काठमाडौं । काठमाडौंको पाँचतारे होटलमा आयोजित सामाजिक समारोहमा भेटिएका एक अभिकर्ताले जब पहिलो पटक उनलाई जीवन बीमाका लागि अनुरोध गरे, उनी तर्किन खोजिन् । बीमाबारे पछि फुर्सदमा कुराकानी गरौंला भनेर त्यस जमघटबाट जसोतसो उम्किन सफल भइन् । बीमाबारे सचेतना न्यून भएको हाम्रो समाजमा उनी मात्र एक्ली होइनन्, उनी त प्रतिनिधि पात्र मात्र हुन् । आखिर होटलको समारोहमा भेटिएका ती व्यक्ति बीमा अभिकर्ता न थिए, सजिलै किन हार मानि हाल्थे र । जमघटमा भेटिएकी परिचित महिला संभावित बीमित हुन् भन्ने हेक्का राखेका अभिकर्ताले त्यसपछिका दिनमा पनि फोनमार्फतै भएपनि बीमाका लागि अनुरोध जारी राखे । अन्ततः जीवन बीमा आफ्नै लागि गर्नु जरुरी छ भन्ने बुझाउन सफल भएपछि ती महिलाको दम्पत्तिलाई जीवन बीमालेख बिक्री गर्न सके । र पछि तिनै महिला जीवन बीमा अभिकर्ताको लाइसेन्स लिएर यो पेशामा आबद्ध समेत भइन् ।
यो चर्चा थियो, सिटिजन लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर बिनिता देवकोटाको । जीवन बीमाको चर्चा सुन्नुपर्दा झिंझो लागेर उम्किन खोज्ने उनी आज घरघर पुगेर आम मानिसलाई जीवन बीमाबारे बुझाउँदै छिन् । पछाडि फर्केर हेर्दा उनले बीमा अभिकर्ता पेशा अंगालेको पनि पाँच वर्ष बिति सकेको रहेछ । शुरुवाती दुई वर्ष उनलाई यो पेशामा खासै रस पस्न सकेको थिएन । सिटिजन लाईफका वरिष्ठ बिजनेश अफिसर धोज बहादुर खड्काले दैलोमै आएर जीवन बीमा बारे बुझाउँदा पनि उनले खासै रुची जगाउन सकिनन् । तर पनि उनलाई उनका शुभेच्छुकहरुले प्रोत्साहन दिई रहे, जीवन बीमाबारे ज्ञान बाँडी रहे र अभिकर्ता पेशा अँगाल्न प्रेरित गरे । यति धेरै जोडबल पछि अन्ततः उनी पनि झोला भिर्दै हिंडिन् घरदैलो अभियानमा जीवन बीमा सचेतनाका लागि ।
अहिले उनी बीमालाई धेरै नरुचाउँदा नरुचाउँदै जोडिए पनि अहिले बीमाकै कारण जनसम्पर्क बढेको र धेरैमाझ परिचित हुने अवसर मिलेकोमा खुशी छिन् । भन्छिन्, मलाई यो लाइनमा ल्याउन जोडबल गर्ने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहान्छु, विशेष धन्यवाद मेरी दिदी कल्पनालाई । दुई वर्ष यता सकृयतापूर्वक बीमामा लागेकी विनिताले यसबीचमा लगातार दुई पटक सिटिजन लाइफको सिल्भर क्लबमा प्रवेश गर्न सफल भएकी छिन् ।
प्युठान नगरपालिका २ की स्थायी बासिन्दा उनको बसाई अचेल काठमाडौं सुकेधारामा छ । आफ्नो घर पहाडी जिल्ला प्युठानमा भएकाले पनि उनलाई भौगोलिक विकटताकै कारण बीमा गर्न सकिन्न भन्ने लागेको थियो । मेरो बीमा गर्देउ भनेर अनुरोध गर्दै गाउँमा घरदैलोमा कोही पनि नआएको स्मरण गर्दै उनले दुर्गममा जीवन बीमा कठिन नै होला भन्ने अनुमान गरेकी थिइन् । बीमाका बारेमा सर्वप्रथम् उनले सवारी साधन बीमाको बारेमा जानकारी पाएकी थिइन् । आफूलाई बीमा बारेमा निकै कम बुझाई रहेकाले विगतमा यस क्षेत्रमा खास चासो नरहेको उनको भनाई छ ।
बीमा पेशामा लागेकै कारण उनले नेपालमा विभन्न ठाउँहरु घुम्ने अवसर पाइन् । दार्जिलिङ, सिक्किममा पुग्दा पनि बीमितहरुले दर्शाएको माया उनलाई अहिले पनि झल्झलि याद आउँछ । मिहिनेत गरेको छोटो समयमै आफू सिटिजन लाइफको उत्कृष्ट १० अभिकर्ताको सूचीमा अटाउने अवसर पाएकोमा पनि उनलाई गर्व लागेको छ । भन्छिन्, हामी जे सोच्छौं, जे चाहन्छौं, त्यसको प्राप्तीका लागि हामीले नै प्रयास गर्ने हो ।
पहिलो बीमित पुलिस भानिजः
बीमा अभिकर्ताको लाइसेन्स लिइ सकेपछि उनले पहिलो बीमाको खोजीमा भर्खरैे प्रहरी निरीक्षकको तालिम सिध्याएका भान्जालाई उनले अनुरोध गरिन् । शुरुवाती बीमाबाट उनले प्रथम् बीमाशुल्कवापत ९९ हजार रुपैयाँ संकलन गर्न सफल भइन् । त्यस यता उनले जीवन बीमा प्रवद्र्धनको काममा असफलताको सामना गर्नुपरेको छैन।
स्नातक तहसम्मको अध्ययन पुरा गरेकी विनिता अभिकर्ताका रुपमा पहिचान बनाउनु अघि देखि नै व्यापारी पनि हुन् । उनले स्टेशनरी पसल सञ्चालन गर्दै आएकी थिइन् । कोरोना महामारीको समयमा स्टेशनरी पसलको आम्दानी सुके पनि जीवन बीमा व्यवसायको आम्दानीले उनलाई अप्ठेरा दिनलाई सहज बनाउन सघायो ।
बीमालाई टाढाबाट हेर्नु र नजिकबाट हेर्नु फरक छ
सिनियर एजेन्सि म्यानेजर विनिताको बुझाईमा बीमा पेशालाई टाढाबाट अनुमान गर्नु र नजिकबाट जान्नुमा निक्कै भिन्नता छ । नेपाल जस्तो मुलुकमा बीमाको जनचेतना निकै कम रहेको र यसबारे सरल भाषामा वास्तविक अर्थमा बुझ्ने मौका एकदमै थोरैले मात्र पाउने गरेको उनको अनुभव छ । उनले बीमा भनेको जो कोहीलाई पनि काम लाग्ने भएकाले बीमा गराउनु पूर्व आफूलाई कस्तो बीमा आवश्यक छ भन्ने जान्न आवश्यक रहेको सुझाव दिएकी छिन् ।
नेपाल सरकारलाई कर तिरेर इज्जतका साथ आफ्नो आर्थिक स्थिति बलियो बनाउन पाइने पक्ष उनलाई निकै राम्रो लागेको छ । उनले आफ्नो भन्दा पनि अहिले पहाडी क्षेत्रका धेरै बीमितलाई बीमामा जोडन पाउँदा निकै गर्व लाग्ने गरेको बताउँछिन् । अहिले उनले आफूले गरेका कतिपय आँकलनहरु पनि धेरै हदसम्म मिल्न थालेको बताउँछिन् । कुनै व्यक्तिलाई बीमा गराउनु वा अभिकर्ता पेशामा संलग्न गराउनु उचित हो भन्ने आँकलनमा आफूले अहिलेसम्म सफलता नै पाएको उनले सुनाइन् ।
उनी भन्छिन्, बीमाबाट अभिकर्ताले पारिश्रमिकवापत सीमित रकम पाएपनि बीमितले असीमित लाभ पाउने भएकाले बीमा अरुका लागि नभई बीमित आफैंका लागि हो । बीमा कम्पनीहरुले पेन्सन योजना समेत संचालन गरेकाले बीमितहरुको रोजाईमा बीमा क्षेत्र पर्ने गरेको उनले बताएकी छिन् ।
जति मेहनत उति मीठो प्रतिफलः
उनले बीमामा खट्दा आफ्नो मेहनत खेर नजाने बताउँछिन । अहिलेसम्म खटेर लागेका व्यक्ती नै सफल अभिकर्ता बनेको र त्यसबाट छिट्टै सिनियर एजेन्सि म्यानेजर समेत बनेको उनको भनाई छ । बिना लगानी नै आर्थिक आर्जन हुने पेशा भएकाले बीमा पेशा अन्य थुप्रै पेशा, व्यवसायको तुलनामा राम्रो पेशा भएको उनको अनुभव छ । बीमामा काम गर्दा असिमित आम्दानी हुने भएकाले पनि यो यस पेशामा लाग्नेहरुलागि यो निकै ठूलो आकर्षण केन्द्र बन्दै गएको उनले देखेकी छिन् ।
अनलाइन परिक्षाले सकारात्मक नतिजा ल्याउनेछः
बीमा अभिकर्ता पेशामा सक्षम व्यक्तिको प्रवेश होस् र स्थायीत्व मिलोस् भन्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्र वितरणमा लागू गरेको अनलाइन परिक्षा प्रणालीले दीर्घकालमा राम्रै नतिजा ल्याउने उनको आशा छ। उनले अभिकर्ताले व्यवसायभन्दा नयाँ अभिकर्ता खोज्ने प्रवृत्ति रोक्न पनि बीमा प्राधिकरणको यो कदम निकै लाभदायी हुने बताएकी छिन् । तालिम र परिक्षामा सहभागी नै नभई बीमा अभिकर्ताको इजाजत प्राप्त गर्ने प्रवृत्तिले यो पेशामा ल्याएको विकृतीलाई केही हदसम्म भएपनि नियन्त्रणमा सहयोग पुग्ने उनको विश्वास छ ।
पैसा भए पनि नभए पनि गर्नुस्
रोग, व्याधी जो सुकैलाई पनि लाग्न सक्छ । धनी होस् वा गरिब सबैलाई पैसाको महत्व आफ्नै किसिमको हुन्छ । नसोचेको ठाउँमा खर्च गर्नुपर्दा बीमाले धनी, गरिब वा कुनै वर्ग नभनि पैसा दिने भएकाले नियमितरुपमा बीमाशुल्क जम्मा गर्न कोही पनि हिचकिचाउनु हुन्न भन्ने सिनियर एजेन्सि म्यानेजर देवकोटाको सल्लाह छ । बीमा पेशामा लाग्दा मेहनत गर्न कहिल्यै पछि हट्न नहुने र अरुको बीमा गराउँदा आफ्नो पनि बीमा र बचत गर्नु पर्ने उनको सल्लाह छ ।