काठमाडौं । बैंक तथा वित्तीय सस्थाहरूमा एकै दिन ६ अर्बले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार वाणिज्य बैंकमा एकै दिन ५ अर्बले र वाणिज्य बैंक बाहेकका अन्य बैंक तथा वित्तीय सस्थामा १ अर्बले निक्षेप वृद्धि हुँदा समस्त बैंकिङ प्रणालीमा ६ अर्बले निक्षेप वृद्धि भएको हो ।
चैत २० गते बैंकिङ प्रणालीमा ५४ खर्ब २४ अर्ब निक्षेप रहेकोमा अर्को दिन अर्थात् चैत २१ गते निक्षेप बढेर ५४ खर्ब ३० अर्ब पुगेको छ । कुल निक्षेपमा वाणिज्य बैंकले संकलन गरेको निक्षेप ४७ खर्ब ८९ अर्ब रहेको छ ।
त्यस्तै कर्जा प्रवाह घटेको छ । एक दिनको अवधिमा कर्जा प्रवाह ३ अर्बले घट्दै ४८ खर्ब २२ अर्ब पुगेको छ जसमा वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जा ४२ खर्ब ७८ अर्ब रहेको छ । ३ अर्ब कर्जा वाणिज्य बैंकमा घटेको हो ।
कर्जा घटेको र निक्षेप आकर्षक वृद्धि हुँदा सिडी रेसियो ८५ दशमलव ४३ प्रतिशतमा झरेको छ । अघिल्लो दिन सिडी रेसियो ८५ दशमलव ६३ प्रतिशत थियो । केही समय देखि बैंकले कर्जा प्रवाह कम गर्दा र निक्षेप निरन्तर वृद्धि हुँदा सिडी रेसियो सहज हुँदै आएको छ। सिडी रेसियो कम हुनुले बैंकमा तरलता बढ्दै गएको संकेत गर्छ । तरलता वृद्धि हुँदा बैंकलाई ब्याज घटाउन सहयोग पुग्छ ।
अन्तर बैंक ब्याजदर ७ प्रतिशत छ । अघिल्लो दिन ७ दशमलव ०२ प्रतिशत छ ।