काठमाडौं । शेयर बजारमा तिव्र उतारचढाव देखिएको छ । कारोबार खुलेको केहि समयमै घट्न थालेको नेप्से केहि समयमै बाउन्स व्याक भएर सुधार भयो । आज अधिकतम १९४६ अंकसम्म पुगेको शेयर बजार अन्तिम समयमा भने १९३९.६१ अंकमा रोकिएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले केहि सिमित लगानीकर्ताले आम लगानीकर्तालाई गुमराहामा पार्न खोजेको भन्दै दिएको अभिव्यक्तिले बजार घट्छ भन्ने अनुमान गरिए पनि अन्तत बजार बढ्यो । अर्थमन्त्री महत बजार प्रति सकारात्मक छन् । तर उनको नीतिलाई लिएर केहि लगानीकर्ताले गलत प्रचार गरेको प्रति भने उनले आक्रोश व्यक्त गर्दै आइरहेका छन् ।
यसै क्रममा आज साताको अन्तिम दिन ७.२७ अंकले सुधार भएको छ । सूचक सँगै कारोबार रकम पनि २ अर्ब ३० करोड नाघेको छ । ९३ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ११४ वटा कम्पनीको शेयर मूल्यमा भने भारी गिरावट आएको छ ।
आज बाणिज्य बैंक, होटल, हाइड्रोपावर र उत्पादन तथा प्रशोधनमुलक सूचकमा गिरावट देखिए पनि अन्य सूचक तथा उपसूचकमा सुधार देखिन्छ ।