काठमाडौं । आइएमई लाइफले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आह्वान गरेको प्राथमिक शेयरका लागि १.२५ गुणा बढि आवेदन परेको छ । कम्पनीले असार एक गतेदेखि बिक्री खुला गर्दा अनलाइन प्रणालीबाट १८ हजार ५६० जनाले आवेदन दिएका छन् ।
वैदेशिक रोजगारमा गएका नेपालीका लागि प्रतिकित्ता २३६.९१ रुपैयाँको दरले १२ लाख कित्ता शेयर आह्वान गर्दा १५ लाख ९ हजार ५९० कित्ताका लागि आवेदन परिसकेको छ । आवेदकहरुले ३५ करोड ७६ लाख रुपैयाँको आवेदन दिएका हुन् । यो माग भन्दा १.२५ गुणा बढि हो ।
कम्पनीले यहि असार १५ गतेसम्म बिक्री खुला गर्नेछन् । वैदेशिक रोजगारमा गएका नेपालीका लागि सर्वसाधारण समुहको तर्फबाट निष्काशन हुने शेयर मध्येबाट १० प्रतिशत आरक्षण दिनु पर्ने कानुनी व्यवस्था छ ।
वैदेशिक रोगारमा गएका नेपालीका लागि १२ लाख कित्ता शेयर जारी गरिएको हुँदा एक लाख २० हजारले न्युनतम १० कित्ता शेयर पाउन सक्छन् । तर हालसम्म १८ हजारले मात्रै आवेदन दिएकाले यहि तथ्याङ्कका आधारमा एक जनाले कम्तिमा पनि ६० देखि ७० कित्ता पाउन सक्छन् । तर आवेदकको संख्या बढ्यो भने न्युनतम पाउन सक्ने कित्ता घट्ने छ ।
कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीलाई बिक्री गरे पछि आम सर्वसाधारणका लागि असार २० गतेदेखि निष्काशन गर्नेछ । सर्वसाधारणका लागि ९६ लाख कित्ता शेयर बिक्री गर्नेछ ।