काठमाडौं । बीमा कम्पनीहरुको शेयरमा उछाल आउदा शेयर बजारमा ६२.२१ अंक भन्दा धेरैले सुधार भएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बीमा कम्पनीहरुले साउन पछि हकप्रद शेयर निष्काशन गर्न पाउने चर्चा सँगै शेयर बजारमा जीवन बीमाको सूचक ७.७९ प्रतिशत र निर्जीवन बीमाको सूचक ६.०९ प्रतिशतले बढेको छ ।
होटल, उत्पादन तथा प्रशोधनमुलक कम्पनीबाट राम्रो पैसा बनाएका लगानीकर्ताले बिक्री गरेर बीमा कम्पनी, फाइनान्स र विकास बैंकको शेयर खरिद गरेका छन् । तर बाणिज्य बैंकको शेयरमा खासै ठुलो सुधार देखिदैन । अझै पनि बाणिज्य बैंकको शेयर मूल्य एकदमै तल छ । तर लगानीकर्ताको बाणिज्य बैंकको शेयरमा कन्फिडेन्स छैन । तै पनि आज १२ अंकले बढ्यो ।
शेयरधनीहरुलाई बैंक वित्तीय संस्थाले शेयरधितो कर्जा मागे जति दिइरहेका छन् । बैंकमा तरलता थुप्रिए पछि उनिहरुले अल्पकालिन प्रकृतिका शेयरधितोकर्जामामा लगानी थपिरहेका छन् । यसले गर्दा शेयर बजारमा थप कन्फिडेन्स बढाएको छ । बजार सुधार हुने वित्तीकै हातमा अलिअलि बचत भएका लगानीकर्ता पनि शेयर बजारमा प्रवेश गर्छन् ।
आज १८९ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कारोबार रकम ६ अर्ब ४९ करोड नाघेको छ । एलआइसी, हिमालयन लाइफ, नेपाल इन्स्योरेन्स, प्रभु लाइफ, शिखर र प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै बढ्दा सकारात्मक सर्किट लागेको छ ।