राप्तिमा संलग्न बीमा कम्पनीहरुले बीमकको पुँजी वृद्धि, वित्तीय अवस्थामा सुधार, कारोबार क्षेत्र विस्तार, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलगायतका उद्देश्यहरु राखेर उक्त कार्यमा संलग्न हुने गरेका छन्।

क) लगानीकर्ताको विश्वास

फरक बीमा कम्पनीहरु एक आपसमा गाभिएर वा प्राप्ति भएपछि पुँजीको आकार, व्यवसायको आकार, कारोबारको क्षेत्र आदिमा विस्तार भई बीमकको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुने, संस्थाले आर्जन गर्ने मुनाफामा वृद्धि भई लगानीको प्रतिफल बढ्न जाने, संस्थामा गरिएको लगानी थप सुरक्षित हुने र समग्रमा बीमकको छविमा अनुकूल सुधार हुने विश्वास गरिएको हुन्छ।

  • बीमकको छविमा सुधार
  • लगानीको सुरक्षा
  • व्यवसायको विस्तार

कर्मचारी सन्तुष्टि, आपसी सम्बन्ध र उत्प्रेरणा

बीमा कम्पनीहरु एक आपसमा गाभ्दा, गाभिँदा वा प्राप्ति हुँदा कर्मचारीहरुलाई नयाँ वातावरणमा कार्य गर्न अभ्यस्त हुन समय लाग्ने गर्दछ। एउटा वातावरण र व्यवस्थापनअन्तर्गत कार्य गरिरहेका कर्मचारीहरु अर्को वातावरण र  वस्थापनअन्तर्गत आउँदा नयाँ व्यवस्थापन, नयाँ प्रविधि र नयाँ वातावरण बुझ्न, फरक संस्थाका कर्मचारीहरु बीच घुलमिल भई आपसी सम्बन्ध सौहार्द हुन, व्यवस्थापनलाई नयाँ संस्थाबाट आएका कर्मचारीहरुको मनोविज्ञान बुझ्न केही समय लाग्नुलाई गाभ्ने, गाभिने तथा प्राप्तिको प्रक्रियामास्वभाविकै मानिन्छ।

गाभ्ने, गाभिने तथा प्राप्तिमा संलग्न भई कायम भएका ३९ बीमकमध्ये २०८० कात्तिक मसान्तसम्म २१ बीमा कम्पनी गाभ्ने, गाभिने तथा प्राप्तिको प्रक्रियामा संलग्न भई २८ वटा संस्था कायम हुन पुगेका छन्। यस प्रक्रियाबाट गाभ्ने, गाभिने तथा प्राप्तिको उद्देश्यहरु बीमकको जोखिमांकन क्षमता बढेको, संस्थाबाट प्रवाह हुने सेवाको गुणस्तर वृद्धिको अनुभूति भएको, काममा उत्साह थपिएको आदिबाट गाभ्ने, गाभिने तथा प्राप्तिको प्रभाव सकारात्मक नै रहेको देखिन्छ। वित्तीय अवस्था र परिसूचकहरुका आधारमा गाभिएर वा प्राप्ति भएर एकीकृत कारोवार गरेका बीमा कम्पनीहरुको परिसूचक अपेक्षाकृत राम्रो देखिएको छ। चुक्तापुँजी, पुँजीकोष, कुल कर्जा तथा कुल बीमालेख वृद्धिदर समग्र बीमाक्षेत्रको वृद्धिदर उच्च रहेबाट गाभिएका वा प्राप्ति भएका बीमा कम्पनीहरुमा अनुकुल प्रभाव परेको देखिन्छ। यसरी समग्र जीवन तथा निर्जीवन बीमा क्षेत्रको वित्तीय परिसूचकहरु सकारात्मक रहेबाट गाभ्ने, गाभिने तथा प्राप्तिको प्रभावकारिता अनुकुल रहेको देखिन्छ।

अन्तर्राष्ट्रियस्तरमा गाभ्ने, गाभिने तथा प्राप्तिपछि त्यसले संस्थामा पारेको प्रभावका सम्बन्धमा अध्ययन गरी सोका आधारमा नीतिगत सुधारहरु गर्ने प्रचलन रहेको तथ्यलाई मध्यनजर गर्दा नेपालमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रयोग नितान्त नयाँ रहेको र विशेषगरी वित्तीय क्षेत्रमा मात्र यसको प्रयोग भइरहेको सन्दर्भमा उक्त क्षेत्रमा यसले पारेको प्रभावको अध्ययनको आवश्यकता टड्कारो रहेको छ। गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी नीति लागू गरिनुको उद्देश्यहरुले पनि त्यसको प्रभावकारिता कस्तो रह्यो भन्ने निष्कर्षमा पुग्नुपर्ने हुन्छ। सामान्यतया बीमा कम्पनीहरुको संख्या घटाउन, पुँजीको आधार वृद्धि गर्न, अस्वस्थ प्रतिस्पर्धा कम गर्न, मुनाफा बढाउन, सञ्चालन लागत कम गर्न र रणनीतिक
विशिष्टता हासिल गर्न गाभ्ने, गाभिने तथा प्राप्तिको नीति अवलम्बन गरिन्छ। बीमा कम्पनीहरु कुन वातावरणमा सञ्चालन भएका छन् भन्ने कुराले पनि नीतिको प्रभावकारिता फरक भएको हुनसक्छ भन्ने विषयमा भने सबैको उस्तै धारणा रहेको पाइन्छ।

