IME Life

आगामी दुई वर्षपछि इन्स्योरेन्सको बुल देख्न पाइन्छ, लगानीकर्ताले रिटर्न पाउँछन : सीईओ पाण्डे

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बीमा क्षेत्रमा छुट्टै छवि स्थापित गर्न सफल व्यक्तित्वमा गनिन्छन्, शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डे । कुशल नेतृत्व लिन अब्बल पाण्डेले बीमा क्षेत्रमा निरन्तर तीन दशकभन्दा लामो समयको कार्यानुभव सँगालेका छन् भने उनले निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन संस्था नेपाल बीमक संघको पनि दुई कार्यकाल सफल नेतृत्व गरिसकेका छन् । तत्कालीन एभरेष्ट इन्स्योरेन्सको पनि नेतृत्व गरेका पाण्डे शिखर इन्स्योरेन्सका संस्थापक सीईओ हुन् । उनी नेपालको पहिलो र सरकारी लगानीसमेत रहेको पुनर्बीमा कम्पनी नेपाल रिइन्स्योरेन्सको पनि सञ्चलाक समितिमा पनि स्थापनाकालदेखि नै आबद्ध भए । प्रस्तुत छ उनै सीईओ पाण्डेसँग ‘इन्स्योरेन्स टक’ कार्यक्रममा भएका संवादका सम्पादित अंशः

प्रतिस्पर्धी कम्पनीहरु जुटेर, मर्जरमा गएर शेर भएर आइरहेका छन् । कतिको मुस्किल लागेको छ प्रतिस्पर्धा ?

Prabhu
Crest

यो त पासिङ फेज हो, हुन्छ । हुनु पनि पर्छ । नयाँ अवसरको सिर्जना हुन्छ। बजारको आयामहरुमा परिवर्तन आउँछ । मैले त यसलाई सकारात्मक रुपमा लिएको छु ।

पुँजी बढेपछि व्यापारको साइज बढ्नुपथ्र्यो, अलि–अलिमात्रै बढेको हो र ?

त्यसमा यसरी हेर्नुपर्छ । पहिले १० करोड रुपैयाँ चुक्तापुँँजी पनि बढी थियो होला । विस्तारै २५ करोड भयो १०० करोड भयो । व्यापार बढ्दै गएपछि त्यहीअनुसारको परिवर्तन हुँदै जान्छ । अहिले अलि पहिले आयो होला तर यसले पनि बजारमा सीईओहरुलाई बीमाको नयाँ दायरा खोज्न र बीमाको दायरा बढाउन सहयोग नै गर्छ ।

तर, तपाइँ त नियामकले पुँजी बढाउ भन्नुभन्दा पहिले नै पुँजी बढाउँदै जानुभएको थियो नि ? त्यो ज्ञान कसरी प्राप्त भएको थियो ? कि सुटुक्क सूचना लिनुभएको थियो ?

भगवानले कहाँबाट साथ दिनुहुन्छ थाहा छैन । म लक्की पनि छु कतिपय कुरामा । हामीले नयाँ बीमा ऐन आउने बेलामै ४०० करोडको पुँजी परिकल्पना हुन थालेका थिए, त्यतिबेला नै सुटुक्क एउटा भान दिएको थियो । क्यापिटल बढाउने कुरा सीईओका लागि पनि सजिलो कुरा होइन, त्यसैले हामीले बीमाको दायरा बढायौँ । पहिलेका विवरण हेर्नुभयो भने हाम्रो नाफा कम छ ।

किन नि ?

किनभने पहिले नै हामीले एक्सपान्सको मोडमा गयौँ । नयाँ नयाँ बीमालेखहरु र नयाँ क्षेत्रको खोजीमा लाग्यौँ । त्यस्ता कुराले कम्पनीको खर्च बढ्छ । एउटा बीमालेख बनाउन २० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च हुन्छ ।

यस्तो क्यापिटल प्यान लिँदा बोर्डमा, साधारणसभामा दुःख पाइन्न ?

