काठमाडौं । केही महिना अघि बैंकिङ प्रणालीमा तरलताको अभाव भएपछि गत वर्ष बैंकहरूले पाँच वर्षमा दोब्बर भुक्तानी दिने गरी मुद्दती निक्षेपका आकर्षक योजनाहरु ल्याए । बैंकले पाँच वर्षमै दोब्बर रकम भुक्तानी दिने भएपछि दोब्बर रकमका लागि १५ देखि २० वर्ष लामो अवधिको लागि जीवन बीमा किन चाहियो भन्ने प्रश्न बीमाकर्मी र विशेषगरी अभिकर्ताहरु तिर निक्कै तेर्सियो।
बैंकले मुद्दती निक्षेपमा दोहोरो अंकको ब्याज दर प्रस्ताव गर्दा जीवन बीमाकर्मीहरु स्वाभाविकरुपमा दबाबमा परेका थिए । सर्वसाधारणले सिधा शब्दमा के जीवन बीमाले पाँच वर्षभित्र डब्बल फिर्ता दिन सक्छ भन्ने प्रश्न गर्दा अभिकर्ताहरु प्रतिरक्षाको अवस्थामा उभिनुपर्ने अवस्था रह्यो । बीमा; विशुद्ध बचतको उद्देश्यले नभएर प्राथमिकताको पहिलो क्रममा जोखिम बहनका लागि र दोश्रो क्रममा मात्र बचतका लागि गरिनुपर्छ भन्ने बारे नेपालमा आम नागरिकलाई बुझाउन अझै धेरै प्रयास गर्न बाँकी छ। जीवन बीमा व्यवसायको प्रारम्भ नै डब्बल प्रतिफल भन्दै बजारीकरण गरिएकाले पनि सर्वसाधारणको मानसिकतामा परिवर्तन ल्याउन सहज अवश्य पनि छैन ।
बैंकिङ प्रणालीमा तरलता अभाव हुनु भनेको बैंकसँग नगदको अभाव हुनु हो अर्थात् बैंकले बचतकर्तालाई तत्कालै नगद भुक्तानी गर्न वा थप कर्जा लगानी गर्नका लागि वित्तीय तरलता नभएको अवस्था हो । यस्तो अवस्थामा बैंकले नगदको मुख्य श्रोत मानिने सर्वसाधारणको निक्षेप साधारण वा मुद्दती निक्षेप आकर्षित गर्नका लागि चल्तीको भन्दा बढी ब्याजदर प्रस्ताव गरेका थिए। यसो गर्दा बचतकर्ताहरु आफूसँगै राखेको नगद वा अन्य कुनै प्रयोजनमा प्रयोगमा रहेको नगदलाई तुलनात्मकरुपमा बढी भुक्तानी पाइने लोभमा बैंकको मुद्दती निक्षेपमा लगानी गरे । बीमालेख नै धितो राखेरै भएपनि बीमितले कर्जा रकम झिकेर बैंकको १ देखि ५ वर्षे अवधिको मुद्दती निक्षेपमा जम्मा गरे । एकल बीमाशुल्क भुक्तानी गरिएको बीमालेख समर्पण गरे र रकम झिकेर बैंकमा सर्लक्कै लगेर जम्मा गरिदिए ।
अहिले तरलता सहज बन्दै जाँदा बैंकले मुद्दती निक्षेपको ब्याज दर समेत एकल अंकमा झारि सकेका छन् । बैंकको ब्याज दर एकल अंकमा झर्दा सर्वसाधारणलाई कर्जा उपभोगमा फाइदा मिले पनि निक्षेपमा भने खासै प्रतिफल प्राप्त हुने अवस्था छैन । मुद्रा स्फिति दरसँग तुलना गर्ने हो भने मुद्दती निक्षेपमा चलनचल्तीको ब्याज दरसहित भविष्यमा एकमुष्ठ हात पर्ने रकमको क्रय क्षमता अहिलेको भन्दा निक्कै कमजोर भइसक्नेछ।
बैंकको ब्याज दर उच्च अर्थात् दोहोरो अंकमा चढेका बेला जीवन बीमामा लगानीका लागि तुलनात्मकरूपमा सर्वसाधारणको चासोमा कमी आउँछ,त्यसो हुनु स्वाभाविक पनि हो ।
के मुद्दती निक्षेपलाई जीवन बीमाको विकल्प बनाउन सकिन्छः
बीमाकर्मीहरुसँग अन्तरकृया गर्दा उनीहरुको अनुभवमा जीवन बीमा र बैंकको मुद्दती निक्षेपलाई लिएर जनमानसमा केही अस्पष्ट बुझाई विद्यमान रहेको अवस्था छ। दुबै एक अर्काको विकल्प हुन् कि भने जस्तो बुझाई।
जीवन बीमामा पनि बचत, बैंकको निक्षेपमा पनि बचत ।
बीमामा पनि प्रतिफल(बोनश), बैंकमा पनि प्रतिफल(ब्याज)।
वित्तीय लगानीका यी दुबै उपकरणहरु बचत र प्रतिफलका दृष्टीकोणले समानता देखिए पनि एउटा महत्वपूर्ण पक्ष पनि छ जुन एउटा उपकरणमा मात्र निहित हुन्छ तर अर्कोमा हुँदैन। त्यो हो जोखिम बहन । जीवन बीमामा बचत र प्रतिफलका अतिरिक्त जोखिम बहनको विशेषता पनि गाँसिएको हुन्छ। बीमाको अवधि पुरा भएपनि नभएपनि बीमाको एक किस्ता मात्रै तिरेको भएपनि बीमाको शर्तमा उल्लेख भए अनुसारको केही भई हालेको रहेछ भने बीमित स्वयमले वा उसले चाहेको हकवालाले प्रतिफल प्राप्त गर्छ।
बैंकमा भए तुरून्तै ब्याज पाइन्छ, जीवन बीमाको बोनश हात पर्ने कहिले हो कहिले ।
खल्तीमा मनग्ये बचत हुनेका लागि मुद्दती निक्षेप सहज विकल्प हुनसक्छ तर आफूसँग भएको नगद बचतको तुलनामा धेरै गुणा वित्तीय दायीत्व बोक्नुपर्ने बाध्यता हुनेहरुका लागि मुद्दती निक्षेपले सबै दायीत्व पुरा नगरि दिनसक्छ। हो यस्तै अवस्था हुनेहरुका लागि जीवन बीमा आवश्यक मात्र नभएर अनिवार्य समेत हुन्छ।
- जीवन बीमामा; मुद्दती निक्षेपमा जस्तै पुरै रकम एकैपटक बीमा गर्नुपर्दैन । किस्ता किस्तामा जम्मा गर्ने सुविधा हुन्छ। मुद्दती निक्षेपमा सबै रकम एकमुष्ठरुपमा बैंक खातामा जम्मा गर्नुपर्छ । केही बैंकले किस्ता किस्तामा रकम जम्मा हुने सुविधा सहितको नियमित बचत मुद्दती खाताको सुविधा उपलब्ध गराए पनि प्रतिफलका हिसाबले यो मुद्दती निक्षेपभन्दा कम आकर्षक हुन्छ।
- जीवन बीमाले जम्मा भएको किस्ता रकमको आधारमा प्रतिफल(बोनश) गणना गर्दैन, पुरै बीमांकको आधारमा गर्छ। उदाहरणका लागि कसैले वर्षको ४० हजार रुपैयाँ भुक्तानी गर्ने गरी १० लाख रुपैयाँ बीमांकको बीमा गरेको छ भने १० लाख रुपैयाँकै आधारमा बोनश प्राप्त गर्छ। बैंकले खातामा जम्मा भएको रकमको आधारमा मात्र ब्याज गणना गर्छ।
- एक किस्ता रकम जम्मा गरे लगत्तै पनि बीमितको मृत्यु भएको छ भने पुरै बीमांक रकम बीमा कम्पनीले भुक्तानी गरिदिन्छ। बचतकर्ताको निधन भएपनि बैंकको मुद्दती निक्षेपमा जम्मा भएको रकम निक्षेपको अवधि पुरा नभएसम्म भुक्तानी झिक्न मिल्दैन, झिक्न चाहेमा बैंकलाई जरिवाना तिर्नुपर्छ।
- वर्षको ४० हजार रुपैयाँसम्म जीवन बीमा किस्तावापत बचत गर्दा कर छुट पाइन्छ। बैंकको निक्षेपमा जतिसुकै रकम भएपनि पाकेको ब्याज रकममा १५ प्रतिशतका दरले आय कर तिर्नुपर्छ।
- जीवन बीमामा बीमितले दुर्घटना मृत्यु लाभ सुविधा समेत रोजेको छ भने बीमांकको दुई गुणा रकम उसले ईच्छ्याएको वा हकवालाले भुक्तानी प्राप्त गर्छ। बैंकमा मुद्दती निक्षेपबाट दोब्बर रकमका लागि ६ वर्षभन्दा बढी अवधि कुर्नुपर्छ, बचतकर्ताको निधन वा निधनको कारणसँग बैंकलाई कुनै सरोकार हुँदैन हकवालाको बैक खातामा निक्षेपको रकम हस्तान्तरण सम्म गरि दिनसक्छ।
- वार्षिक ४० हजार रुपैयाँ किस्ता तिर्ने गरी १० लाख रुपैयाँ बीमांकको जीवन बीमा गर्नेले वर्षमा कम्तीमा ५० हजार रुपैयाँ बोनश रकम कमाएको हुन्छ। बैंकमा एकमुष्ठ ४० हजार रूपैयाँ निक्षेप राख्दा वर्षमा ४ हजार रूपैयाँ भन्दा पनि थोरै ब्याज आम्दानी हुन्छ।