काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप संकलन १५ दशमलव ६० प्रतिशतले वृद्धि गर्दै ५३ अर्ब ४७ करोड पुगेको छ भने कर्जा प्रवाह ३ दशमलव ६६ प्रतिशतले वृद्धि हुँदै ४३ अर्ब ९१ करोड पुगेको छ ।
आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा २६ दशमलव ९३ प्रतिशतले कम हुँदै ४३ करोड ११ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ८ दशमलव ६५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ९९ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा भने २० दशमलव ०५ प्रतिशतले कम हुँदै ६९ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष १८ रुपैयाँ ७८ पैसा रहेको प्रति शेयर आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ रुपैयाँ १४ पैसा रहेको छ ।
कम्पनीको खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष २ दशमलव ३१ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा २ दशमलव ९८ प्रतिशत रहेको छ ।
३ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा १ अर्ब ४६ करोड रुपैयाँ र रिटेण्ड अर्निंङ्गमा ५ करोड ८० लाख रुपैयाँ रहेको छ। प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा रहेको छ ।