त्यो त कन्भिस गर्ने कुरा हो । हाम्रो बोर्डले हामीलाई साथ दिएको छ । त्यसै कारणले पनि हामीलाई सजिलो भएको छ । तर, हामो ईपीएसहरु कम छ, डेभिडेन्टहरु विगतमा राम्रै दिएकाले अहिले पनि लगानीकर्ताहरुलाई यो मान्छेले गर्न सक्छ भन्ने विश्वास छ । हुन त आउने २ वर्ष हामीलाई अलिकति गाह्रो होला किनभने त्यतिधेरै खर्च हामीले गरिसकेका छौँ नि त । आजको दिनमा ६५० जना कर्मचारी राखेर अगाडि बढ्न सक्नु र १२० शाखा सञ्जाल राख्नु भनेको त त्यसमा निकै खर्च लाग्ने कुरा हो । अझ यस्तो पुरानो बीमा कम्पनीले धान्न सक्ने कुरा पनि थिएन । अहिले हामीले सकेका छौँ ।

तर, जुन रणतीतिका साथ तपाइँहरुले र नियामक निकायले चुक्तापुँजी बढाउनुभयो, त्योअनुसार केको आकार बढेन भने समस्या निम्तिन सक्छ । कतिपय सीईओहरुले ४–५ प्रतिशतमा जानुपर्ने व्यापार २–३ प्रतिशतमा खुम्चिन सक्छ भन्नुभएको छ ?

त्यसरी जानु हुँदैन भन्छु म । २ प्रतिशतमा खुम्चिने अहिलेको अवस्थामा देखिएला तर त्यसलाई बढाउने प्रयास पनि त गर्नुपर्यो नि ।

तपाइँलाई थाहै छ तेस्रो पक्ष बीमा, घरको ऋण लिने बीमाहरु अनिवार्य छन् । त्यस्ता बीमाले तपाइँहरुको व्यापार पनि सुनिश्चित गर्दिएको छ । त्यसरी व्यापार सुनिश्चित खोज्ने अरु एरियाहरु कहाँ–कहाँ छन् ?

सुनिश्चित बिजनेस खोज्ने अवस्था हामी आफैँले सिर्जना गर्नुपर्छ । बीमा भनेको जोखिम बहन गर्ने पहिलो बजार त हो नि, होइन र ? नेपाल बैंकको स्थापना पनि त्यसरी नै भयो । बैंकको लोनले गर्दा फोर्स मार्केट आयो । मैले त स्वेच्छाले बीमा गराउने वातावरण सिर्जना गराएको छु नि । कृषि बीमा हामीलाई लादिएको भनिए पनि मानिसले बीमा बुझ्ने अवसर पाए । बीमा भनेको त रिक्स मिटिगेट गर्ने टुल रहेछ भन्ने नागरिकहरुले थाहा पाउनु भएको छ ।

अहिले त तपाइँहरु आफैँ सरकारबाट पाउनुपर्ने प्रिमियमबापतको रकम नपाएर रोइकराइ गर्नुभएको अवस्था छ नि ?

अब सरकारको विश्वास गर्न नसक्ने वातावरण बन्दै गयो भने त्यो अर्कै कुरा हो, त्यो भोलिको कुरा हो । एउटा साधारण नागरिकदेखि सबैले सरकारको विश्वास त गर्नैपर्यो । राष्ट्र नै सरकारको प्रोपर्टी हो नि ।

जस्तो यो कृषि बीमालाई सरकारको प्रिमियममा योगदान रहेन भने यही फर्म्याटमा निरन्तारता दिने हो र ?

धेरैमा छ । कृषि बीमामा तपाइँले हेर्नुभयो भने क्याटल, बर्ड्स, एनिमलहरुमा मान्छेको विश्वास बढेको अवस्था छ । पल्ला घरको साइँलाको गाई मरेको थियो, नयाँ गाई कसरी किनेछ भनेर सोध्छ के ? अनि ए बीमाले पो तिरेछ भन्ने खासखुस भएपछि मान्छेहरुले बीमा के हो ? बुझ्न थाहा पाइसकेका छन् ।

अनि बालीमा नि ?

