काठमाडौं । आन्तरिक राजश्व विभागले ४० लाख भन्दा बढी आम्दानी हुने प्राकृतिक करदाताहरुको ट्र्याकिङ गर्न निर्देशन दिएको छ । विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरिय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरुलाई परिपत्र जारी गर्दै ४० लाख भन्दा बढी कर बुझाउने करदाताको विवरण परिक्षण गर्न आदेश दिएको हो ।
विभागले आइटिएस प्रणालीमा सुधार गरी प्राकृतिक व्यक्तिको ४० लाख वा सो भन्दा बढी आय भएको तर Do4 आय विवरण पेश नगर्ने करदाताको पहिचान गर्न ITS-Income tax Reports-PPAN Transations को व्यवस्था गरेको छ । कतिपय करदाताको विवरण हेर्दा ४० लाख रुपैयाँ भन्दा बढीको आय भएकोमा अग्रिम कर कट्टी न्यून कट्टी देखिएको विभागको भनाइ छ ।
विभागले TDS परीक्षणको क्रममा ४० लाख रुपैयाँ वा सोभन्दा बढी आय हुने करदाताको विवरण हेरी नियमानुसार TDS रकम दाखिला गरे/नगरेको, विवरण दिए/नदिएको लगायतका TDS सम्बन्धी हेर्नुपर्ने सबै विषयको चेक, जाँच, परीक्षण सम्बन्धी सम्पुर्ण कार्य गरी सोको प्रगती EIMS मा प्रविष्ट गर्न समेत आदेश दिइएको छ ।
बैंक वित्तीय संस्था, बीमा कम्पनी लगायतका कम्पनीहरुको उच्च पदस्थ कर्मचारी तथा प्रमुख कार्यकारी अधिकृतहरुले ४० लाख भन्दा बढी तलब सुविधा बुझ्दै आइरहेका छन् ।