गाभ्ने, गाभिने तथा प्राप्तिका सिद्धान्तहरु

बीमा कम्पनीहरु गाभ्ने, गाभिने तथा प्राप्तिको प्रक्रियामा समावेश हुनुमा विभिन्न सिद्धान्तहरुले उत्पे्ररणाको काम गरेका पाइन्छ।

इफिसियन्सी थेउरीः गाभ्ने, गाभिने तथा प्राप्ति योजनावद्ध हुन्छ र यो समष्टिकृत लाभ सिनर्जी प्राप्त गर्न गरिन्छ। जुन लागत घटाएर वा बिक्री बढाएर प्राप्त हुन सक्दछ। यो सिद्धान्तअन्तर्गत गाभ्ने, गाभिने तथा प्राप्तिको प्रभावकारिता अध्ययन इभेन्ट स्टडीका साथै गाभ्ने, गाभिने तथा प्राप्ति अघि र पछिको वित्तीय प्रगति तुलना गरी गरिन्छ।

मोनोपोली थेउरीः बजार हिस्सा कायम गर्न वा नयाँ कम्पनी वा उत्पादनको बजार प्रवेशमा अवरोध गर्न भइरहेका कम्पनी गाभ्ने, गाभिने तथा प्राप्तिमा सहभागी हुन्छन्।

भ्यालुएसन थेउरीः व्यवस्थापकलाई शेयर बजारमा भन्दा अगाडि नै लक्षित बीमकको भित्री सूचनाहरु जानकारी भयो भने गाभ्ने, गाभिने तथा प्राप्तिमा सहभागी हुन्छन् र फाइदा प्राप्त गर्दछन्।

इम्पायर बिल्डिङ थेउरीः संस्थाका सञ्चालक वा उच्च व्यवस्थापकहरु बीमकको हित संरक्षण र व्यवसायको विस्तार गरी शेयरधनीहरुको लाभ अभिवृद्धि गर्ने उद्देश्य राखिएको हुन्छ।

प्रोसेस थेउरीः संस्थाका सञ्चालक वा उच्च व्यवस्थापकहरु बीमकको उद्देश्य प्राप्ति वा शेयरधनीहरुको हित संरक्षण गरी लाभ अभिवृद्धि गर्नभन्दा आफ्नै उद्देश्य परिपूर्ति जस्तै अन्य वित्तीय र गैर वित्तीय सुविधाहरु प्राप्त गर्नका लागि गाभ्ने, गाभिने तथा प्राप्तिमा सहभागी हुन्छन्।

इफिसियन्सी थेउरीः दुई बीमकको गाभ्ने, गाभिने तथा प्राप्ति विस्तृत विवेकसम्मत निर्णयको उपज नभई राजनीतिक वा रणनीतिक निर्णयको परिणाम हुन्छ।

राइडर थेउरीः कुनै कम्पनीको नियन्त्रण गर्न पुग्नेसम्मको शेयर स्वामित्व कायम गर्न अन्य
शेयरधनीबाट प्रिमियममा शेयर खरिद गर्ने कार्य बुझिन्छ।

डिस्ट्रबेन्स थेउरीः समष्टिगत अर्थतन्त्रमा देखापर्ने उतार चढावको कारण विभिन्न खालका अनिश्चितता देखा पर्ने र त्यसको फलस्वरुप गाभ्ने, गाभिने तथा प्राप्तिको लहर चल्दछ।

कानुनी व्यवस्थाहरु

नेपालमा हालसम्म कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा ऐन तथा कानुन छुट्टै छैन। तर, यस सम्बन्धमा मौजुदा कानुनहरुमा उल्लेख नै नभएको भने होइन। कम्पनी एक आपसमा गाभ्दा देहायका ऐन–कानुनहरु आकर्षित हुनेछन्ः

  • बीमा ऐन, २०७९
  • कम्पनी ऐन, २०६३
  • धितोपत्र ऐन २०६३, धितोपत्र निष्कासन निर्देशिका
  • आयकर ऐन, २०५८
  • बीमक एक आपसमा गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी निर्देशिका, २०७६

क) बीमा ऐन, २०७९

बीमा ऐन, २०७९ को परिच्छेद १४ मा गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी व्यवस्था उल्लेख भएको। उक्त ऐनको दफा ११४ मा बीमक गाभ्न वा गाभिन सक्ने व्यवस्था अन्तर्गत देहायबमोजिमको प्रावधान रहेका छन्–

(१) एकै किसिमको बीमा व्यवसाय गर्ने बीमकहरु प्राधिकरणको स्वीकृति लिई प्रचलित कानुनबमोजिम एक आपसमा गाभ्न वा गाभिन सक्ने,

(२) उपदफा (१) बमोजिम गाभ्ने वा गाभिने कारबाही चलाउनुअघि तोकिएबमोजिमको कागजातसहित गाभ्ने र गाभिने दुवै बीमकले स्वीकृतिका लागि प्राधिकरणसमक्ष संयुक्त निवेदन दिनुपर्ने।

(३) उपदफा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा बीमक गाभ्न वा गाभिन मनासिब देखिएमा सोसम्बन्धी कारबाही प्रारम्भ गर्न प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिने,

(४) उपदफा (३) बमोजिम सैद्धान्तिक स्वीकृति प्राप्त गरेपछि आपसमा गाभ्ने वा गाभिने बीमकले आ–आफ्नो कम्पनीको सम्पत्ति, दायित्व र व्यवसायको मूल्यांकन गर्न बीमकको लेखापरीक्षक हुन योग्यता पुगेको व्यक्तिलाई मूल्याड्ढनकर्ता नियुक्त गरी तोकिएबमोजिम मूल्यांकन गराई सो विवरणसहित प्राधिकरण समक्ष निवेदन पेस गर्नुपर्ने,

