काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा शाखा कार्यालय खोलेको छ । बैंकिङ सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
गोकर्णेश्वर नगरपालिका ४ मा स्थापित गोकर्ण शाखाको उद्घाटन नगर प्रमुख दिपककुमार रिसाल र बैंकका सञ्चालक रामकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । उद्घाटन समारोहमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललगायत विभिन्न पदाधिकारी, कर्मचारी, ग्राहक तथा स्थानीय व्यवसायीको पनि उपस्थिति थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपककुमार रिसालले बैंकको नयाँ शाखाले सो क्षेत्रका ग्राहकका लागि बैंकिङ सेवा थप सुलभ र सहज बनाई वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी गर्दै सो क्षेत्रको आर्थिक वृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
बैंकका सञ्चालक रामकुमार श्रेष्ठले नयाँ शाखामार्फत बैंकिङ सेवा थप विस्तार भएको र आगामी दिनमा पनि ज्योति विकास बैंकले सेवाग्राहीलाई अझ सहज, सरल र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शाखा विस्तारसँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकले १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।