काठमाडाैं। आर्थिक मन्दीसँगै आम्दानीकाे अवसर खुम्चिंदै जाँदा नगदकाे जाेहाे गर्ने अनेक विकल्पकाे खाेजीमा सर्वसाधारण छटपटिएका छन् । महँगीका कारण दैनिक उपभाेग्य वस्तुकाे भाउ दाेब्बरले वृद्धि हुँदा सर्वसाधारणकाे नियमित कमाईले दैनिकीकाे खर्च थेग्न सकेकाे छैन ।
उद्याेग व्यापारका लागी लिएकाे कर्जाकाे साँवा र ब्याज भुक्तानीकाे दबाब थेग्न नसकेपछि व्यापारी वर्ग पनि नगद प्रवाहकाे तारतम्य मिलाउन विकल्पहरुकाे जाेहाे गर्न भरमग्दूर प्रयास गरिरहेकाे छ। कर्जा तिर्न आवश्यक पर्ने पैसाकाे जाेहाे गर्न ठूलाे रकमकाे आवश्यक पर्ने भएकाले गाेदाममा चाेरी, आगलागीका कृत्रिम घटनाकाे माध्यमबाट बीमा दाबीबाट रकम हात पार्ने प्रयास समेत आगामी दिनमा देखा पर्न सक्नेछ।
हालै मात्र बैंककाे किस्ता तिर्न नसकेपछि टिपर धनी आफैंले टिपरमा आगजनी गर्न लगाएकाे घटना सार्वजनिक भएकाे थियाे । बैंककाे कर्जा र व्यापारीबाट लिएकाे उधाराे तिर्न नसकेपछि बीमावापतकाे रकम दाबी गर्नका लागी बारामा एक यूवकले आफ्नै श्रीमतीकाे हत्या गरेकाे घटना अझै पनि अनुसन्धानमै छ।
आर्थिक मन्दीकाे समयमा विश्वव्यापीरुपमै आर्थिक अपराधकाे ग्राफ उकालाे लाग्ने गरेकाे छ । बेलायतमा हालै इन्स्याेरेन्स पाेष्ट एण्ड लेक्सिजनेक्सिज रिस्क सल्युशनले सार्वजनिक गरेकाे इन्स्याेरेन्स फ्रड सर्वे २०२३ का अनुसार आर्थिक मन्दीका कारण बीमा दाबीमा ठगी ह्वात्तै बढेकाे छ। सर्वेक्षणमा सहभागीमध्ये ९४ प्रतिशत उत्तरदाताले मन्दीका कारण आम्दानी खुम्चिँएर र बेराेजगारीका कारण बीमा दाबीमा जालझेल बढ्ने प्रतिकृया दिएका छन् ।
नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे(सिआइबी)ले छाेटाे समयमै बैंकिङ कसूरका मुद्दामा अनुसन्धान गरेकाे तथ्यले पनि आर्थिक मन्दीले वित्तीय अपराधलाई प्रश्रय दिइरहेकाे तथ्य पुष्टी गरेकाे छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा बैंकिङ कसुरसम्बन्धी १२ हजार ६ सय ७२ मुद्दा दर्ता भएका थिए। अघिल्लो आव २०७८/७९ मा पाँच हजार तीन सय ८३ दर्ता भएका थिए । अघिल्लाे आवकाे तुलनामा गत आव १३५ प्रतिशतले बैंकिङ कसूरका मुद्दा बढेकाे थियाे ।
नेपाल बीमा प्राधिकरणमा बीमा दाबी सम्बन्धमा पछिल्लाे पाँच वर्षमध्ये गत आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक संख्यामा बीमा दाबी सम्बन्धी मुद्दा दर्ता र उजुरी परेका छन् । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३४१ वटा मुद्दा दर्ता भएको थियाे। प्राधिकरणमा आ व २०७५/७६ मा १८७ वटा, २०७६/७७ मा २२८ वटा, २०७७/७८ मा २७३ र २०७८/७९ मा ३३८ वटा मुद्दा दर्ता गरिएका थिए ।
जीवन बीमक संघ नेपालका अध्यक्ष पाेषक राज पाैडेलले मन्दीकाे समयमा वित्तीय अपराधिकरणकाे घटना बढ्नु स्वाभाविक भएकाे बताए। उनले भने,जब मान्छेसँग पैसा कमाउने श्राेतहरू खुम्चिन थाल्छ, बेराेजगारी बढ्न थाल्छ तब पैसा कमाउन अनेक षडयन्त्रमा उद्दत हुन थाल्छन्, त्यसकाे प्रभाव बीमा क्षेत्रमा पनि देखिन्छ।
मन्दीले बीमा क्षेत्रमा वित्तीय अपराध र ठगीकाे संभावनालाई नियन्त्रण गर्न बीमा कम्पनीले बीमाकाे प्रस्ताव स्वीकार गर्ने चरणदेखि नै पूर्ण चनाखाे हुनुपर्ने अवस्था आएकाे छ। फर्जी आम्दानीकाे श्राेत देखाएर आवश्यक्ताभन्दा धेरै बढी बीमांककाे जीवन बीमाका लागी प्रस्ताव गर्ने प्रवृत्ती बढ्ने जाेखिम मन्दीकाे बेला सामान्य अवस्थाभन्दा बढी हुन्छ । बीमकले आम्दानीकाे श्राेत सुनिश्चित गर्नुकाे साथै बीमाकाे आवश्यक्ता छ छैन भन्ने विषयलाई गम्भीरतापूर्वक अध्ययन गर्न सकेकाे अवस्थामा मात्र दाबीमा ठगीलाई निरुत्साहन गर्न संभव हुन्छ। यसबाहेक ठूलाे बीमांककाे बीमा दाबीमा दुर्घटनाबाट भएकाे मृत्युकाे विषयमा पनि शंकाकाे दृष्टीकाेणलाई अझै बढी अघि सार्नुपर्छ ।
निर्जीवन बीमामा वास्तविक काराेबार नै नभएर बिजककाे आधारमा नाेक्सानीकाे मात्रा अधिक देखाउने वा गाेदामकाे मालसामान अन्यत्रै पठाएर गाेदाममा आगलागी गरेर क्षतिपूर्ती दाबी गर्ने प्रवृत्ती पनि यस्ताे समयमा बढ्ने संभावना हुन्छ। म्याद गुज्रिएका, टुटफुट भएका मालसामान गाेदाममा थुपारेर नियाेजितरूपमा आगजनी गर्ने र क्षतिपूर्ती दाबी गर्ने प्रवृत्ती पनि बढ्ने भएकाले बीमक चनाखाे हुनुपर्छ।