(५) उपदफा (४) बमोजिम निवेदन प्राप्त भएमा प्राधिकरणले आवश्यक जाँचबुझ गरी निवेदकसँग कुनै थप कुरा बुझ्नुपर्ने भए सोसमेत बुझ्दा निवेदक बीमकलाई एकआपसमा गाभ्नु वा गाभिन मनासिब हुने देखिएमा गाभ्न वा गाभिन स्वीकृति प्रदान गर्न सक्ने, तर बीमकहरु एक आपसमा गाभ्दा वा गाभिँदा बीमितलाई अहित वा हानि नोक्सानी हुने, बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धाबढ्ने वा कुनै बीमकको एकाधिकार कायम हुने वा नियन्त्रित व्यापारिक अभ्यास कायम हुन सक्ने सम्भावना देखिएमा प्राधिकरणले त्यस्तो बीमकलाई एक आपसमा गाभ्न वा गाभिन स्वीकृति दिने छैन।

(६) बीमक एकआपसमा गाभ्ने वा गाभिनेसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ।

प्राधिकरणले गाभ्न वा गाभिन निर्देशन दिन सक्ने अधिकारः

(१) देहायको अवस्थामा प्राधिकरणले अवधि तोकी कुनै बीमकलाई अर्को बीमकसँग गाभ्न वा गाभिन निर्देशन दिन सक्नेछ–

  • ऐनको दफा १०९ को खण्ड (ख) बमोजिम विशेष व्यवस्थापन समूहले कुनै बीमकलाई गाभ्न प्राधिकरणसमक्ष सिफारिस गरेमा, वा
  • बीमकको सञ्चालक वा संस्थापकको अर्को बीमकमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वित्तीय, व्यावसायिक वा निजी स्वार्थ भएमा।

(२) उपदफा (१) बमोजिम निर्देशन दिएकोमा प्राधिकरणले तोकेको अवधिभित्र त्यस्तो बीमकले गाभिने प्रस्ताव प्राधिकरण समक्ष स्वीकृतिका लागि पेश गर्नु पर्नेछ र प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि त्यस्तो बीमक अर्को बीमकसँग गाभिनेछ।

बीमकले अर्को बीमक प्राप्ति गर्न सक्ने प्रावधान

(१) कुनै बीमकले उस्तै किसिमको बीमा व्यवसाय गर्ने अर्को बीमकलाई प्राप्ति (एक्विजिसन) गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम एक बीमकले अर्को बीमकलाई प्राप्ति गर्न चाहेमा दुवै बीमकले आ–आफ्नो साधारणसभाबाट सोसम्बन्धी विशेष प्रस्ताव पारित गरी प्राधिकरणसमक्ष सैद्धान्तिक सहमतिका लागि संयुक्त निवेदन दिनुपर्नेछ।

(३) उपदफा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा सैद्धान्तिक सहमति दिन उपयुक्त देखिएमा प्राधिकरणले देहायको आधारमा सैद्धान्तिक सहमति प्रदान गर्न सक्नेछः

  • अल्पकालीन वा दीर्घकालीन दायित्व पूरा गर्नका लागि लक्षित बीमक असमर्थ भई अर्को बीमकले प्राप्ति गर्नु मनासिब देखिएमा,
  • दफा ३६ बमोजिमको चुक्तापुँजी कायम गर्न वा यस ऐनबमोजिम कायम गर्नुपर्ने कोष कायम गर्न लक्षित बीमक असमर्थ भई अर्को बीमकले प्राप्ति गर्नु मनासिब भएमा,
  • लक्षित बीमकले निर्धारित अवधिभित्र सर्वसाधारणलाई शेयर जारी गर्न नसकेमा।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक बीमकले अर्को बीमकलाई प्राप्ति गर्दा बीमितलाई अहित वा हानि–नोक्सानी हुने, बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने वा कुनै बीमकको एकाधिकार कायम हुने वा नियन्त्रित अभ्यास कायम हुन सक्ने सम्भावना देखिएमा प्राधिकरणले त्यस्तो बीमकलाई प्राप्ति गर्न स्वीकृति दिने छैन।

(५) उपदफा (३) बमोजिम प्राधिकरणबाट सैद्धान्तिक सहमति प्राप्त भएमा प्राप्ति गर्ने बीमकले बीमकको लेखापरीक्षक हुन योग्यता पुगेका व्यक्तिहरुमध्येबाट देहायका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न मूल्यांकनकर्ता नियुक्ति गर्नुपर्नेछ–

  • प्राप्ति गर्ने र लक्षित बीमकको सम्पत्ति, दायित्व र व्यवसायको मूल्यांकनसहित समग्र आर्थिक स्थिति,
  • प्राप्ति गर्ने बीमकले लक्षित बीमक प्राप्ति गर्दा बीमा प्रणालीमा हुन सक्ने प्रभावको सामान्य प्रक्षेपण र प्राप्ति गर्ने बीमकको व्यावसायिक योजना,
  • प्राप्तिपश्चातको लक्षित बीमकका कर्मचारीको व्यवस्थापन,
  • प्राप्तिपश्चातको लक्षित बीमकको अल्पकालीन र दीर्घकालीन दायित्वको व्यवस्थापन,
  • तोकिएबमोजिमको अन्य विवरण।

(६) उपदफा (५) बमोजिम नियुक्त मूल्यांकनकर्ताले आफूले तयार गरेको अध्ययन प्रतिवेदनको एक प्रति प्राधिकरण र प्राप्ति गर्ने बीमकसमक्ष पेस गर्नुपर्नेछ।

(७) उपदफा (६) बमोजिमको प्रतिवेदनबाट लक्षित बीमकलाई प्राप्ति गर्न उपयुक्त हुने देखिएमा प्राधिकरणले त्यस्तो बीमक प्राप्ति (एक्विजिसन) गर्नको लागि स्वीकृति प्रदान गर्नेछ।

(८) उपदफा (७) बमोजिम स्वीकृति प्राप्त भएपछि लक्षित बीमकको सम्पत्ति र दायित्व व्यवस्थापन सम्बन्धमा दुवै बीमकले आपसी सम्झौता गरी प्राप्ति गर्ने बीमकले लक्षित बीमकको तोकिएबमोजिम संख्याका संस्थापक शेयर वा अन्य शेयर खरिद गर्नुपर्नेछ।

(९) बीमकको प्राप्ति (एक्विजिसन) सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ व्यवस्था रहेको छ।

ख) कम्पनी ऐन, २०६३

कम्पनी ऐन, २०६३ को दफा १७७ मा कम्पनी गाभिन सक्ने व्यवस्थाअन्तर्गत एउटा पब्लिक कम्पनी आफ्नो साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी अर्का कम्पनीमा गाभिन सक्ने व्यवस्था रहेको छ। उक्त व्यवस्थाअनुसार गाभ्ने, गाभिने सम्बन्धी साधारण सभाको निर्णय उतार, गाभिने कम्पनीको अन्तिम वासलात र लेखा परीक्षणको प्रतिवेदन, गाभिने र गाभ्ने कम्पनीका साहूहरुको लिखित सहमतिपत्रको प्रतिलिपि, गाभिने र गाभ्ने कम्पनीको चल अचल सम्पत्तिको मूल्यांकन, सम्पत्ति र दायित्वको यथार्थ विवरण, गाभिने र गाभ्ने कम्पनीले गाभिने कम्पनीका साहूहरु र कामदार तथा कर्मचारीका सम्बन्धमा कुनै निर्णय भएमा त्यस्तो निर्णयको प्रतिलिपि, कम्पनीहरुबीच एक आपसमा गाभिन सम्पन्न भएको सहमतिपत्र सहित ३० दिनभित्र स्वीकृतिको लागि निवेदन दिनुपर्नेछ। कम्पनी रजिस्ट्रारको कार्यालयले गाभ्ने, गाभिने तथा प्राप्तिको सूचना प्राप्त भएपछि सोसम्बन्धी छानबिन गरी ३ महिनाभित्रमा आफ्नो निर्णयको जानकारी दिनुपर्ने व्यवस्था छ। यसरी गाभिन स्वीकृति लिई गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभ्ने कम्पनीमा सर्ने व्यवस्था रहेको छ।

ग) आयकर ऐन, २०५८

गाभ्ने, गाभिने कार्यलाई प्रोत्साहन गर्न आयकर ऐन, २०५८ मा विभिन्न छुट प्रस्ताव गरिएको छ। यसअनुसार गाभ्ने संस्थाले गाभिने बीमकको कट्टी हुन नसकेको नोक्सानीलाई आगामी ७ वर्षसम्म दामासाहीले कट्टा गर्न, गाभ्ने, गाभिने संस्थामा कार्यरत कर्मचारीहरुलाई सामुहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनका लागि गरिने थप एकमुष्ठ भुक्तानीमा लाग्ने करको दरमा ५० प्रतिशत छुट पाउने, गाभ्ने, गाभिने संस्थामा गाभ्नु, गाभिनुअघि कायम रहेका शेयरधनीहरुले गाभिएको २ वर्षभित्र शेयर बिक्रीबाट आर्जन हुने लाभमा पुँजीगत लाभकर नलाग्ने, गाभ्ने, गाभिने संस्थाले गाभ्ने, गाभिनेअघि कायम रहेका शेयरधनीहरुलाई वितरण गर्ने लाभांशमा २ वर्षसम्म कर नलाग्ने व्यवस्थाहरु रहेको छ।

घ) बीमक एक आपसमा गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिसन) सम्बन्धी निर्देशिका, २०७६

नेपाल बीमा प्राधिकरणले गाभ्ने, गाभिने तथा प्राप्ति कार्यलाई सहज बनाउन बीमक एकआपसमा गाभ्ने वा गाभिनेसम्बन्धी निर्देशिका जारी गरेको छ। सो निर्देशिकाले कानुनी प्रक्रिया पूरा गर्न तथा गाभ्ने गाभिने बीमकहरुका लागि सुविधाको व्यवस्था गरेबमोजिम गाभ्ने, गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन कार्यका लागि सम्झौता (एमओयू) गरी सैद्धान्तिक सहमतिको लागि निवेदन गर्ने बीमकहरुलाई विद्यमान कम्पनी ऐन २०६३, बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६ तथा धितोपत्रसम्बन्धी अन्य कानुन समेतहरुका आधारमा सो प्रक्रिया सुरु भई सैद्धान्तिक सहमति प्राप्त भएका तथा सहमतिका लागि निवेदन गरेका बीमकहरुलाई लागू हुने गरी निम्नलिखित सहजीकरणको व्यवस्था गरेको छः

१. सर्वसाधारणमा शेयर जारी गरिसकेका वा गरिनसकेका इजाजतपत्र प्राप्त बीमकहरुसमेत एक आपसमा गाभ्न गाभिन वा प्राप्ति (एक्विजिसन) का लागि योग्य मानिनेछन्। तर, गाभिएर वा प्राप्ति (एक्विजिसन) पश्चात् कायम हुने बीमकको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्था सम्बन्धित बीमकले मिलाउने।

२. प्राधिकरणबाट तोकेको बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेका इजाजतपत्रप्राप्त बीमकहरु एकआपसमा गाभ्न गाभिन वा प्राप्ति (एक्विजिसन) का लागि योग्य हुनेछन्। तर, उक्त बीमकहरु गाभिएर वा प्राप्ति (एक्विजिसन) पश्चात बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए बमोजिम कायम हुनुपर्ने।

३. गाभ्न, गाभिन तथा प्राप्तिका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकहरुले गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिसन) प्रक्रियालाई मनासिब कारणसहित प्राधिकरणको स्वीकृति नलिई आफूखुसी भंग गरी त्यस्तो प्रक्रियाबाट अलग भएको निर्णय गर्न पाइने छैन।

४. सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकहरुबाट गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिसन) प्रक्रियाबाट अलग हुन मनासिब माफिकको कारण खुलाई सञ्चालक समितिको निर्णय तथा संयुक्त मर्जर वा प्राप्ति (एक्विजिसन) समितिको सहमतिसहित निवेदन पेस हुन आएमा प्राधिकरणले सैद्धान्तिक सहमति रद्द गरिदिन सक्नेछ। तर, सो बीमकहरुमध्ये केही बीमकहरु एकआपसमा गाभ्न गाभिन वा प्राप्ति (एक्विजिसन) का लागि सहमत भएको अवस्थामा प्राधिकरणले औचित्यता हेरी ती बीमकहरुका लागिमात्र सैद्धान्तिक सहमति कायम राख्न सक्नेछ।

५. गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) कार्य सम्पन्न गर्ने समयबद्ध कार्यतालिका तयार गरी पेस गर्ने समयबद्ध कार्य तालिकामा निम्नलिखित विषयवस्तु समावेश हुनुपर्नेछः

  • बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६ दफा ७ बमोजिम मूल्यांनकर्ताको नियुक्ति मिति र विवरण।
  • ऐ. बमोजिम मूल्यांकन प्रतिवेदन पेस गर्ने मिति।
  • गाभ्ने र गाभिने बीमकहरुबाट संयुक्त मर्जर समिति (ज्वाइन मर्जर कमिटी) गठन
  • गर्ने मिति र विवरण।
  • ऐ. बमोजिम गठित संयुक्त मर्जर समितिको प्रतिवेदन पेस गर्ने मिति।
  • संयुक्त मर्जर समितिको प्रतिवेदन उपर सञ्चालक समितिको निर्णय हुने मिति।
  • विशेष साधारणसभाको आयोजना हुने मिति।
  • गाभ्ने र गाभिनेसम्बन्धी बीमकहरुबीच अन्तिम सम्झौता सम्पन्न हुने मिति।
  • कम्पनी रजिस्ट्रार कार्यालयमा गाभिएपछिको कम्पनीको प्रबन्धपत्र तथा नियमावली दर्ता तथा कम्पनी दर्ता प्रमाणपत्र प्राप्त गर्ने मिति।
  • संयुक्त कारोबार सुरु गर्ने मिति।

६. गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने बीमकहरुको संयुक्त मर्जर समिति (ज्वाइन्ट मर्जर कमिटी) गठन गर्ने।

  • उक्त समितिमा गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिसन) मा संलग्न संस्थाका सञ्चालकहरु मध्येबाट कम्तीमा एकजना र बढीमा ३ जनासम्म सदस्य तोक्न सक्नेछ। तर, गाभ्ने गाभिनेमा कार्यमा संस्थाका सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक उक्त समितिको सदस्य हुन पाइने छैन।
  • कुनै विज्ञ व्यक्तिलाई आवश्यकतानुसार राय–सुझावका लागि उक्त समितिमा आमन्त्रित गर्न सकिनेछ।
  • सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन प्राप्त गरेपछि संयुक्त मर्जर समितिले मूल्यांकन प्रतिवेदनमा सिफारिस गरिएको शेयर स्वाप अनुपात (शेयर स्वाप रेसियो) लाई यथावत स्वीकार गर्न सकिनेछ। तर, व्यवसायको प्रतिष्ठा, कर्मचारीको योग्यता, बजार उपस्थिति, मुनाफाको इतिहास, पछिल्लो बजारमूल्यलगायतका आधारमा संयुक्त मर्जर समितिले मूल्यांकनकर्ताले सिफारिस गरेको गाभ्ने, गाभिने संस्थाहरुको शेयर स्वाप अनुपात (शेयर स्वाप रेसियो) मूल्यांकन प्रतिवेदनमा उल्लेखित खुद सम्पत्तिको बढीमा १० प्रतिशतले आधार नेटवर्थ (बेस नेटवर्थ) मा थपघट गरी गणना गरिएको समायोजित आधार नेटवर्थबमोजिम संशोधित शेयर स्वाप अनुपात (रिभाइज्ड शेयर स्वाप रेसियो) गणना गर्न सकिनेछ।
  • घ) संयुक्त मर्जर समितिले शेयर स्वाप अनुपात सम्बन्धमा निर्णय लिँदा साना लगानीकर्ताहरुको हित (माइनोरिटी इन्ट्रेस्ट)लाई समेत मध्यनजर गर्नुपर्नेछ।

७. सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित मान्यता, आधार, मापदण्ड प्रचलित बजारमूल्य (फेयर मार्केट भ्यालु) मा गर्नुपर्नेछ। तर, सम्पत्ति मूल्यांकन गर्दा ख्याति (गुडविल) लाई समावेश गर्न पाइने छैन।

८. सम्पत्ति, कारोबार तथा मूल्यांकन प्रतिवेदनमा देहायको विषयमा विस्तुत विश्लेषण समावेश हुनुपर्ने–

  • पुँजी पर्याप्तता,
  • नेटवर्थ,
  • बीमालेखसम्बन्धी विवरण
  • बीमा दाबी भुक्तानी व्यवस्था तथा स्थिति
  • प्रचलित कानुन तथा नियमनको पालना स्थिति,
  • तरलता विवरण,
  • जनशक्ति व्यवस्थापन,
  • सूचना प्रविधि,
  • व्यवसायको बजार अंश,
  • शेयर स्वाप अनुपात,
  • शेयरको बजारमूल्य,
  • शाखा सञ्जाल (ब्रान्च नेटवर्क)
  • गाभ्ने गाभिनेमा संलग्न संस्थाको पछिल्लो ५ आर्थिक वर्षको प्रमुख वित्तीय परिसूचकहरु र गाभिएपछिको ५ बर्षको प्रक्षेपित वित्तीय कारोबार तथा स्थिति र
  • माथि उल्लेखित प्रभाव विश्लेषणको आधारमा सुधारका लागि अवलम्बन गर्नुपर्ने उपायहरु।

९. सम्झौतासम्बन्धी व्यवस्थाः गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने संस्थाहरुले मूल्यांकन प्रतिवेदन प्राप्त भएपश्चात बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६ मा दफा ८ मा उल्लेखित विवरण साथ थप देहायका विवरणहरु खुलाएर सम्झौता सम्पन्न गर्नुपर्नेछ–

  • गाभ्ने र गाभिने प्रक्रियामा संलग्न बीमकहरुको नाम, ठेगाना र कार्यक्षेत्र तथा गाभिएपछि रहने बीमकको नाम, ठेगाना र कार्यक्षेत्र,
  • गाभिएपछिको पुँजी संरचना, नियन्त्रणमा परिवर्तन, स्वामित्व संरचना तथा गाभिएपछि कायम रहने बीमकको तत्काल गठन हुने सञ्चालक समितिको विवरण तथा व्यवस्थापन संरचना,
  • मूल्याकंन प्रतिवेदनमा सिफारिस गरिएको शेयर स्वाप अनुपात र आपसी सहमतिमा तय गरिएको शेयर स्वाप अनुपात तथा सोको आधारहरु,
  • बीमकको गुणात्मक सुधार, व्यवसाय प्रवर्द्धन र सुरक्षा, संस्थागत सुशासनको प्रतिबद्धता,
  • प्रचलित कम्पनी तथा धितोपत्र विनियम बजारसंग सम्बन्धित कानुन पालनाका लागि पूरा गर्नुपर्ने विषय र स्वीकृति प्रक्रिया,
  • उल्लेख स्वामित्व भएको शेयरधनी तथा अन्य शेयरधनीहरुको विवरण,
  • गाभिएपछि एकआपसमा शाखा तथा कार्यालयहरुको मिलान तथा सञ्चालनसम्बन्धी व्यवस्था,
  • गाभिएपछि एकीकृत कारोबार सुरु गर्ने मिति सहितको प्रस्तावित कार्ययोजना,

१०. गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) मा संलग्न बीमकहरुबीच तय भएको शेयर स्वाप अनुपात बमोजिम सम्बन्धित सबै शेयरधनीहरुको शेयर लगत कायम गरी समितिलाई जानकारी पेस गर्ने।

निष्कर्ष तथा सुझाव

नेपालमा बीमा कम्पनीहरुले बजारको आवश्यकताअनुरुप रणनीतिक रुपमा एकभन्दा बढी बीमा कम्पनीहरु आपसमा गाभिएर वा प्राप्ति भएर नयाँ संस्था बन्ने प्रक्रियालाई सहजीकरण गर्न कानुनी तथा नीतिगत व्यवस्थाहरु गरिँदै लगिएको छ। यसैअनुरुप संस्थाले रणनीतिक रुपमा बजारमा आफ्नो उपस्थिति सुदृढ गर्न, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, कारोबारको क्षेत्र विस्तार गर्न वा व्यवसाय विस्तार गर्न आदि उद्देश्यहरुबाट अभिप्रेरित भई गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी कार्यमा जुटेको पाइन्छ भने यसबाट समग्रमा वित्तीय क्षेत्रको स्थायित्वमा समेत टेवा पुग्न जाने देखिन्छ।

गाभ्नु, गाभिनु तथा प्राप्ति गर्नुअघिका समस्या तथा चुनौतीहरुः गाभ्ने, गाभिने तथा प्राप्ति कार्यमा संलग्न हुन चाहने बीमा कम्पनीहरुका सञ्चालक÷संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतहरुले आ–आफ्नो हित संरक्षणलाई प्राथमिकतामा राख्ने गरेका कारण त्यस्तो उपयुक्त संस्था रहेमा मात्र सरल र सहज ढंगले गाभ्ने, गाभिने तथा प्राप्तिको प्रक्रियाअघि बढ्ने गरेको अन्यथा प्रक्रियामा समस्याहरु उत्पन्न हुने गरेको, बीमकको नाम, केन्द्रीय कार्यालयको ठेगाना तथा लोगोको सम्बन्धमा सहमति गर्न, सञ्चालकहरु र अध्यक्षको चयन गर्न, प्रमुख कार्यकारी अधिकृतको निरन्तरता र सेवा–सुविधाहरुको निर्धारण गर्न, शेयर स्वाप अनुपात निर्धारणमा सहमति कायम गर्न, जनशक्ति समायोजन गर्न, सफ्टवेयरको व्यवस्था मिलाउन, लामो समयसम्म शेयर कारोबार बन्द हुने हुँदा लगानीकर्ताको हित संरक्षण गर्न कठिन महसुस गरिएको छ।

