काठमाडौं । निरन्तर लाभांश, वित्तीय हिसाबले बलियो क्षेत्रको रूपमा वाणिज्य बैंक क्षेत्रलाई हेरिन्छ तर दोश्रो बजारको मूल्यले भने सो कुरालाई प्रमाणित गर्न सकेको छैन् । हाल २० वाणिज्य बैंकको शेयर नेप्सेमा कारोबार हुने गरेको छ सो मध्ये ७ वाणिज्य बैंकको शेयर मूल्य २०० भन्दा कममा कारोबार भएको छ ।
कुमारी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर मूल्य २०० रुपैयाँ भन्दा कम छ । त्यस्तै २० वाणिज्य बैंकको औसत मूल्य ३०३ रुपैयाँ छ ।
वित्तीय रूपमा बलियो हुँदा हुँदैपनि दोश्रो बजारमा राम्रो गर्न नसकेको कारण कम्पनीको पूँजी रहेको छ। अत्यधिक पूँजीको कारणले गर्दा थोरै शेयर मूल्य वृद्धि भए लगत्तै विक्री चाप आउने गरेको छ । शेयर संख्या धेरै भएका कम्पनीमा उतारचढाव कम देखिन्छ । जसको कारणले गर्दा बजारले माथिल्लो र्याली समात्दा शेयरहरु अन्य शेयरको तुलनामा कम वृद्धि हुने गर्छन । त्यस्तै, शेयर बजारमा युवा लगानीकर्ताको संख्या दिन प्रतिदिन वृद्धि भएको र युवा लगानीकर्ताले ट्रेडिङ्गमा धेरै केन्द्रित भएकोले उनीहरुले थोरै पुँजी भएका शेयरमा खेल्ने गरेका छन् । शेयर बजार प्रविधिमैत्री भएसँगै युवा लगानीकर्ताको संख्या दिन दिने वृद्धि हुँदै गएको छ ।
बैंकहरूलाई पूँजी वृद्धिमा केन्द्रित गराउँदा समस्या भएको शेयर बजारका जानकार बताउँछन् । नियामकले एकै पटक ४ गुणा पूँजी वृद्धि योजना ल्याउँदा त्यसको समस्या वाणिज्य बैंकको शेयर मूल्यमा अहिलेसम्म परेको जानकर बताउँछन् । जगेडा वृद्धि गर्दा पनि शेयरधनीको इक्विटी वृद्धि हुन्थ्यो तर पूँजी वृद्धि गर्दा बैंकको आरओई देखि लाभांश नै घट्दा वाणिज्य बैंकमा ठूलो ग्रुप र विदेशीलाई ल्याउन अबको दिनमा मुस्किल पर्ने देखिन्छ ।
नेप्सेमा कारोबार हुने २० वाणिज्य बैंक मध्ये कुमारी बैंकको शेयर मूल्य सबै भन्दा कम १७९ रुपैयाँ छ भने एनआईसी एशिया बैंकको शेयर मुल्य सर्वाधिक ७९६ रुपैयाँ छ ।
पोर्टफोलियोमा वाणिज्य बैंक राख्दा केही रिस्क कम हुने कुराको चर्चा शेयर बजारमा चल्ने गर्छ । धेरै जोखिम लिएर एउटै क्षेत्रमा लगानी गर्दा ठीक नहुने देखिन्छ । पोर्टफोलियो व्यवस्थापनको सिद्धान्त अनुसार सबै लगानी एकै क्षेत्रमा गर्नु ठीक पनि हुँदैन । केही शेयर सस्ता भए पनि वित्तिय रुपमा बलियो शेयर किन्दा अप्ठेरोमा सहयोग गर्ने सम्भावन पनि हुन्छ ।