IME Life

बीमा कम्पनीले दाबी भुक्तानीमा ढिलासुस्ती गरेर किन बीमितलाई दुःख दिन्छन् ?

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । गत साता राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले दाबी भुक्तानीमा बीमकहरु अझै पनि उदार बन्न नसकेको भन्दै असन्तुष्टी व्यक्त गरे । स सानो रकमको दाबी भुक्तानीका लागि पनि सर्वसाधारणलाई बीमकले हैरान पार्ने भएकाले पनि बीमा प्रतिको आम विश्वास अपेक्षितरुपमा स्थापित हुन नसकेको उनकाे अभिव्यक्ति थियो ।

नेपालको बीमा क्षेत्रमा दाबी भुक्तानीको समस्या बीमा सेवाको बिस्तारमा देखिएको एउटा मुख्य चुनौतीका रुपमा देखा परेको छ। वित्तीय साक्षरताको अभावका कारण बीमा गर्ने आम प्रवृत्ती स्थापित हुन नसकेपनि बीमा गरि सकेकाहरु पनि दाबी भुक्तानीका लागि व्यहोर्नुपर्ने झण्झट सम्झिएर पुनः बीमा नगर्ने निर्णय बाध्य लिनुपर्ने अवस्था हुन्छ। प्राधिकरणका अनुसार अन्य दाबी भुक्तानीमा समस्या नभएपनि जीवन बीमातर्फ मृत्यु दाबी भुक्तानीमा बीमक र बीमित दुबै पक्षबाट ढिलाई हुने गरेको छ। अर्कोतर्फ निर्जीवन बीमकको व्यापारमा आगजनी बीमाको दाबी भुक्तानीमा विशेष समस्या देखिने गरेको छ।

Crest

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश लाल कर्णले बीमा कम्पनीहरुको दाबी भुक्तानीका सम्बन्धमा १२ वटा बुँदामा कमजोरी र समस्याहरु औंल्याएका छन् । नेपाल बीमा प्राधिकरणको ५५ ‍औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित बीमा दाबी भुक्तानीका समस्या र चुनौती तथा समाधानका लागि प्राधिकरणबाट भएका प्रयासहरू शीर्षकको लेखमा औंल्याइएको बीमा दाबी भुक्तानीमा देखिएका चुनौती तथा समस्याहरूको संक्षिप्त विवरण यहाँ उल्लेख गरिएका छन्  ।

१. उपयुक्त जोखिमाड्ढन नहुनु
बीमितले आफ्नो जीवन तथा सम्पत्तिको बीमा गर्दा सत्यतथ्यहरू प्रस्ताव फारममा उल्लेख गरी बीमक समक्ष पेश गर्नुपर्दछ । बीमित स्वयम् वा अख्तियारप्राप्त व्यक्तिले प्रस्ताव फारम पूर्णरूपमा भर्नु पर्दछ । बीमकले प्रस्ताव फारमलाई मूल्याङ्कन गरी आउनसक्ने जोखिमलाई विश्लेषण गरी बीमाशुल्क लिएर मात्र बीमा गर्नुपर्नेमा बीमकहरूबाट पूर्णरूपमा प्रस्ताव फारम नभरी, बीमाशुल्क नलिई वा घटी लिई बीमा गराउने, बीमा दरको पालना नगर्ने, कतिपय अवस्थामाा घटना भइसकेपछि मिलोमितोमा बीमा गर्ने जस्ता कारणले गर्दा भविष्यमा बीमा दावी भुक्तानीमा समस्या आउने गर्दछ । जोखिमाड्ढन सम्बन्धी अद्यावधिक कार्यविधि नहुनु र बीमकहरूबीच अस्वस्थ प्रतिस्पर्धा भई जोखिमाड्ढन प्रभावकारी रूपमा हुननसक्ने कारणले दाबी भुक्तानीमा समस्या आउने गरेको पाइन्छ ।