गाभ्ने, गाभिने तथा प्राप्तिपश्चातका समस्या तथा चुनौती

गाभिएर वा प्राप्ति भएर एकीकृत कारोबार गरिसकेका बीमा कम्पनीहरुमा पनि फरक संस्थाबाट आएका सञ्चालकहरु बीचमा सामाञ्जस्यता कायम गर्न, फरक संस्था र फरक कार्यशैलीबाट आएका उच्च व्यवस्थापनका कर्मचारीहरुबीचमा आपसि समन्वय कायम गर्न, फरक संस्थाका कर्मचारीहरुलाई विवादरहित तरिकाले उचित व्यवस्थापन गर्न तथा निरन्तरता दिन, लेखा नीतिमा एकरुपता कायम गर्न, शाखा कार्यालयको व्यवस्थापन गर्न, बीमांकी मूल्यांकन गर्न, नाफा नोक्सान हिसाव एकीकृत गरी आयकर निर्धारण गर्न आदि जस्ता कार्यहरु भने चुनैतीपूर्ण नै रहेको छ।

गाभ्ने गाभिने वा प्राप्ती गर्ने कार्यमा हुने संस्थागत अपेक्षा

  • काम प्रतिको उत्साह: गाभ्ने, गाभिने वा प्राप्तिको कारण बीमकको पुँजी वृद्धि हुने, कारोवार क्षेत्र विस्तार हुने,
    व्यवसायको आकार बढ्न गई व्यवसायको समग्र छवि र वित्तीय अवस्थामा अनुकूल सुधार आउने विश्वासका कारण सेवाको सुनिश्चितता र सुविधा वृद्धि हुन गई काम प्रतिको उत्साहमा भने अनुकुल सुधार हुने अपेक्षा गरिएको हुन्छ।
  • कर्मचारीहरुबीचको आपसी सम्बन्ध: फरक प्रकृति, आकार र कार्यक्षेत्र भएका बीमा कम्पनीहरु आपसमा गाभिंदा वा प्राप्ति हुँदा फरक संस्थाका कर्मचारीहरुमा एकले अर्कोलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा फरक पर्न जाने र नयाँ वातावरणमा आपसमा घुलमिल हुन समय लाग्ने गर्दछ। व्यवस्थापकीय दृष्टिकोणबाट फरक वातावरणबाट आएका कर्मचारीहरुलाई आपसी सौहार्दता कायम गरी बीमकको उद्देश्य प्राप्तिमा सरिक गराउनु चुनौतीपूर्ण नै हुने गर्दछ।
  • कार्य वातावरणमा सहजता: गाभ्ने, गाभिने तथा प्राप्ति पश्चात् विभिन्न संस्थामा कार्यरत कर्मचारीहरु एकै छानामुनि फरक व्यवस्थापनअन्तर्गत रहेर फरक वातावरणमा काम गर्न केही असहज हुने र तत्कालै नयाँ वातावरणमा भिज्न केही समय लाग्ने हुन्छ। फरक कार्य वातावरण र फरक संस्थाबाट आएका कर्मचारीहरुलाई नयाँ वातावरणमा सहज ढंगले घुलमिल भएर कार्य गर्ने वातावरण तयार गर्नुव्यवस्थापनको लागि चुनौतीपूर्ण कार्य हुन जान्छ।
  • व्यवस्थापनको भूमिका: फरक संस्थाबाट आएका कर्मचारीहरुलाई नयाँ बीमकको वातावरण बुझ्न र उक्त वातावरणमा अभ्यस्त हुन समय लाग्ने र समान संस्थाका कर्मचारीहरु पहिले देखि नै उक्त वातावरणमा अभ्यस्त भएका कारण कार्यदक्षता पनि सोही अनुसार फरक पर्ने गर्दछ। दक्ष कर्मचारीलाई व्यवस्थापनले सधैँ उच्च प्राथमिकतामा राख्ने र सोही अनुसार वृत्ति विकासका अवसरहरु उपलब्ध हुने गर्दा फरक संस्थाबाट आएका कर्मचारीहरुले व्यवस्थापनको भूमिका रहन्छ।
  • सेवा सुरक्षाको सुनिश्चितता: बीमा कम्पनीहरु एकआपसमा गाभिंदा वा प्राप्ति हुँदा बीमकको वित्तीय स्रोत, प्रतिस्पर्धात्मक क्षमता र व्यवसायको आकारमा समेत विस्तार भई वित्तीय दृष्टिले संस्था सुदृढ र सवल बन्न गई संस्थामा कार्यरत कर्मचारीहरुको सेवा सुरक्षाको सुनिश्चितता बढ्न जाने अपेक्षा गरिएको हुन्छ।
  • कर्मचारीको कार्यक्षमताको अन्तर: संस्थामा कार्य गर्ने कर्मचारीहरुको कार्य क्षमता बीमकको प्रकृति, कार्य क्षेत्र र व्यवसायको आकारमा निर्भर गर्दछ। फरक प्रकृति, कार्यक्षेत्र र फरक आकारको व्यवसाय गरिरहेका बीमा कम्पनीहरु आपसमा गाभिंदा वा प्राप्ति हुँदा कर्मचारीहरुको कार्यक्षमतामा भएको अन्तरले बीमकको उत्पादकत्वमा पनि प्रभाव पार्ने गर्दछ। फरक फरक संस्थाबाट आएका फरक कार्य क्षमता भएका कर्मचारीहरुलाई उचित जिम्मेवारी दिएर व्यवस्थापन गर्न नसकिएमा कर्मचारीहरुमा असन्तुष्टि चुलिंदै गएर बीमकको उत्पादकत्वमा नै नकारात्मक प्रभाव पर्न जाने भएकोले कर्मचारीहरुको कार्यक्षमताअनुसार व्यवस्थापन गर्नु व्यवस्थापनको लागि चुनौतीपूर्ण हुने गर्दछ।

उल्लिखित कार्यमा सहजीकरणका लागि तथा देहायबमोजिमको व्यवस्था गर्न उपयुक्त देखिन्छ?

  • नेपाल बीमा प्राधिकरणलेगाभ्ने, गाभिने तथा प्राप्ति हुने वा भएका बीमा कम्पनीहरुको विशेष निरीक्षण तथा सुपरिवेक्षण तत्काल गर्ने व्यवस्था गर्नुपर्ने।
  • गाभ्ने, गाभिने तथा प्राप्ति गर्नुपूर्व बीमा कम्पनीहरुको सम्पत्ति र दायित्व मूल्यांकनलाई थप पारदर्शी एवं तथ्यपरक बनाउन आवश्यक परेको अवस्थामा एक संस्थाले अर्को बीमकको विशेष लेखापरीक्षण गर्न सक्ने व्यवस्था गर्नुपर्ने।
  • सैद्धान्तिक सहमति प्राप्त गर्नुअघि नै कर्मचारी समायोजनको सहमति गरी निर्णय गर्ने व्यवस्था गर्नुपर्ने।
  • कम्पनी रजिस्ट्रार कार्यालय तथा नेपाल धितोपत्र बोर्डमा गाभ्ने, गाभिने तथा प्राप्तिको सिलसिलामा सम्पादन गरिने कार्यमा प्रक्रियागत सुधारका लागि नेपाल सरकारले सहज वातावरण बनाउनुपर्ने।
  • गाभ्ने, गाभिने तथा प्राप्तिमा सहभागी हुने सबै बीमा कम्पनीहरुको जनशक्ति व्यवस्थापनको विशेष लेखापरीक्षणबाट तहगत रुपमा आवश्यकभन्दा बढी रहेका कर्मचारीहरुलाई लक्षित गरेर अनिवार्य रुपमा स्वेच्छिक अवकास योजना लागू गर्ने व्यवस्था गर्नुपर्ने।
  • गाभ्ने, गाभिने तथा प्राप्तिमा संलग्न हुने बीमा कम्पनीहरुले गाभ्ने, गाभिने तथा प्राप्तिपश्चात् फरक–फरक कार्य बातावरणमा काम गरेका कर्मचारीहरुलाई पर्याप्त तालिमको माध्ययमबाट क्षमता अभिवृद्धि र आपसमा घुलमिल हुने वातावरण तयार गर्नुपर्ने।
  • तोकिएको न्यूनतम चुक्तापुँजी पुर्याउने उद्देश्यले मात्र नभई वित्तीय रुपले सबल र सक्षमसंस्था बनाउनका लागि पनि गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियालाई निरन्तरता दिनुपर्ने।

अतः बीमकको पुँजीको आधार विस्तार भई जोखिम वहन गर्न सक्ने क्षमता अभिवृद्धि हुने, सानो पुँजीको आधार भएका धेरै संख्याका बीमा कम्पनीहरुको सट्टामा थोरै संख्यामा सबल र सक्षम बीमा कम्पनी कायम हुन जाने, सञ्चालन खर्चमा कमी आउने, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुने, संस्थागत सुशासन कायम भई स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट सेवा प्रदान हुने अपेक्षा एकातिर गरिएको छ भने अर्कोतिर एक आपसमा गाभिएर वा प्राप्ति भएर वित्तीय बजारमा एकाधिकार कायम हुन जाने, गाभ्ने, गाभिने वा प्राप्तिका कारण एउटा संस्थामा रहेको समस्या अर्को संस्थामा हस्तान्तरण हुन जाने, गाभिएर वा प्राप्ति भएर बजारमा ठूलो हिस्सा ओगट्न पुगेका बीमकको असफलताले समग्र वित्तीय क्षेत्र नै संकटमा पर्न सक्ने अवस्था प्रति सचेत रहन जरुरी हुनेछ। यसै सिलसिलामा एकआपसमा गाभ्ने, गाभिने वा प्राप्ति पश्चात् सञ्चालनमा रहेका बीमा कम्पनीहरुको सञ्चालनको अवस्था, बीमकका ग्राहक, कर्मचारी, लगानीकर्ता तथा सञ्चालकहरुमा गाभ्ने, गाभिने वा प्राप्तिले पारेको प्रभाव र सो सम्बन्धमा रहेका समस्याहरुका बारेमा नियामकिय अध्धयन हुनुपर्ने देखिन्छ।

(सविता थापा नेपाल बीमा प्राधिकरणको कानुन शाखामा सहायक निर्देशकका रुपमा कार्यरत छिन् ।)

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS