काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ९ महिनामा कम्पनीले ४ अर्ब १ करोड माथि बीमा कुल शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ७९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । एक वर्षको अवधिमा कुल बीमा शुल्क आर्जन करीब ६ प्रतिशतले वृद्धि भएको छ ।
तेश्रो त्रैमाससम्म कम्पनीले १५ करोड १ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्ष यो नाफा १४ करोड ६३ लाख थियो ।
२ अर्ब ६२ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा १ अर्ब २८ करोड रहेको छ । एक वर्षको अवधिमा जगेडा रकम ५४ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोष ५३ प्रतिशतले वृद्धि हुँदै ८ अर्ब ४७ करोड पुगेको छ। एक वर्ष अघि जीवन बीमा कोषमा ५ अर्ब ५३ करोड थियो ।
दावी भुक्तानीमा पनि कम्पनी आक्रामक देखिएको छ। कुल दावी भुक्तानी ५० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३३ करोड पुगेको छ ।