बाली बीमामा केरामा समस्या छैन । धानमा हामीले गर्नुपर्नेछ । स्याउको हेर्नुभयो भने आजभन्दा ६ वर्षअघि मैले २ लाख रुपैयाँबराबरको बीमा गरेको आजको दिनमा १७ करोड रुपैयाँबराबरको बीमा गराएको छ । मेरो कर्मचारीले २५ करोड रुपैयाँसम्मको गर्छु भन्छन् । त्यहाँ जोखिम पनि छ । असिना र रोगको जोखिम पनि छ नि । अहिले मानिसहरु कृषि बीमामा आकर्षित भएको अवस्था छ । बीमा गरे पनि नगरे पनि कम्तीमा पनि ५० देखि ६० प्रतिशत व्यक्ति अहिले कृषि बीमामा आबद्ध भएको अवस्था छ ।

त्यसले अर्को फाइदा भनेको घर बीमा पनि बढेको छ । मैले एउटा सानो उदाहरण दिन चाहन्छु । कालीकोट, मुगु, डोल्पाहरुमा स्याउ बीमा गर्दा मेरा स्टाफहरुले अलिकति फोर्स गरेछन् । घर पनि बीमा गर्नुपर्छ भनेछन् । उनीहरुलाई बीमाले नचाहिँदो दुःख दिन्छ होला भन्दै बीमा गरेका उनीहरुले जोखिम बहन गर्नुपर्यो र बीमाले पैसा पनि दियो । त्यो एरियाको सबै पालिकाले पनि भर्खर बीमा गर्ने प्रचलन बढाएका छन् ।

बीमा पोलिसीअनुसार नाफा–घाटाको हिसाब गर्नुपर्ने हो । यो कृषिको, पशुपन्छी, बाली बीमा नाफाका लागि हो कि समाज सेवाका लागि हो ?

आजको दिनमा यो लगानीको हो। भोलिको दिनमा त प्रतिफल हो नि । यसले बीमाको दायरा बढाएको छ । म सधैँ भन्छु सरकारको प्राथमिकतामा बीमा कहिल्यै पनि परेन । पछिल्लो १–२ वटा बजेट भाषणमा यो बीमा भन्ने शब्द बजेट भाषणमा परेको छ नत्र कहिले पनि यो प्राथमिकतामा परेन ।

बीमालाई जहिल्यै पनि गाली गर्ने माध्यम बनाइयो । अहिले भनेको सीमित वर्ग जसको नियत ठीक छैन, त्यस्ता १–२ प्रतिशतले गुनासो गरेका छन् । त्योभन्दाबाहेक बीमाले तिरेको छ । आज मेरो कम्पनीले वर्षको २० देखि ३० हजार क्लेम तिर्छ र हामीले २०० देखि २०० करोडको क्लेम तिर्छौं । बीमाले तिर्छ, तिरेको छ । बीमा राष्ट्रको आवश्यक छ । जब भूकम्प गयो राष्ट्र सहायता लिन बाहिर जानुपर्यो नि, अब त्यसरी जानुपर्दैन । मानवीयता र खाद्यान्नका लािग बाहिरबाट सहयोग लिनुपर्ला तर राष्ट्र पुनर्निर्माणका लागि बीमाबाहेक अरु माध्यम हुँदैन ।

तपाइँले अघि सरकारले बीमा बुझेन भन्नुभएको थियो । सरकारले झ्याप्पै बीमा बुझेको थियो, त्यसैले कोरोना बीमा बजेटमा राखेको थियो । त्यो तपाइँहरुका लागि गलपासो भएको छ ?

यसमा म के भन्छु भने बीमा उद्योगले कहाँ गल्ती गर्यो भन्छु क्या ? तपाइँको एउटा परिकल्ना गर्नुहोस् न एउटा तपाइँ घरबाट बाहिर निस्किने वातावरण थिएन ।

अस्पतालमा बसेका परिवारका सदस्यलाई खाना पुर्याउन घरको सदस्य नै जानुपर्ने बाध्यता थियो । दुर्गम ठाउँको मान्छेले काठमाडौंको टेकु अस्पतालमा पुर्याउन त्यहाँ खानाको बन्दोबस्त गर्न उसलाई खर्च लाग्थ्यो । लघु बीमाका रुपमा हामीले त्यसलाई ल्यायौँ, त्यो बीमा अत्यन्तै चल्यो । तर, बीमा पोलिसी धेरै नै चलेपछि हामीले फेरि भनेका थियौँ अब हामीले सक्दैनौँ, हामीले धान्न सक्ने त गरिसक्यौँ । तत्कालीन नेपाल सरकारले मापदण्ड ल्यायो, हामीले सरकारलाई विश्वास गर्यौं। हामीले कहाँ गल्ती गर्यौं ?

रिइन्स्योरेन्समा त सरकार थियो ?

हो नि सरकार नै थियो । आजको दिनमा १० अर्ब रुपैयाँ भनेको सरकारलाई कुनै ठूलो कुरा होइन । हामीलाई १ वर्षमा उठ्ने करमा समायोजन गर भन्यो भनेर वातावरण दियो भने हामी १५ देखि २० दिनमा तिर्छौं । यसले अर्थतन्त्र चलयमान हुन्छ, बीमाको विश्वास बढ्छ ।

तपाइँहरुले सरकारसँग गरेको पछिल्लो नेगोसिएसन के थियो ?

हामीले कुनै नेगोसिएसन गरेको छैन । जे निर्देशन आएको छ, हामीले त्यही पालनामात्र गरेका छौँ । निर्देशनमात्र पालना गरेका छौँ । बीमा उद्योग नेगोसिएसन गर्ने स्थितिमा छैन ।

तपाइँहरु गएर लबिङ गर्ने, मार्केट बिगार्यो भन्ने केही अवस्था छ कि ?

मेरो एउटा सानो प्राइभेट कम्पनीको आज कृषिमा बीमाको ६० करोड रुपैयाँको अनुदान लिन बाँकी छ, चुप लागेर बसिरहेको छु । सरकारले देला अनि लिउँला भनेर बसिरहेका छौँ, कुनै नेगोसिएसन भएको छैन ।

कृषि तथा पशुपन्छीको बीमा पोलिसी बेच्न छाड्नुभएको हो ?

छैन । यसरी पैसा आएन भने त्यो दिन पनि आउन सक्छ ।

त्यस्तो परिकल्पना नगरौँ, सरकारले चाँडै पैसा देला नि ?

हाम्रो सरकारसँग सधैँ निवेदन पनि त्यही नै छ ।

बजारमा तपाइँलाई बजारमा अब्बल कम्पनीको अब्बल सीईओ भन्छन् । त्यो १ नम्बरमा पुग्न एउटा जोखिम हो, त्यहाँ टिक्नु अर्को जोखिम हो । कसरी त्यहाँ रहिरहने ?

होइन, म त एउटा लक्की मान्छे छु । मुख्य कुरा भनेको बीमाको दाबी समयमा नै तिर्नुपर्छ । कति कुरामा मानिसलाई लगानी गर्न पनि पछि हट्नु हुन्न । सही बाटोबाट दाबी भुक्तानी गर्ने हो भने बीमाको बजार यसै फस्टाउँछ नि ।

ननलाइफको फिक्स प्राइस मार्केटजस्तो छ । तपाइँहरुले प्रतिस्पर्धामा के–कस्ता माध्यम अपनाउनु हुन्छ ?

मैले विश्वासको वातावरण जोगाएको छु । मैले दाबी तिरेको छु । भुइँचालो आयो, दाबी तिरेको छु । घर–घरमा गएर किसानका गाईवस्तुको २० हजारदेखि लाखाँै तिरेको छु । बीमा दुःखको साथी हुनुपर्छ ।

अलि–अलि रेट कटिङमा पनि दौडादौड गर्नु हुन्छ ?

रेट कटिङ गर्नुपर्दैन । त्यो मेरो आफ्नो अनुभव हो । जब दाबी समयमा तिरिन्छ तब रेट कटिङ आवश्यक पर्दैन । मैले बाध्य भएर पनि इगोमा परेर तीव्र प्रतिस्पर्धामा कहिलेकाहीँ पर्छ होला तर म त्यस्तो रेट कटिङ गर्न दिन्नँ ।

बीमा दुःखको साथी भन्नुभएको थियो । झन गरिब हुन दिँदैन भन्नु भएको थियो । बीमाले हालसम्म पहुँचवालालाई नै लिएको देखिन्छ । गरिबलाई बीमासम्म जोड्ने उपाय के होला ?

होइन । यो त नीति नै आउनुपर्छ । जसरी कृषि बीमा लादियो, त्यसरी नै ल्याउनुपर्छ । मैले काठमाडौँको छिमेकी जिल्लासहित डोप्पा मुगु र पूर्वमा पनि पुगे । त्यो क्यापिटल बढेपछि नै सम्भव भयो । मेरो खर्च गर्ने क्षमता बढेपछि नै म गएको हो । पहिला हामी सफ्टवेरमा १० लाख रुपैयाँ हाल्न खर्च गर्न गाह्रो हुने अवस्थाबाट लाखौँ रुपैयाँ डलरबराबरमा रिप्लेस पनि भयौँ । आज हामी ५ करोड रुपैयाँमात्रै प्रविधिमा खर्च गर्ने भएका छौँ । यो हाम्रो पुँजी बढेकाले हो नि । यसको प्रतिफल भोलि आउँदा तर २ वर्षपछिको बीमा बजार नै बेग्लै बनिसकेको हुन्छ ।

 

जस्तै, नागरिकहरु निरपेक्ष गरिबीको रेखामुनि पनि छन् । त्यसमा बीमाबाट के गर्न सकिएला ?

उद्यमी बनाउनुपर्यो उनीहरुलाई । सरकारको भूमिका यसमा आवश्यक छ । बीमा भनेको भोलिका लागि हो । आजको आवश्यकता नपुगेका कारण, छोरालाई पढाउन, लगाउन नसकेका कारण उनीहरुले बीमा नगर्दिएका हुन् नि ।

जस्तो गरिबले इँटा लगाएको, खर लगाएको, खाबा भएका घरको बीमा गर्नुहुन्छ कि हुन्न ?

एकदम गर्छौं ।

कसरी गर्नुहुन्छ ?

हामीले स्थानीय निकाय र पालिकासँग सहकार्य गरेर रासकोटमा ३ हजार घरको बीमा गरेका छौँ । त्यो पैसा खर्च भयो भनेर उहाँहरुलाई उद्यमी पनि बनाउने प्रयास गरेका छौँ । प्रत्येक घरमा एउटा ओखरबोट बाँडेका छौँ । एउटा ओखरले ३ वर्षदेखि ४ वर्षमा २० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँको आम्दानी गर्छ । भोलि हामीले त्यहाँको अवस्था हेरेर त्यस्तो सामाजिक काममा अझै जान्छौँ ।

सबै भवनको बीमा गर्न नेपालका बीमा कम्पनीहरु सक्षम छन् त ?

गर्न सकिन्छ । कुनै इन्स्यू नै होइन त्यो । तर, त्यसमा सरकारले पनि सहुलियत गर्नुपर्यौ ।

बैंकबाट ऋण लिएको घरको मात्र बीमा गर्नुहुन्छ भन्ने छ नि ?

त्यस्तो होइन । बीमा भनेको त बानी पार्नुपर्छ । मेरो एकजना भतिज आउनुभएको छ बाहिरबाट, उहाँको तलबबाट नै शुल्क काटिएर घर बीमा हुने व्यवस्था गरिएको रहेछ । हाम्रो पनि करमा केही छुट दिएर हुन्छ कि मान्छेलाई अनुदान दिएर बीमाको वातावरण बनाउनुपर्छ । एक दिन जोखिम त आउँछ, आउँछ ।

दाबी भुक्तानी प्रक्रियामा बीमितहरुको गुनासो देखिन्छ । विभिन्न कागजी रिपोर्टहरु माग्दा बीमितहरुलाई झन्झट देखिन्छ नि ?

यसमा धेरै गर्नुपर्ने आवश्यकता आइरहेको छ । हाम्रोमा रहेका विभिन्न निकायले गरेको व्यवस्था नै यस्तै छ । कुनै गाडीको पूर्ण क्षति हुँदा दर्ता खारेको प्रक्रिया अनिवार्य चाहिन्छ । तर, अहिले बीमा गर्ने बेलामा केवाईसी नै चाहिने अवस्था आएको छ । यसले भोलि नेसनल आईडीले नै काम हुन सक्छ । भोलिको दिनमा यो सरलीकृत बन्दै जान्छ । यस्तो बेलामा सर्भेयर (बीमा मध्यस्तकर्ता)को भूमिका महत्वपूर्ण हुन्छ । सर्भेयर बीमा कम्पनीको मान्छे होइनन्, उनीहरुले निष्पक्ष काम गर्ने लाइसेन्स पाएका हुन्छन् ।

