काठमाडौं । कोशी प्रदेशमा सवारीसाधन दर्ता बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८०को कोशी प्रदेशका वार्षिक आर्थिक गतिविधि प्रतिवेदनले यस्तो देखाएको हो।
प्रतिवेदनअनुसार २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तसम्म यस प्रदेशमा दर्ता भएका कुल सवारीसाधनको संख्या ३.९ प्रतिशतले वृद्धि भई ८ लाख ३ हजार ६९९ पुगेको छ। यसमध्ये मोटरसाइकलको संख्या ३.६ प्रतिशतले वृद्धि भई ६ लाख ६९ हजार ७२० र अन्य सवारीसाधनको संख्या ५.७ प्रतिशतले वृद्धि भई १ लाख ३३ हजार ९७९ पुगेको छ।
२०८० असार मसान्तसम्म यस प्रदेशका १४ वटा जिल्लाहरुमध्ये सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा र ओखलढुंगा गरी ७ जिल्लाहरुबाट सवारीसाधन दर्ता हुने कार्य हुँदै आएको छ भने दर्ता भएका सवारी साधनमध्ये सबैभन्दा बढी ७४.७८ प्रतिशत सवारीसाधन सुनसरी जिल्लामा दर्ता भएको देखिन्छ।