IME Life

अण्डरराइटिङ्गमा हुने लापरवाहीले समग्र बीमा क्षेत्र नै बदनामीको जोखिममा

SPIL
NIC ASIA

काठमाडौं । बीमा क्षेत्रका अगुवाहरुले जीवन बीमालेखको जोखिमाङ्कनका क्रममा गरिने सामान्य लापरवाही समेतले पनि बीमा क्षेत्रको विश्वसनीयतामा आँच आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । कुनै पनि बीमाको प्रस्ताव स्वीकृत गर्नु अघि नै बीमाको प्रस्ताव र प्रस्तावकसँग निहित जोखिमको पूर्वानुमान गरेर बीमा योग्य जोखिम हो होइन भन्ने निर्क्यौल निकाल्ने काम अण्डरराइटिङ्ग विभाग अर्थात् जोखिमाङ्कन विभागले गर्छ ।

बीमितले भविष्यमा प्राप्त गर्ने सुविधा र लाभ मात्र नभएर बीमा कम्पनीको व्यवसायको स्थायीत्व पनि बीमकले अण्डरराइटिङ्गमार्फत् बहन गर्ने जोखिमको स्तरले निर्धारण गर्छ ।

Prabhu
Crest

नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य कपिलदेव ओली भन्छन्, धेरै अभिकर्ताले राम्रो काम गरि रहँदा सीमित व्यक्तिले मात्र पनि प्रलोभनले बीमा गराउँदा र अण्डरराइटिङमा नजरअन्दाज गर्ने अभ्यासले समग्र बीमा क्षेत्रकै बद्ननामी हुन्छ। उनको भनाईमा जीवन बीमामा पहिलो अण्डरराइटर अभिकर्ता नै हुने भएकाले बीमा व्यवसायलाई बदनाम हुन नदिन अभिकर्तामा व्यवसायीक इमान्दारिता कायम रहनु जरुरी छ।

बीमाको अण्डरराइटिङ प्रकृयामा अभिकर्ता, शाखा उपशाखाका प्रबन्धक, अण्डरराइटिङ विभागका सामान्यदेखि अधिकार प्राप्त अधिकारीसम्मको प्रत्यक्ष संलग्नता रहेको हुन्छ। ठूलो बीमाङ्कको बीमा प्रस्तावको स्वीकृतिको निर्णयमा बीमकको प्रमुख कार्यकारी अधिकृत देखि लिएर पुनर्बीमा कम्पनीको अण्डरराइटर(बीमाको प्रस्तावसँग निहित जोखिमको आंकलन गर्ने विशेषज्ञ) समेतको सहभागिता अनिवार्य हुन्छ।

बीमितको क्रय वा बचत क्षमताः

बीमितले बीमा प्रस्ताव गर्दा वा बीमितलाई अभिकर्ताले बीमाका लागि सुझाव दिंदा बीमितको आर्थिक हैसियतले नाप्न सक्ने रकमको सीमाभित्रको बीमाङ्क वा बीमाशुल्क रोज्न सुझाव दिनुपर्छ। कति रकमको बीमा गर्ने भन्दा पनि बीमाको वार्षिक किस्ता वा अर्द्ध वार्षिक किस्ता रकम भुक्तानी गर्नका लागि बीमितसँग बचत क्षमता कति छ भन्ने आंकलन गरेर त्यसै अनुसारको बीमाङ्क वा बीमाशुल्क रकमको सीमाभित्र रहने गरी बीमा गर्नु वा गराउनु नै सबैको पक्षमा हुन्छ।

प्रथम् बीमाशुल्कवापत प्राप्त हुने कमिशनको लोभमा बीमितले बीमालेखलाई निरन्तरता दिनसक्ने आधारै पहिचान नगरी जथाभावी ठूलो बीमाङ्कको बीमा गराउनु ‘पाप’ हो । यसले बीमालेख निरन्तरता दिन नसक्दा बीमितको मिहिनेतको कमाई फँस्छ, बीमालेख व्यतित हुँदा बीमा कम्पनीलाई नोक्सानी हुन्छ, कम्पनीको बोनश दरमा नकारात्मक असर पर्छ, अभिकर्ताले बाँकी कम्तीमा १४ वर्ष सम्म प्राप्त गर्ने कमिशन गुमाउँछ । र अन्त्यमा बीमितको नजरमा त्यस्तो अभिकर्ताले सम्मान् गुमाउने मात्र नभएर बीमा कम्पनीको तथ्यांक (डाटा बेस) मा खराब अभिकर्ताको रुपमा दर्ज भएर बस्नेछ।

बीमितको बीमायोग्य हितः

बीमितले जीवन बीमाका लागि प्रस्ताव गर्दा प्रस्तावक आफैं बीमित हो भने बीमायोग्य हितको परिक्षण गरि रहनुपर्दैन । तर प्रस्तावकले अरु कसैका लागि जीवन बीमा गरिदिन लागेको हो भने बीमायोग्य हित निहित छ कि छैन भन्ने बारेमा अण्डरराइटरले ध्यान दिनुपर्छ। यसमा पहिलो अण्डरराइटरको रुपमा बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुन्छ। जोखिमपूर्ण व्यवसायमा रहेको कुनै व्यक्तिले आफ्नो बीमा नगरेको वा ठूलो ऋणको भार बोकेको वा वित्तीय दायीत्व बोकेको व्यक्तिले आफ्नो जीवन बीमा नै नगरी परिवारको कुनै अन्य सदस्य उदाहरणका लागि श्रीमतिको ठूलो बीमाङ्कको बीमा गर्ने प्रस्ताव गर्छ भने यहाँ अभिकर्ता र बीमक दुबैले शंका गर्नुपर्ने अवस्था हुन्छ। आफू जोखिममा भए पनि आफूमाथि ठूलो वित्तीय दायीत्व रहेको भएपनि आफूले जीवन बीमा नगरी परिवारका अन्य कुनै सदस्यको बीमा गर्नुका पछाडी सामान्य नियत नहुन सक्छ।

नैतिक जोखिमः

बीमायोग्य हितसँगै जोडिएर आउने अर्को महत्वपूर्ण पाटो नैतिक जोखिम हो । अण्डरराइटरले बीमा प्रस्ताव स्वीकृत गर्ने नगर्ने निर्णय लिनुपर्दा बीमाको प्रस्तावमा समेटिएको जीवन वा विषयवस्तुसँग कुनै नैतिक जोखिम जोडिएको छ वा छैन भन्ने परिक्षण गर्छ। जीवन बीमा गरेको विषयवस्तुको स्थायीत्व, सुरक्षा वा जीवनको दीर्घायूबाट प्रस्तावकलाई लाभ हुन्छ वा नोक्सानीबाट प्रस्तावकलाई अधिक लाभ हुनसक्छ भन्ने पक्षमा अण्डरराइटरले विचार गर्छन् । बीमा गरि हालियो अब यसलाई सिध्याई दिए हुन्छ भन्ने मनोभावना पो पलाउँछ कि ? बाँकेमा नक्कली श्रीमतिको योजनामा सुकुम्बासी बस्तीका यूवक सर्जन बिक, पोखरामा मोबाइल फोन मर्मत केन्द्र सञ्चालन गर्ने यूवकद्वारा पेशेवर समूहमार्फत् श्रीमतिको हत्या, बारामा  नाथु देवानद्वारा पेशेवर हत्याराको सहयोगमा आफ्नी श्रमति हजरा खातुनको हत्या, रौतहटमा किसान बाबुद्वारा २० लाख रुपैयाँ बीमाङ्क प्राप्त हुने लोभमा ५ वर्षिय बालकको हत्या गरेको घटनाहरु नैतिक जोखिमको पहिचानमा अभिकर्ता र बीमकको अण्डरराइटरबाट भएको गम्भीर लापरवाहीको नतिजा हो । यी घटनाहरु अण्डरराइटिङ पेशामा नैतिक जोखिमको शिक्षाका लागि पछिसम्म उल्लेख्य उदाहरणका रुपमा रही रहनेछन् ।

स्वास्थ्यको जोखिमः

प्रस्तावक वा बीमित स्वयमको स्वास्थ्यस्थिति कस्तो छ भन्ने विषय पनि बीमा अण्डरराइटरको चासोको विषय हुन्छ। स्वास्थ्य परिक्षण प्रतिवेदन आवश्यक पर्ने सीमाको बीमाङ्क प्रस्ताव गर्दा बीमकले बीमित वा प्रस्तावकको स्वास्थ्य परिक्षण प्रतिवेदनहरु माग गर्छ । यसमा मुटुको स्वास्थ्य अवस्थाबारे जानकारी दिने इसीजी,इको, ट्रेड मिल, रगत प्रशोधनको अवस्थाबारे जानकारी दिने किडनी फन्कशन टेष्ट, रगतमा चीनिको मात्र( मधुमेह), रक्तचापलगायतका परिक्षणको आवश्यकता पर्न सक्छ। यस्तो परिक्षणहरु बीमाङ्क रकम र बीमितको उमेर हदमा निर्भर गर्छ।

बीमितको उमेर र जीवित रहन बाँकी उमेरः

बीमितको उमेर जति कम हुन्छ बीमाका लागि प्रस्ताव स्वीकृति उति नै सहज हुन्छ। साथै बीमितले भुक्तानी गर्नुपर्ने बीमाशुल्कवापतको रकम पनि थोरै हुन्छ। बीमा अवधि पनि १५, २०,२५ वा ३० वर्षसम्म रोज्न सकिन्छ। बीमितको उमेर धेरै छ अर्थात् अधवैशे वा ५० वर्षभन्दा माथिको उमेरको छ भने बीमकले बहन गर्नुपर्ने जोखिम तुलनात्मकरुपमा बढी हुन्छ। औसत आयूको आधारमा यस्तो बीमितहरुको बाँच्ने उमेरको अन्दाज गरेर जोखिमको आधारमा बीमाशुल्क थप गरिन्छ।

पेशागत जोखिमः

बीमित वा प्रस्तावक स‌ंलग्न रहेको पेशाको आधारमा पनि बीमाको प्रस्तावसँग जोडिएको जोखिमको मूल्याङ्कन गरिन्छ। बीमक सैनिक वा प्रहरी छ वा हवाई जहाज चालक वा भारी सवारी साधन हाँक्ने चालक वा जोखिमयुक्त कुनै पेशामा संलग्न व्यक्ति हो भने पेशाका कारण छोटो उमेरमै निधन हुनसक्ने जोखिम अधिक हुनसक्छ। यस्तो जोखिमलाई पनि बीमकले चासोपूर्वक हेर्नुका साथै अतिरिक्त जोखिम बहन वापत थप बीमाशुल्क रकम असुली गर्छ।

भौगोलिक अवस्थाः

बीमित अक्सर बसोबास गर्ने भूगोल पनि अण्डरराइटरको लागि जोखिम मूल्याङ्कनका क्रममा चासोको विषय हुन्छ। उदाहरणका लागि नियमितजसो बाढी, भूकम्प, पहिरो, ज्वालामूखी विष्फोट भई रहने, आन्दोलन, हत्या,धनजनको क्षति भई रहने भूगोलका बासिन्दाको बीमा प्रस्ताव स्वीकार्दा बीमकले उच्च जोखिमयुक्त प्रस्तावकारुपमा वर्गिकरण गर्दै प्रस्ताव अस्वीकृत गर्ने वा अतिरिक्त जोखिम बहनवापत थप बीमाशुल्क असुल्ने निर्णय लिनुपर्ने हुन्छ।

पारिवारिक इतिहासः

बीमित वा प्रस्तावकको परिवारका सदस्यहरुको औसत आयू कति रहेको छ भन्ने बारे पनि अण्डरराइटिङको चासोको विषय हो । बीमितको परिवारका अन्य सदस्यमध्ये कसैको अल्पायूमै निधन भएको वा परिवारका अधिकांश सदस्यहरुको आयू छोटो रहेको वा कुनै वंशाणुगत रोगका कारण स्वास्थ्य अवस्था खराब भएर मृत्यु हुने गरेको अवस्था विद्यमान रहे नरहेको चासो अण्डरराइटरको हुन्छ। त्यसैले जीवन बीमा प्रस्ताव फारममा परिवारका अन्य सदस्यहरुको समेत उमेर र स्वास्थ्य अवस्था खुलाउन आग्रह गरिएको हुन्छ। आमा बाबु दाजुभाई दिदी बहिनी मध्ये कसैको निधन भई सकेको रहेछ भने कुन उमेरमा र के कारणले निधन भएको हो भन्ने विवरण समेत खुलाउनका लागि प्रस्ताव फारममा अनुरोध गरिएको हुन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

0%

अचम्मित

75%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS