काठमाडौं । व्यावसायिक सेवा प्रवाहलाई छरितो बनाउनका लागि बीमा कम्पनीहरुमा सूचना प्रविधिको प्रयोग बढ्दै गएको छ । बीमा कम्पनीले प्रयोग गरिरहेको सूचना प्रविधिको तुलनामा आमबीमित सूचना प्रविधिको प्रयोगसँग अभ्यस्त भइनसके पनि बदलिँदो परिवेश र समयको मागका कारण बीमा कम्पनीका लागि नयाँ–नयाँ सूचना प्रविधिको प्रयोग इनएभिटेबल अवस्था नै छ । सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढ्दै जाँदा व्यावसायिक कारोबारको तथ्यांक संकलन, भण्डारण, प्रशोधन, विश्लेषण र निष्कर्ष प्रयोजनका लागि सँगसँगै तथ्यांकको प्रयोग पनि बढेको छ । परम्परागत कार्यशैलीको तुलनामा सूचना प्रविधिको सहयोगबाट तथ्यांकको उच्चतम उपयोग सहज र सम्भव पनि छ ।
अहिले डिजिटल प्रविधिको युगमा कुनै पनि ठूला कम्पनीले आफूसँग के–कति भौतिक सम्पत्ति छ भन्दा पनि कारोबार र ग्राहकसँग सम्बन्धित उपयोगी तथ्यांकको भण्डारण कति छ भन्ने पक्षलाई बजारिकरण र कम्पनीको विश्वसनीयताको अस्त्र बनाएका हुन्छन् । उदाहरणका लागि होटलमा बास बसिसकेका र बस्ने सम्भावना भएका ग्राहकको सम्पर्क नम्बरसहितको तथ्यांक नै होटल व्यावसायिका लागि सम्पत्ति हो । यही अभौतिक सम्पत्तिलाई नै होटल व्यवसायीले आफ्नो व्यावसायिक सम्बन्धको निरन्तरता र ग्राहकसँग पहुँच स्थापित गर्ने माध्यमका रुपमा प्रयोग गरेर व्यवसायको विस्तारलाई मूर्तरुप दिन सम्भव बनाउँछ।
बीमा क्षेत्रमा बीमितले प्रत्यक्ष देखेको र अनुभूति गरेको सूचना प्रविधिको प्रयोग भनेको बीमाशुल्क वा दाबी रकमको विद्युतीय भुक्तानी सेवा, क्यूआर कोड, अभौतिक ग्राहक पहिचान फारम, अनलाइन बीमा आवेदन फारम र डिजिटल रसिदजस्ता सेवा हुन् । नेपाल बीमा प्राधिकरणले ल्याएको डिजिटल बीमालेख कार्यविधि र बीमकले अपनाएका डिजिटल प्रविधिले भविष्यमा अझ राम्रो हुनेमा दुई मत छैन ।
बीमा व्यवसायसँग सम्बन्धित कुनै पनि पक्षको विश्लेषण गर्न खासगरी बीमलेख तयार पार्न, बीमांकी मूल्यांकन, दाबी भुक्तानीलगायतको काममा तथ्यांकको प्रयोग र विश्लेषण उत्तिक्कै महत्वपूर्ण हुन्छ । व्यावसायिक जोखिम मूल्यांकन, जोखिमको आंकलन, भविष्यवाणी, बीमाशुल्कको खर्च दर, बचत दर, जोखिमको तुलनामा व्यवसायको विस्तारलगायतको विश्लेषणका लागि पूर्ण तथ्यांकको आवश्यकता पर्छ । अधुरो वा अपुरो तथ्यांकले ‘कुहिरोको काग’ झैँ बीमा कम्पनीलाई कतै पनि डोर्याउन सक्दैन ।
बीमा प्राधिकरणले मासिक रुपमा प्रकाशन गर्ने बीमकको व्यावसायिक विवरणमा सीमित मात्रको तथ्यांक उपलब्ध गराउँंदै आएको छ । यो विवरणमा बीमालेख बिक्री भएको संख्या, संकलन भएको प्रथम बीमाशुल्क रकम, नवीकरण बीमाशुल्क रकम तथा संकलन भएको कुल बीमाशुल्क रकम तथा प्रदेशगत हिसाबमा संकलन भएको कुल बीमाशुल्क रकम तथा बिक्री भएको बीमालेख संख्याबारेको विवरण छ ।
तथ्यांक बीमा उद्योगबारे अध्ययन अनुसन्धान गर्ने वा बीमा व्यवसायबारे चासो राख्ने जोसुकैका लागि उपयोगी होस् भन्ने ध्येयले प्राधिकरणले व्यावसायिक कारोबारसम्बन्धी तथ्यांक प्रकाशन गरेको हो । यी तथ्यांक पीडीएफ फर्म्याटमा भएकाले तथ्यांक विश्लेषण गर्न चाहनेले तथ्यांकलाई एक्सेल फर्म्याटमा परिवर्तन गर्नुपर्छ । यसरी परिवर्तन गर्ने क्रममा तथ्यांकमा प्राविधिक त्रुटि भइदिन्छ र सम्पूर्ण विश्लेषण नै गलत हुने सम्भावना सधैँ रहन्छ । प्राधिकरणले प्रकाशन गर्ने तथ्यांकलाई एक्सेल फर्म्याटमा समेत उपलब्ध गराइदिएको अवस्थामा तथ्यांकको उपयोगिता अझै बढ्नेछ र गलत निष्कर्ष निकालिने अवस्था न्यून हुन्छ । अर्कोतर्फ प्राधिकरणले सार्वजनिक जानकारीका लागि उपलब्ध गराइरहेको तथ्यांक पर्याप्त छैन ।
प्राधिकरणले बीमकसँग व्यावसायिक कारोबारको तथ्यांक माग्दाको अवस्थामा नै व्यावसायिक विश्लेषण गर्न आवश्यक पर्ने तथ्यांकलार्ई राम्रोसँग विश्लेषण गर्ने हो भने त्यसले समग्र बीमा उद्योगमा बीमाशुल्कको निर्धारण, दाबी तथा त्यसँग सम्बन्धित अन्य विषयमा महत्वपूर्ण प्रभाव पार्न सक्छ।
बीमा जोखिमलाई व्यवस्थापन गर्ने एउटा महत्वपूर्ण माध्यम हो । बीमकहरुले बीमांकीको मद्दत लिई आफ्नो बीमालेख तयार पार्न लगाएका हुन्छन् । यसमा बीमांकीले बीमकको आम्दानी, बचत, खर्च, लगानीमा प्रतिफल, दाबी भुक्तानी,बीमालेख समर्पणको संभावित दर तथा मृत्यु दरलाई अध्ययन गरी कुनै पनि बीमालेखको बीमाशुल्क दर निर्धारण गर्छन् । यस्तो गणना उपलब्ध तथ्यांकहरुलाई आधार मानेर अनुमान गरिने भएकाले यस्तो अनुमान सतप्रतिशत भविष्यसँग मिल्न जाने ग्यारेन्टी हुँदैन तर पर्याप्तता चाहिँ हुन्छ ।
प्राधिकरणले बीमा व्यवसायसम्बन्धी अद्यावधिक सूचना संकलन प्रयोजनका लागि नियामक सूचना व्यवस्थापन प्रणाली प्रयोगमा ल्याएको छ । यो प्रविधिमा बीमकले आफ्नो कारोबारसँग सम्बन्धित सबैखाले विवरण र तथ्यांकहरुको अद्यावधिक विवरण प्रविष्ट गराउनुपर्छ । यसरी नियमित रुपमा प्राप्त हुने तथ्यांकलाई प्राधिकरणले समेत आवधिक रुपमा विश्लेषण गरेर केही निष्कर्ष सार्वजनिक गर्ने हो भने बीमक र बीमा क्षेत्रसम्बन्धी अध्ययन गर्ने सबैका लागि महत्वपूर्ण दस्तावेजका रुपमा उपयोगी हुन सक्छ।
माथि उल्लेख गरिएको तथ्यांकहरु प्राधिकरणले बीमकसँग मासिक रुपमा संकलन गरेर अध्ययन गर्ने हो भने बीमा उद्योगमा आमूल परिवर्तन आउन सक्ने साथै यस क्षेत्रसँग सम्बन्धित कर्मचारी, बीमिति, विद्यार्थी तथा तथ्यांकशास्त्रीलाई पनि ठूलो सहयोग हुन जान्छ । साथै, यस्तो किसिमको तथ्यांक बीमकसँग लिँदाका बखतमा तथ्यांककोे वास्तविकताका साथै तथ्यांक सबैको पहुँचमा हुने गरी उपलब्ध गराउँदा उपयोगी हुन्छ ।