२. बीमितमा बीमा सम्बन्धी चेतनाको कमी
बीमा गर्ने वस्तुमा कस्ता प्रकारका जोखिमहरू आउन सक्छन्, सो विषयमा बीमितलाई नै पूर्ण जानकारी हुने हुँदा सोही बमोजिम बीमालेखले रक्षावरण गर्नेगरी बीमालेख खरिद गर्नुपर्दछ । तर बजारमा अस्वस्थ प्रतिस्पर्धाका कारण बीमितले सही जानकारीको अभावमा पर्याप्त रक्षावरण हुनेगरी बीमालेख खरीद गर्न नसक्नुले पनि समस्या निम्त्याएको पाइन्छ । स्वतःस्फूर्तरूपमा आफ्नो आवश्यकता पहिचान गरी बीमालेख खरिद गर्नुपर्नेमा वाध्यात्मक रूपमा वा करकापले बीमा गर्दा सही जानकारीको अभावमा दावी भुक्तानीमा समस्या देखिन्छ । तसर्थ आफ्नो जीवनको बीमा गर्दा आम्दानीको निरन्तरतामा विचार पु¥याउने र सम्पत्तिको बीमा गर्दा जोखिमको विश्लेषण तथा आफ्नो आवश्यकताका आधारमा बीमा गर्दा समस्या आउँदैन । बीमा बाध्यता होइन, आजको आवश्यकता हो भन्ने जनमानसमा चेतना अभिवृद्धि गर्नु ठूलो चुनौतीका रूपमा रहेको छ ।

३. बीमकको दाबी रजिष्टर अद्यावधिक नहुनु
बीमितले बीमा गरेको वस्तुको हानी नोक्सानी भएमा बीमकलाई निवेदन तथा सूचना दिँदा बीमकले क्रमानुसार दावीदर्ता किताबमा अभिलेख गरी सोको जानकारी दावीकर्तालाई दिनुपर्छ । दर्ता किताबमा दावी परेको मिति, दावीकर्ताको नाम, ठेगाना, सम्पर्क नम्बर, दावीकर्ताको बीमितसँगको सम्बन्ध, दावी सम्बन्धी सूचना गरेको माध्यम, दाबी परेको बीमाको विषय, मृत्यु वा क्षति भएको स्थान आदि बीमकले अद्यावधिक राख्नु पर्दछ । तर बीमकको दावी रजिष्टर अद्यावधिक नहुनाले बीमकबाट दाबी प्रकृया समयमै अगाडि नबढाउनुका साथै अनेक बहानामा बीमितलाई अल्झाउनु जस्ता कारणले दावी भुक्तानी नहुने वा ढिलाई हुनेगरेको देखिन्छ ।

४. तोकिएको समयमा दाबी भुक्तानी नहुनु
बीमकले जीवन बीमाको अन्तिम किस्ता भुक्तान गरिसकेको बीमितको नाममा किस्ता भुक्तान गरेको मितिले १५ दिनभित्र त्यस्तो जीवन बीमाको दाबी भुक्तानी गर्नको लागि चाहिने बीमालेख कागजातहरू समेत संलग्न राखी दाबी भुक्तानी गर्न आउनको निमित्त भुक्तानी पूर्जी जारी गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । बीमितले सो बमोजिम पेश गरेमा बीमकले आवश्यक जाँचबुझ गरी जीवन बीमालेख अवधि भुक्तान भएको सात दिनभित्र निजलाई जीवन बीमाको दाबी भुक्तानी दिनुपर्ने कानूनी व्यवस्था भए तापनि बीमकले समयमा भुक्तानी पूर्जी बीमितलाई जारी नगर्नु वा गरे तापनि बीमितले जानकारी नपाउनु, बीमितले प्रस्ताव फारममा उल्लेख गरेका ठेगाना तथा सम्पर्क नम्बर फरक पर्नु र बीमितले पनि समयमै कागजात पेश नगर्दा दाबी भुक्तानीमा ढिलाई भएको देखिएको छ ।

निर्जिवन बीमातर्फ, निर्जीवन बीमा गर्ने बीमितले बीमालेख बमोजिमको दाबी गर्नुपर्ने भएमा त्यससम्बन्धी सम्पूर्ण विवरणहरू खुलाई बीमक समक्ष निवेदन दिनुपर्ने हुन्छ । यसरी निवेदन प्राप्त भएपछि बीमकले जाँचबुझ गर्न आवश्यक परेमा तुरून्त सर्भेयर खटाउनुपर्छ । सर्भेयरले आवश्यक जाँचवुझ गरी १५ दिनभित्र बीमकको दायीत्व निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमक समक्ष पेश गर्नुपर्छ र त्यसबारे बीमालेखको शर्त तथा सुविधाको अधिनमा रही बीमितले पाउन सक्ने रकम उल्लेख गरी बीमितलाई जानकारी दिनुपर्छ ।

सर्भेयरले बीमक समक्ष प्रतिवेदन पेश गरेको साधारणतया २१ दिनभित्र बीमकले दायीत्व ठहर गरी बीमितलाई निर्जीवन बीमाको दाबी भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । बीमकले समयमा सर्भेयर नखटाउनु, सर्भेयर खटेर गए पनि ढिला गरी घटनास्थलमा पुग्नु, सर्भेयरले एकैपटकमा सबै कागजात तथा विवरण माग नगरी पटक पटक माग गर्नु, भौगोलिक कठिनाईले समयमा सर्भेयर नपुग्नु, बीमितले समयमा कागजात तथा प्रमाण विवरण बुझाउन नसक्नु, दाबी पुष्टि गर्ने कागजात तथा अन्य सम्बद्ध कागजात बीमितले उपलब्ध गराउन नसक्नु जस्ता कारणहरूले दाबी भुक्तानीमा समस्या भएको पाइन्छ ।

५. सर्भेयरले दिएको प्रतिवेदन बमोजिम दाबी भुक्तानी नहुनु
बीमा दाबीका सम्बन्धमा सर्भेयरले दिएको प्रतिवेदन बमोजिम बीमकले दावी भुक्तानी नगर्ने गरेको भन्ने आम बीमितको गुनासो रहेको छ । सर्भेयरको प्रतिवेदनमा उल्लेखित दावी रकममा पनि यदाकदा बीमकबाट हुनु, जसले गर्दा दाबी भुक्तानीमा समस्या देखिन्छ । सर्भेयरले गरेको कामप्रति चित नबुझी अर्को सर्भेयर खटाउनु, जसले गर्दा एकले गरेको कार्यमा अर्कोलाई चित्त नबुझनु जस्ता कारणले पनि दाबी भुक्तानीमा ढिलाई हुने गर्दछ ।

६. बीमकका पक्षहरूबीच पर्याप्त समन्वय नहुनु
दावी सम्बन्धमा प्रत्यक्ष सरोकार राख्ने पक्षहरू बीमित, बीमक र सर्भेयरबीचको सम्बन्ध र खेल्ने भूमिका अहम् हुन्छ । आफूले गरेको दाबीका सम्बन्धमा आवश्यक प्रमाण जुटाउने तथा पुष्टि गर्ने जिम्मेवारी स्वतः बीमितमा निहित हुन्छ । सर्भेयरले क्षतीको निरीक्षण गरी मूल्याङ्कन सहितको प्रतिवेदन समयमा बीमक समक्ष पेश गर्नु पर्दछ । त्यस्तै, बीमकले पनि प्रतिवेदन बमोजिम आर्थिक क्षतिको जाँचबुझ गरी अप्ठ्यारोमा परेका बीमितलाई दाबी भुक्तानी गर्नु बीमकको कर्तव्य तथा दायीत्व हो । तर यी पक्षहरूबीच पर्याप्त समन्वयको अभावले दाबी भुक्तानीमा समस्या देखिन्छ ।

७. नजिर स्थापित भईसकेका दाबी समयमा भुक्तानी नहुनु
बीमा ऐन, २०७९ ले बीमा दायित्व निर्धारणका सम्बन्धमा बीमक विरूद्ध बीमितले दिएको उजूरीमाथि निर्णय गर्ने अधिकार नेपाल बीमा प्राधिकरणलाई रहेको छ । तेश्रो पक्ष बीमा दावी सम्बन्धी नजिर, तेस्रो पक्ष दायित्व अन्तर्गत सवारीधनीमाथि कारवाही भएका बीमा दावी सम्बन्धी नजिर, बीमालेख जारी भइसकेपश्चात् बीमाशुल्क भुक्तानी गरेको नदेखिए तापनि बीमकको करारीय दायित्व बहन गर्नुपर्ने नजिर, एक्सग्रासिया, नन्स्टेण्डर, जस्ता नजिर नेपाल बीमा प्राधिकरण, उच्च अदालत र सर्वोच अदालतबाट निर्णय भई स्थापित नजिर लगायत अन्तर्राष्ट्रिय नजिर बमोजिम पनि बीमकबाट दावी भुक्तानी नहुनु वा दाबीमा ढिलाई हुनु । जसले गर्दा बीमित मर्कामा परेको पाइन्छ ।

८. बीमकसँग दाबी फर्छ्यौटको स्पष्ट र उपयुक्त योजना नहुनु
बीमकले दाबी फर्छ्यौट कार्यविधि बनाई लागू गर्नुपर्छ । बीमकले बीमालेखमा उल्लेख भए वमोजिम बीमा दाबी पेश हुन आएमा त्यस्तो दाबीको क्षति मूल्याङ्कन गराउनुपर्ने भए सो गराई र क्षति मूल्याङ्कन गराउनु नपर्ने भएमा त्यसरी पेश भएको मितिबाट तोकिएको अवधिभित्र दाबी फर्छ्यौट गर्नुपर्छ । तर बीमकले स्पष्ट र उपयुक्त कार्ययोजनाको अभावले दाबी भुक्तानीमा ढिलाई हुन जान्छ ।

बीमकले सङ्गठनात्मक संरचनाभित्र पर्याप्त दक्ष जनशक्ति नियुक्ति गर्न नसक्नाले, जनशक्तिको आभावमा कार्यवोझले भएको जनशक्तिबाट दावी कार्य सम्पन्न हुन नसक्नुको साथै दाबी भुक्तानीको लागि बीमकसँग तरलताको समस्या तथा त्रैमासिक ,अर्धवार्षिक वा वार्षिक ब्याज आम्दानी हुन्छ भनेर रोकेर राख्नुको साथसाथै भएको मौज्दातबाट दाबी भुक्तानी नगर्नु । यसका साथै कस्ता कस्ता प्रकारका दावीहरूलाई कसरीे प्राथमिकतामा राखी फछ्र्यौट गर्ने तथा कस्ता दाबीहरूलाई कति समय सीमाभित्र फर्छ्यौट गर्ने त्यस्को कार्ययोजना बीमकसँग नहुँदा दाबी फर्छ्यौटमा समस्या हुने गर्दछ ।

९. अधिकार प्रत्यायोजन नहुनु
बीमकले बीमालेखमा उल्लिखित अवधिभित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्दछ । बीमकले सबै दाबी भुक्तानीलाई केन्द्रिकृत गर्दा स्वभाविक रूपमा दावी भुक्तानीमा ढिलाई तथा समस्या आउन सक्छ । केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयहरूका बीचमा दाबी भुक्तानीको अधिकार प्रत्यायोजन हुनु पर्दछ । त्यस्तै दाबी भुक्तानीलाई छिटोछरितो फर्छ्यौट गर्न कार्यकारी प्रमुखले दाबी भुक्तानी विभागका प्रमुख लगायत प्रदेश प्रमुख र शाखा प्रमुखलाई पनि अधिकार दिनुपर्छ । तर विडम्बना केही बीमकहरूमा दाबी उपसमिति, प्रमुख कार्यकारी अधिकृत तथा दावी विभागका प्रमुखहरूलाई न्यून रकमको सीमासम्म अधिकार प्रत्यायोजन भएकाले गर्दा दाबी भुक्तानीमा सरलता भएको पाइँदैन । बाली, पशुपन्छी, कृषि तथा लघुबीमातफ स–साना दवीलाई अख्तियार प्रत्यायोजन गरी शाखाबाट शीघ्र फछ्र्यौट गर्नुपर्ने व्यवस्था बीमकले गर्नुपर्छ ।

१०. तोकिएको सीमाभन्दा बढी सर्भेयर खटाउनु
दावी भुक्तानी मार्गदर्शन, २०७६ ले नेपाल बीमा प्राधिकरणबाट सर्भेयरको इजाजतपत्र बहाल रहेको कुनै पनि व्यक्तिले कुनै एक बीमकमा वढीमा पाँचवटासम्म तथा संस्थागत सर्भेयरले १० वटासम्म सर्भे प्रतिवेदन बुझाउन बाँकी रहेको अवस्थामा पुनः सर्भेयर नियुक्ति गर्न पाइने छैन भन्ने स्पष्ट गरेको छ । तर सो व्यवस्था विपरित उल्लेख्य रूपमा सर्भेयरहरूसँग प्रतिवेदन बुझाउन बाँकी हँुदाहँुदै थप सर्भेयरलाई कार्यमा खटाउनुले गर्दा सर्भेयरसँग भएको कार्यवोझले समयमा बीमक समक्ष प्रतिवेदन पेश नगर्दा बीमितले दावी भुक्तानी पाउन समस्या परेको देखिन्छ । केही बीमकहरूले सीमित सर्भेयरहरूलाई मात्र प्रयोग गर्ने गर्दा अरू सर्भेयरले अवसर पनि पाउन नसकेको गुनासो रहेको छ ।

११. पुनर्बीमकबाट पुनर्बीमा करार बमोजिम दाबी भुक्तानी नहुनु
पुनर्बीमा गर्ने बीमकले बीमा व्यवसाय गर्ने बीमक र पुनर्बीमा व्यवसाय गर्ने बीमकबीच भएको पुनर्बीमा करारको आधारमा पुनर्बीमा दाबी वापतको रकम भुक्तानी गर्नुपर्छ । पुनर्बीमकबाट दाबी भुक्तानीका समयमा अनावश्यक कागजपत्र माग गर्नु,पुनर्बीमा सम्झौतालाई आफ्नो अनकूल व्याख्या गर्नु जस्ता प्रकृयागत कारणले गर्दा पनि दाबी भुक्तानीमा समस्या हुन जान्छ ।

१२. निर्णय कार्यान्वयन नहुनुः
नेपाल बीमा प्राधिकरणमा परेका दाबी उजूरीमाथि निर्णय भएपछि सो निर्णय अनुसारको फैसलामा बोर्ड सदस्यहरूले हस्ताक्षर गरी निर्णयको प्रति उपलब्ध गराएको मितिबाट तीन कार्य दिनभित्र निर्णय कार्यान्वयनका लागि पक्षहरूलाई पत्राचार गरिए पनि बीमकले निर्णय कार्यान्वयनको पत्र प्राप्त गरेपश्चात् अनेक बहानामा बीमितलाई दाबी भुक्तानी नगर्ने गरेका प्रशस्त उदाहरणहरू नेपालको बीमा बजारमा देखिन्छ ।

भैसकेको निर्णय बमोजिमको दावी भुक्तानी रकम नदिनु, दिए पनि ढिलो दिनु, दाबीमा वार्गेनिङ्ग गर्नु, प्राधिकरण र उच्च अदालत समेतको फैसला कार्यान्वयन नगर्नु जस्ता दाबी भुक्तानीमा अनेकौं समस्याहरू रहेको देखिन्छ ।

हुनेखाने र उच्च हैसियत भएका व्यक्तिहरूले तुरून्तै बीमकबाट दाबी पाउने र निमुखा पहुँच नभएका व्यक्तिले दाबी भुक्तानी पाउन संघर्ष गर्नुपर्ने अवस्था रहेको भन्ने गुनासाहरू आउने गरेका छन् । निर्णय समयमै कार्यान्वयन नगर्ने बीमकलाई प्राधिकरणबाट उचित कारवाही पनि हुन सकेको छैन । दाबी भुक्तानी नै बीमाको विश्वास भएको हुनाले निर्णय वा फैसला भएपछि दाबी भुक्तानी गर्नु बीमकको कर्तव्य हो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS