काठमाडौं । कुनै पनि बीमा गरिएको सम्पत्तिको क्षति हुनुमा विभिन्न घट्नाक्रम र कारणहरु हुन सक्दछ । मुलभुत रुपमा क्षतिको कारण तथा परिणाम रक्षावरण गरिएको जोखिमले भएको हुन्छ । उक्त कारक तत्व उक्त क्षति गराउनुमा सबैभन्दा निकटत्तम र प्रत्यक्ष रुपले सक्रिय भएको हुन्छ । क्षतिको घटनाक्रम अन्य कुनै तत्वले अवरोध नपुर्याएको हुनु पर्दछ । यसैलाई नै निकटतम कारणको सिद्धान्त (Proximate Cause) भनिन्छ । यो बीमाको आधारभुत र महत्वपुर्ण सिद्धान्त मध्ये एक सिद्धान्त हो ।
घटनाक्रम- १
कुनै एक बीमितले आफनो प्लाष्टिक कारखानाको सम्पत्ति बीमालेख अन्तर्गत बीमा गराएका थिए । जसमा कच्चा पदार्थ, तयारी बस्तु तथा कारखानामा प्रयोग हुने मेसिनहरु समेत थिए ।
उक्त कारखानामा काम भइरहेको अवस्थामा अचानक उक्त बीमा गरिएको मेसिनले काम गर्न छोड्यो । बीमितले उक्त घटनाको बारेमा बीमकलाई लिखित जानकारी गराउछन् । बीमा कम्पनीले उक्त क्षति मुल्याकंनका लागि सर्भेयर नियुक्त गर्छ । सर्भेयरले आफनो सर्भेको काम शुरु गर्छन् र थाहा पाउँछन कि उक्त मेसिन internal ब्रेक डाउनका कारण क्षति भएको र बीमितले सम्पत्ति बीमा मात्र गराएको हुनाले सम्पत्ति बीमा अन्तर्गत उक्त क्षति बस्तुत नपर्ने भएकोले उक्त दावी अस्वीकृत भएको भनि बीमकलाई रिर्पोट दिन्छन । सोही अनुरुप बीमकले बीमितलाई लिखित जानकारी गराउंदछ ।
सम्पत्ति बीमा अन्तर्गत बीमा गरिएको सम्पत्ति आगलागि, चट्याङ, भूकम्प, बाढी, डुबान, हुरी, बतास, आधीबेरी, पहिरो, भुस्खलन, हवाई यान तथा आकाशमा उडने बस्तुको कारणले भएको क्षति, धक्का दिएर, छोएर, लडेर वा लागेर भएको क्षति जस्ता कारणबाट भएको हानीनोक्सानीको क्षतिपुर्ति प्रदान गर्दछ ।
माथि उल्लेख भएको मेसिनको क्षतिमा यी कुनै पनि तत्वहरु क्षतिका कारक थिएनन्, त्यसैले दावी अस्वीकृत गरियो । दावीकर्ताले उक्त क्षति वापत दावी प्राप्त गर्नका लागि ईन्जिनियरिé बीमा अन्र्तगत मेसिनरी ब्रेक डाउन बीमा गराएको भए दावी रकम प्राप्त गर्थे ।
घटनाक्रम- २
बीमितले आफनो व्यवसायको प्रयोजनका लागि सिगांपुरबाट आईप्याड मगाएका थिए र उनले सामुन्द्रिक बीमा अन्तर्गत सम्पुर्ण जोखिम (All Risks)को बीमा गराएका थिए । बीमालेख बमोजिम उक्त consignment सिंगापुरबाट काठमाण्डौं आउदै गर्दा केही आईप्याड चोरी भयो र उक्त घटनाको जानकारी बीमितले बीमकलाई दिए, बीमकले आफनो सर्भेयर नियुक्ति गरे र उक्त सर्भेयरले बीमित सगं समन्वय गरि आफनो सर्भे रिर्पोट बीमक समक्ष पेश गर्यो । सामुन्द्रिक बीमालेख बमोजिम सम्पुर्ण जोखिम अन्तर्गत चोरीको जोखिम वहन हुने भएकोले बीमितले उक्त क्षति वापत दावी रकम प्राप्त गरे ।
घटनाक्रम- ३
बीमितले आफनो व्यवसाय अन्तर्गत सचांलनमा रहेको कोल्ड स्टोरेजको बीमा सम्पत्ति बीमा अन्तर्गत गरेका थिए । उनले बीमा गराएका सम्पत्तिहरुमा भवन, रिफ्रिजेरेटर, फनिर्चर तथा त्यहां अवस्थित अन्य मेसिनहरु र फलफुल थियो ।
बीमितले एकदिन रिफ्रिजेरेटरको तापक्रममा आएको गडबढीको कारणले कोल्ड स्टोरेजमा राखिएको फलफुल बिग्रिएको अवस्थामा फेला पारे र उक्त घटनाको जानकारी बीमकलाई लिखित रुपमा दिई, उक्त क्षति वापत दावी पाउं भनि निवेदन दिए ।
दावी विभागका कर्मचारीले उक्त निवेदन प्राप्त भए पछि दावीकर्ताले उल्लेख गरेको बीमालेखबाट बीमितले सम्पत्ति बीमा मात्र गरेको हुनाले उक्त दावी नपाउने निर्क्योल गरेपछि क्षतिपुर्ति नपाइने व्यहोरा उल्लेख गरि दावी अस्वीकृत भएको लिखित जानकारी बीमितलाई दिए ।
सम्पत्ति बीमाले रिफ्रिजेरेटरको तापक्रमको गढबडीका कारण फलफुल विग्रिएको जोखिम वहन गर्दैंन । यस्का लागि छुटटै बीमा Deterioration of stock गर्न पर्ने हुन्छ ।
घटनाक्रम- ४
बीमितले हाइड्रोपावर परियोजनामा कार्यरत आफना कर्मचारीहरुको दुर्घटना बीमा गराएका थिए । एक प्राविधिक ट्रान्समिसन लाइन विस्तारको क्रममा टावरबाट खस्न गई सख्त घाइते हुन्छन र उनलाई तत्काल अस्पताल पुर्याइ, उपचार गरिन्छ तर र्दुभाग्यवस केही दिन पछि उनको उपचारको क्रममा मृत्यु हुन्छ ।
बीमितले ती मृतक कर्मचारीको दावी प्रकृया प्रारम्भ गर्दछ र दावीका लागि आवश्यक सम्पुर्ण कागाजातहरु बीमा कम्पनीमा पेश गर्दछ तर उक्त दावी बीमकले अस्वीकृत गर्दछ कारण मृत्युको एक मात्र कारण दुर्घटना नभई निमोनिया भएको र उक्त तथ्य मृत्यु प्रमाणपत्रले प्रमाणित गरेकोले उक्त दावी अस्वीकृत भएको जानकारी दिन्छन् ।
दुर्घटना बीमा अन्तर्गत ”दुर्घटना“ को परिभाषा यस प्रकार छ ”दुर्घटना“ भन्नाले बाहिरी आखांले स्पष्ट देख्न सकिने र सांघातिक माध्यमबाट हुने आकस्मिक र अप्रत्याशित घटना ।
यहाँ यो स्पष्ट गर्न आवश्यक छ कि उक्त कर्मचारी (मृतक) टावरबाट खसेर उनको अगंभग वा मृत्यु भएको भए दुर्घटना बीमा अन्तर्गत उनका परिवारले दावी रकम प्राप्त गर्थे कारण उक्त क्षति बाहिरी आखाँले स्पष्ट देख्न सकिने अवस्था रहन्थ्यो तर उनको मृत्युको कारण निमोनिया (रोग) हुन गएकोले यहाँ घटनाको निकटम, प्रत्यक्ष कारण रोग भएर आयो । र ”रोग” बाहिरी आखांले स्पष्ट देख्न सकिने नभई आन्तरिक हुने कुरा त सबैलाई विदितै भएकै विषय हो ।
यस अर्थमा घटना घट्नाले मात्र दावी पाइने कुरा होइन यसका लागि घटना सगैं क्षतिको एक मात्र प्रत्यक्ष कारक तत्व बीमा गरिएको जोखिमबाट भएको हुनु पर्दछ र उक्त कारकलाई अर्को तत्वले ईन्टरभेन नगरेको अवस्था हुनु पर्दछ र महत्वपुर्ण कुरा उक्त र्दुघटनाको परिणाम पनि रक्षावरण गरिएको जोखिमले नै भएको हुनु पर्दछ । यसैलाइै नै निकटतम कारणको सिद्धान्त (Proximate Cause) भनिन्छ ।
यस बाहेक कतिपय घटना र दुर्घटना बाहिर हेर्दा साधारण जस्तो देखिएता पनि जटिल प्रकृतिका पनि हुन सक्दछ । तसर्थ यसको प्रकृति र बीमालेखलाई सुक्ष्म तरिकाले अध्ययन गर्न र यस्को आशय बुझ्न आवश्यक हुन्छ भने कतिपय अवस्थाहरुमा थप दावीकर्ताको मनसाय र घट्नाक्रमलाई विश्लेषण गरि अनुसन्धान गर्न पनि जरुरी देखिन्छ । यसका लागि सबै भन्दा महत्वपुर्ण कुरा विशेषज्ञता र ज्ञानमा भर पर्दछ । र समयमा नै यी विषयमा ध्यान नदिने हो भने उक्त दुर्घटना र दावी ले ठुलो आकार लिदै जान पनि सक्दछ ।