घर भत्किँदा बीमा कम्पनीले गरेको बीमालाई हेर्ने हो । सर्भेयरले सहजीकरण गर्नुपर्यो, इन्जिनियर बोलाएर जटिल बनाउने होइन । उहाँहरुको कार्यशैलीमा पनि थोरै परिर्वतन ल्याउन जरुरी छ । बीमितलाई नै काजग माग्नुहुन्छ । सर्भेयरले गर्नुपर्ने काम पनि छन् । हिजोको भन्दा आज सहज भएको छ । हामीले गाडी फुटेको छ, ऐना खत्तम भएको छ भने तेस्रो पक्ष नमागी सिध्याइदेउन भन्छौँ । हामीले देख्दा–देख्दैको कुरामा प्रहरीको रिपोर्ट पनि माग्दैनौँ । यसले बीमा सहज भएको छ । गृहकार्य हुन बाँकी पनि छन्, अब हामीले सर्भेयरहरुसँग पनि छलफल गर्छौं ।

सरकारले देशभर निर्माण भइसकेका र अब निर्माण हुने सार्वजनिक संरचनाको बीमा गर्ने भनेर लागिपरेको छ । त्यसको लाभ कसरी उठाउने ?

सैद्धान्तिक रुपमा मात्रै भनेर भएन । व्यवहारिक रुपमा सरकारको निर्णय जानुपर्छ । बीमा कम्पनीहरुले गियर–अप गरिसकेका छन्, क्यापिटल बढिसकेको छ, भोलिको दिनमा रिटर्न दिन तयार छन् । हामी त एक किसिमले खुसीले आकुल–व्याकुल भएको अवस्थामा छौँ ।

अब अर्थतन्त्र चलायमान गराउन, यत्रतत्र छरिएर रहेका पुँजीलाई च्यानलाइज्ड गर्न, राष्ट्र सेवामा बीमाले सघाउँछ ।

अन्य केही निकायले पनि बीमा सेवा दिइरहेका छन् । स्वास्थ बीमा, ईपीएफ, सीईआईटीले बीमाको काम गरिरहेका छन् । उनीहरुलाई तपाइँहरुकोमा ल्याउने हो भने उनीहरुले गरेको काम तपाइँहरुले नै गर्न सक्नुहुन्छ ?

त्यसमा कुनै समस्या नै छैन । हामी तयार भएर बसेका छौँ । मेडिकल इन्योरेन्समा थर्ड पार्टीको हामीले काम गरिरहेका छौँ, हामी स्वास्थ्य बीमामा त जान्छौँ । अहिले जे गरिरहेका छौँ, हाम्रा लागि सुरुआती चरणको टेस्टिङ फेजको काम उहाँहरुले गरिराख्नुभएको छ ।

सरकारले स्वास्थ्य बीमा तपाइँहरुलाई दियो भने तपाइँहरुले सरकारले ग्यारेन्टी गरेका सुविधाहरु दिन सक्नुहुन्छ ?

त्यसमा दुईवटा पाटा छन् । एउटा समाजिक सुरक्षाको पाटो छ । रोगी र वृद्धहरुलाई त्यसमा सरकारले धान्नुपर्छ । अन्य चाहिँ कर्मसियल बीमा कम्पनीले तयार भएर काम गर्न सक्ने अवस्था छ ।

हामीले यो बीमा स्वतःस्फुर्त रुपमा लान्छौँ भन्नुभएको छ । बैंकास्योरेन्सलाई फेरि अघि बढाउन सकिने केही ठाउँ छ र ?

आवश्यकता छ र ? हामी त बैंकका माध्यमबाट घर–घरमा पुग्न सक्नुपर्यो । आजको दिनमा बैंकलाई डिस्ट्रिब्युसनको च्यानलका रुपमा प्रयोग गर्न सकिएला तर यसमा केही विकृति देखिएर नै यो रोकिएको होला नि । त्यसलाई नियन्त्रण गर्न सक्ने हो भने जान सक्किएला तर बीमा कम्पनी आफैँ घर–घर पुग्नुपर्छ ।

लाइफ इन्स्योरेन्सजस्तै तपाइँहरु घर–घर जान सक्नुहुन्छ । त्यो संरचना छ त ?

होइन, घर–घरको बीमा हुन्छ भने त अवसर छ भने प्रविधिको प्रयोगबाटै हामी पुग्छौँ । फोनबाटै पठाएको फोटोबाट हामीले दाबी तिरिरहेका छौँ । कृषि बीमाको हकमा पनि हामीले त्यही गरिरहेका छौँ । त्यहाँ त अझ कम प्रिमियम आउँछ, हामीले घर बीमा त निकै प्रोफिट हुने ठाउँ हो नि ।

पुँजी बढाएको बढाई हुनुहुन्छ । तपाइँको कम्पनी शिखर इन्स्योरेन्सका तर्फबाट लगानीकर्तालाई निकट भविष्यमा के–के दिनुहुन्छ ?

अब यसमा यस्तो छ हेर्नुहोस् । यो आर्थिक वर्षमा अकाउन्टिङ सिस्टम चेन्ज भयो । प्रोभिजनिङहरु नै चेन्ज भयो । त्यसैले अलि सकिएन । मैले साधारणसभामा नै भनिसकेको छु अबको २–३ वर्षमा कम्पनी एउटा मोडमा पुग्छ । अहिले हामी ग्रोथ मोडमा छौँ । हामीले खर्च गरेका छौँ । दायरा पनि बढाएका छौँ । हामीले ननप्रोफिटेबल बिजनेस पनि गरेका छौँ । कति बिजनेसहरु ट्रायलका रुपमा गरेका छौँ। जसको रिटर्न तुरुन्त नआउन सक्छ । मलाई २ वर्षजति लाग्छ। आगामी २ वर्ष पनि एउटा बुल आउँछ, हामी त्यसका लागि तयार भएर बसेका छौँ ।

इन्स्योरेन्सको बुल ?

हजुर, रिटर्नको बुल आउँछ । तपाइँले हिस्टोरिकल्ली हेर्ने हो भने सुरुमा आएका कम्पनीले आज ४–५ वर्षमा रिटर्न दिन थालेका छन् । हामीले पनि क्यापिटल एउटा लेभलमा पुर्याएर नयाँ कम्पनी खोलेको जसरी काम गरिरहेका छौँ । २ वर्ष भयो पुँजी बढाएको । अबको २ वर्षमा हाम्रो प्रतिफल राम्रो हुन्छ ।

लामो कुराकानी गरियो । अझै केही अन्तरकुन्तरमा छुटे भन्ने महसुस गर्नुभएको छ भने भन्नु होला ।

दुइटा कुरा । एउटा मैले बीमाको बजार विस्तार गर्न यसलाई प्रवर्द्धन गर्न सरकारको रोल निकै आवश्यक छ । सरकारले यसलाई आफ्नो प्राथमिकतामा राख्नुपर्यो र बस्नुपर्यो, बीमा कम्पनीसँग छलफल गर्नुपर्यो ।

अर्को भनेको हामी बीमा कम्पनीले हाम्रो व्यवसाय बढाउने हो भने दिगो विश्वासको वातावरण बढाउनुपर्छ । बीमा कम्पनीप्रति जनविश्वासको वातावरण बढाउनुपर्छ । यो जनविश्वासको वातावरण बढाउने भनेको दाबी तिरेरै हो । दाबीलाई सरलीकृत र सहजीकरण गरेर नै अगाडि बढ्यो भने हाम्रो इन्स्योरेन्स उद्योगको भविष्य एकदमै राम्रो छ जस्तो लाग्छ ।

इन्स्योरेन्स गर्नुहोस्, दाबी पाउने बेलामा डकुमेन्ट बुझाएर पैसा लिनुहोस् ।

बीमा गरौँ, ढुक्क बसौँ र बीमा राइट तरिकाबाट गरौँ । बीमालाई समय दिऔँ । हामीले बैंकमा लोन लिनुपर्यो भने महिनौँ, २ महिना दिन्छौँ । बीमाका लागि एक घन्टा दिन पनि मान्छेहरुलाई गाह्रो छ । त्यो गर्नुभएन भन्छु म ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

10%

उत्साहित

30%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS