IME Life
Beema Board

फुल टाइमरको काम खोस्ने पार्ट टाइमर सर्भेयरका किस्साहरु

SPIL
NIC ASIA
 २०७८ पार्टटाइम बीमा सर्भेयरहरुको ठुलो हुल भित्र्याइएको वर्ष 
पालिका भ्रमण अभियानको क्रममा निर्जीवन बीमा कम्पनीहरुले लामो समयदेखि दाबी भुक्तानी अड्काएको व्यापक गुनासो सुनिए पछि नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले दुईवर्ष अघि बीमा कम्पनीका सिइओहरुलाई कार्यकक्षमै डाँकेर धम्कीपूर्ण लवजमा भने पेण्डिङ रहेको दाबी नसल्टाए कारवाही गर्छु। नियामकबाट यस्तो चेतावनी आएपछि सिइओहरुले क्षति मूल्यांकन गर्ने जनशक्तिको अभावले दाबी भुक्तानीमा ढिलासुस्ती भई रहेको गुनासो गरे र समाधान खोज्न अनुरोध समेत गरे । प्रतिकृया स्वरुप प्राधिकरणले दुई सयको हाराहारीमा रहेको सर्भेयर लाइसेन्सको संख्या १२ सयभन्दा बढी पुर्याएर ईच्छुक भएजतिलाई तालिममा सहभागि गराएर इजाजत पत्र बाँडि दियो । २–३ सय को संख्यामा रहेका सर्भेयरको बजारमा १२ सय थपिंदा रत्नपार्कको एक फन्को लगाउँदै गर्दा ठोक्किने मध्ये कोही न कोही सर्भेयर पर्न सक्ने संभावना नकार्न नसकिने अवस्था भएको छ।
यति ठूलो संख्यामा इजाजत पत्र वितरण गर्नु अघि नै नियामक बीमा प्राधिकरणले नेपाली बजारमा यो संख्यामा सर्भेयर आवश्यक थियो थिएन भन्ने पक्षमा विचार गर्नुपर्थ्यो । सर्भेयर हुनका लागि इजाजत पत्र मात्र पर्याप्त नभई पुराना सर्भेयरको मातहतमा रहेर कम्तीमा एक दुई वर्ष कार्य अनुभव लिएको हुनुपर्ने, अनुभवका आधारमा सर्भेयरको वर्गिकरण गर्नुपर्नेमा त्यस्तो पनि गरिएको छैन। सर्भेयरको अनुभवको आधारमा विशिष्टीकृत सर्भेयरका रुपमा पहिचान गर्ने परिपाटी पनि नेपालमा छैन, अलि अलि शुरू हुँदै गरेकोलाई पनि प्राधिकरणले नियामकीय डोरीले बाँधेर निमोठि दिएको अवस्था छ। अहिले बीमा कम्पनीका लागि सर्भेयरको हैसियतमा काम गर्ने जनशक्ति बढेसँगै विकृती पनि बढेको छ। पार्ट टाइमर सर्भेयरहरु अतिरिक्त आम्दानीका कारण मख्ख परि रहँदा फुलटाइमर सर्भेयरहरुले व्यवसायीकरुपमा आफ्नो पेशा र पेशागत योजनालाई अघि बढाउन सकेका छैनन् । प्राधिकरणको कदमले न त फुल टाइमर हुनका लागि उर्जा दिन सकेको छ न त पार्ट टाइमरलाई व्यवसायीक नै बनाउन सकेको गुनासो व्यवसायीक सर्भेयरहरुको छ।
पाँच दिनको तालिममा उपस्थित भएको आधारमा मात्र एकै साथ ठूलो संख्यामा सर्भेयरको इजाजत पत्र वितरण गरिंदा प्राधिकरणको निर्णयमा हचुवापन देखिएको छ। फलस्वरुप अहिले पूर्णकालीन भन्दा निक्कै ठूलो संख्यामा पार्टटाइमर सर्भेयरले बजार ओगटेको छ।
बीमा क्षेत्रका लागि फुलटाइमर कि पार्टटाइम सर्भेयर ?  
इन्जिनको समस्या पत्ता लगाई दिनु, अटो क्याडमा कुनै ड्रइङ बनाई दिनु, एउटा लेखको प्रुफ रिडीङ गरिदिनु, ब्यालेन्स सिट चेक गरि दिनु जस्ता पटके कामहरु  पार्ट टाइमरबाट गराउँदा किफायती हुनसक्छ । तर बीमा सर्भेयर पेशामा फुलटाइमर र पार्टटाइमरले पाउने कामको संख्या र पारिश्रमिक दुबै समान छ। जो आफू सर्भेयर मात्र हुँ भनेर पहिचान बनाउन खोज्दैछ, पुराका पुरा समय क्षति मूल्यांकन र प्राविधिक प्रतिवेदन तथा सुझावका लागि खर्चिन तयार छ, उसले प्राधिकरणको सकारात्मक विभेदको अभावमा काम गर्न पाएको छैन अर्थात् पर्याप्त टास्क नै पाउन सकेको छैन ।
बीमितले क्लेम फारममा उल्लेख गरेको जस्तो दाबी, लाग्ने नलाग्ने निधो गर्दै क्षति मूल्यांकनका आधारहरु खडा गरेर, क्षतिपूर्ति माग्ने र दिने दुबैलाई मान्य हुने गरी क्षतिपूर्ति रकम यकीन गर्नुपर्ने सर्भेयर पेशाको गम्भीर जिम्मेवारी हो । सर्भेयरले वहन गर्नुपर्ने यस्तो गहन जिम्मेवारीको भार सर्भेयरमाथि एक दुई दिनका लागि नभएर बीमक वा बीमित कुनै पनि पक्षबाट मुद्दा मामिला भएको अवस्थामा वर्षौसम्म पनि बोक्नुपर्ने बाध्यता रहन्छ। त्यसैले लामो समयसम्म वहन गर्नुपर्ने जिम्मेवारी भएको बीमा सर्भेयर पेशाले पार्ट टाइमरभन्दा फुलटाइमरलाई खोजेको देखिन्छ।
इन्जिनियरका साथै चाटर्ड एकाउन्टेन्ट,बीमा कम्पनीका मार्केटिङ कर्मचारी समेत बीमा सर्भेयरको लाइसेन्स धारी छन् । तीमध्ये केही सकृय, केही चाँहि इजाजत पत्र नविकरण गर्ने प्रयोजनाका लागि मात्र सर्भेयर कहलिन चाहने पनि छन् । चार्टर्ड एकाउन्टेन्टको नियामक संस्थाले एक व्यक्ति एक पेशा भन्ने नीतिगत व्यवस्था गरे झैं सर्भेयर पेशामा पनि यस्तो प्रावधान आवश्यक भएको प्रतिकृया व्यवसायीक सर्भेयरहरुले कुराकारीका क्रममा पंक्तिकारसँग दिएका थिए ।
बराबरी काम बाँड्ने प्रावधानले स्पेशलिष्टलाई विभेदः
क्षतिपूर्ती मूल्यांकनको पेशाभित्र पनि विशिष्टीकृत क्षेत्रको मात्र जोखिम मूल्यांकन गर्छु भनेर स्पेशलाइजेशन अर्थात् विशिष्टता हासिल गर्न खोज्ने सर्भेयर सीमित छन्। अर्कोतर्फ बाढीमा खोलाले जे बगाएर ल्याउँछ टिप्छु भन्ने मानसिकता बोकेर जुनसुकै विषयवस्तुको पनि क्षति मूल्यांकन गर्छु भन्ने सर्भेयर पनि उत्तिक्कै छैन । नेपालमा जलविद्युत परियोजना, सडक, पुल, सुरूङ, रेललगायतका ठूला ठूला पूर्वाधार निर्माण, वायू सेवा लगायतका क्षेत्रमा लगानी बिस्तार हुँदै जाँदा सँगसँगै जोखिम पनि बढ्दै गएको छ। यस्तो अवस्थामा यी प्रत्येक क्षेत्रको प्रकृति र जोखिमको प्रकृति बुझेर छिटोछरितो क्षति मूल्यांकन गर्दै सर्भेयरको प्रतिवेदन तयार पार्न सक्ने जनशक्तिको अभाव पनि क्रमशः खट्किंदै गएको छ। तर पार्ट टाइमर सर्भेयरहरुको भीड रहेको बजारमा फुल टाइमर भएर टिक्न नै मुश्किल परि रहेका बेला विशिष्टीकृत सर्भेयर धेरै परको विषय बन्न पुगेको छ।
पार्टटाइमरहरु भन्छन्, “जागिरबाट बचेको वा बिदाको दिन मात्र काम गर्ने भएकाले हामीलाई पाँच दश वटा काम नै पर्याप्त छ।” प्राधिकरणले नै सर्भेयरका लागि दामासाही रुपमा ५ देखि १० वटा क्षति मूल्यांकनको जिम्मा लगाउनु भन्ने निर्देशन दिएकाले बीमा कम्पनीहरुले सर्भेयरको योग्यताको आधारमा स्तरिकरण गर्ने र छनौट गर्ने अवसरको अन्त्य भई सकेको छ।
क्षति मूल्यांकनसँग सम्बन्धित कुनै फाइल कुन कारणले सर्भेयरसँग रोकिन गएको हो भन्ने तथ्यतर्फ बिल्कुल प्रवेश नै नगरी बीमा कम्पनीले व्यक्तिगत सर्भेयरलाई ५ वटा र संस्थागत सर्भेयरलाई १० वटाका दरले कार्यादेश जारी गर्नुपर्ने बाध्यात्मक अवस्था छ। कुन सर्भेयर समयमा फिल्डमा पुग्यो, कुन सर्भेयरले दाबीकर्तालाई राम्रोसँग ह्यान्डल गर्यो, कुन सर्भेयरले बढी स्पष्ट बढी तथा तथ्यगतरुपमा क्षति मूल्यांकन गर्यो र कुन सर्भेयरले बीमा कम्पनीलाई छिटो छरितो रेस्पोन्ड गर्यो लगायतका आफ्नो सेवा प्रदायक सर्भेयर बारे बीमा कम्पनीले मुल्यांकन गर्न नै नपर्ने अवस्था सिर्जना गरियो। आफूले मूल्यांकन गरेको सर्भेयरलाई थप कार्यादेश गर्न नपाई सयौं सर्भेयरहरुलाई पाँच-पाँच वटा दश-दश वटा दरले कनिका छरे जस्तो गरि कार्यादेश गर्नु पर्ने भएपछि बीमा कम्पनीले आफ्नो सेवा प्रदायक सर्भेयरको मूल्याकन गर्नुको औचित्य बाँकी छैन |
बिना कुनै मुल्यांकन, बिना कुनै आधार लाइसेन्स नविकरण गराएको भरमै काम पाउने योग्यता पुग्ने प्रावधानले निर्जीवन बीमा क्षेत्र पार्टटाइम काम गर्न चाहनेहरुका लागि सहज हुने भए पनि यसले व्यवसायीकताको घाँटी भने अवश्य निमोठ्दैछ।
पार्टटाइम सर्भेयरहरुका किस्साहरु :
कुनै निर्जीवन बीमा कम्पनी कतिको विश्वासिलो छ भन्ने विषय त्यसले दाबी फर्छ्यौट कति छिटो र कति उचित तवरबाट गर्छ भन्नेमा निर्भर रहन्छ। छिटोछरितो दाबी भुक्तानीका लागि आधार तयार पारिदिने शुत्रधार सर्भेयर नै हुन्।
१. कार्य क्षेत्रमा फुलटाइम सर्भेयर भन्दा पार्टटाइम सर्भेयरको संख्या निक्कै बढी भएकाले होला सर्भे साइटमा “तपाइले खास काम के गर्नुहुन्छ ?” भन्ने प्रश्न प्रायः धेरै सर्भेयरहरुले सामना गर्नु परेको छ। पार्टटाइम सर्भेयरका लागि त आफ्नो अर्को पूर्णकालीन जागिरको धाक लगाउने मौका भएपनि यो पेशालाई नै फुलटाइम बनाएकाहरुका लागि यस्तो प्रश्नले घोच्दो हो । नवप्रवेशी  फुलटाइम सर्भेयर “के करियरका रुपमा फुल टाइम काम गर्नका लागि बीमा सर्भे क्षेत्र उपयुक्त होइन र ? ” भन्ने प्रति प्रश्न गर्नुपर्ने अवस्था छ।
२. नयाँ सर्भेयरलाई समेत प्रोत्साहित गर्नुपर्छ भन्ने कर्पोरेट नीति भएको एक ठूलो निर्जीवन बीमा कम्पनीले विराटनगरतिरको एउटा काम पार्ट टाइमर सर्भेयरलाई जिम्मा दिएको रहेछ। जिम्मा दिएको एक घण्टा मै बीमितको गुनासो आयो,-  “तीन दिन पछि शनिबारका दिन मेरो बिदा हुन्छ, त्यही दिन वर्कशपमा गाडी हेरौंला” भन्दैछ सर्भेयरले । “रुट इजाजतमा गुड्नुपर्ने गाडी तीन तीन दिन सम्म मर्मत नै नगराई ग्यारेजमा खडा राख्न सक्दिन भनेर धम्क्याएपछि बीमकका कर्मचारीले चुरो बुझ्न खोज्दा पार्ट टाइमरले भने, “क्लाइण्टलाई हतार छ भने अरुलाई नै जिम्मा लगाउनुस, बिदाका दिन गरे हुने खालका काममा मात्र मलाई सम्झिनुहोला ।”
३. सुर्खेतको प्रसंगमा पार्टटाइम सर्भेयरले फोटो खिचे पश्चात “दुर्घटनाग्रस्त ट्रयाक्टरलाइ टोटल लस गरि दिन पर्यो” भन्ने दाबीकर्ताको माग रहेछ | सो मागलाई किनारा लगाउनका लागि दाबीकर्ताले सर्भेयरलाई पटक पटक वर्कशप बोलाउन थालेछन्। पार्टटाइम सर्भेयर हैरान भएर स्वेच्छाले प्रिलिमिनरी रिपोर्ट पेस गर्दै “अरु कसैलाई जिम्मा लगाई दिन अनुरोध गर्दै बीमा कम्पनीसँग छुट्टी मागे ।
४. पार्टटाइम सर्भेयरलाई जिम्मा दिइएको काम बीमितले असन्तुष्टी जनाएको वा दाबी विभागले नै खोसेको वा नसक्ने भएपछि पार्टटाइम सर्भेयर आफैंले त्यागेका यस्ता घटनाहरुबारे प्रायः निर्जीवन बीमकको दाबी विभागका कर्मचारीहरु परिचित छन् ।
५. अर्को एक प्रसंगमा पार्ट टाइमर सर्भेयरले भौगोलिकरुपमा टाढा रहेको फिल्डमा आफू नगएर त्यतैको विद्यार्थीलाई खटाएर फोटो खिंच्न लगाउने र क्षति मूल्यांकन प्रतिवेदन तयार पारि दिने गरेको गुनासो पनि छ।  पार्टटाइम सर्भेयरबारे एकजना दाबी विभाग प्रमुखले कुनै नामी ब्राण्डका सर्भिस म्यानेजर जागिरे रहेका सर्भेयरले “आफूलाई काम नदिएमा उक्त ब्राण्डसँग भएको “क्यास लेस सम्झौता” नै रद्ध गर्ने धम्की दिएको गुनासो समेत गरे”। कुनै ठेकेदार कम्पनीमा जागिरे सिभिल इन्जिनियर सर्भेयरले “आफुलाई काम नदिएमा उनीहरुको ग्रुप कम्पनीका केहि CAR पोलिसी नवीकरण नगराई दिने धम्की दिएछन्”।
“जाबो फोटो खिचेर प्रतिवेदन बनाउने जस्तो साधारण काम जसलाई अह्राए गराए भई हाल्यो नि” भन्नेहरुका लागि पार्टटाइम सर्भेयरले “काम चलाउ” किसिमले सर्भे कार्य ह्यान्डल गर्नु एक किसिमको समाधान नै हो । तर बीमा सर्भेलाई पेशा कै रुपमा अंगाल्न चाहनेका लागि यो सुखद  अवस्था होइन।
दाबी फर्छ्यौटमा तीब्रता ल्याउन सर्भेयर कै कारण दाबी रोकिएको हो वा होइन भन्ने यकीन गर्नका लागि निश्चित मापदण्ड तोकिनुपर्छ। सर्भेयरको अनुभव र कार्य क्षमतालाई बिल्कुलै बेवास्ता गर्दै पाँच र दशवटाका दरले सबै सर्भेयरलाई प्रसाद बाँडे झैं गरेर डेप्युट गर्ने प्रवृत्तीले समस्याको समाधान दिनेभन्दा पनि विकृति निम्त्याने संभावना देखिएको छ।
मापदण्ड पुगेको कुनै व्यक्ति वा संस्था बीमा सर्भेयर तालिममा सहभागि हुन, सर्भेयर परिक्षामा सामेल हुन र परिक्षामा उतीर्ण भएपछि शुल्क तिरी बीमा सर्भेयरको लाइसेन्स लिन स्वतन्त्र छ | त्यो बिन्दुसम्म रोक लगाउन मनासिव नहुन सक्छ | तर व्यवसायीकरुपमा नै सर्भेयरको पेशा शुरु गरि हाल्नका लागि चिकित्सा शास्त्रका विद्यार्थीले न्यूनत्तम दुईवर्ष अस्पतालहरुमा अभ्यास गर्नुपर्ने, मेडिकल काउन्सिलको परिक्षा उतीर्ण गर्नुपर्ने, कानूका विद्यार्थीले निश्चित समय कार्य स्थलमा अनुभव हासिल गरेपछि बार काउन्सिलको परिक्षा उतीर्ण गर्नुपर्ने  ।सिए अध्ययन गरेकाहरूले पुनः लाइसेन्स परिक्षामा सहभागिता जनाएर उतीर्ण हुनुपर्ने प्रावधान भए झैं सर्भेयर पेशामा पनि काम शुरू गर्नु अघि निश्चित अवधिका लागि कामको अनुभव लिएको हुनुपर्ने प्रावधान सहित पेशा प्रवेशका लागि पनि एउटा ढोका राखिनुपर्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS