काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि अब थप पाँच स्थानबाट आवेदन दिन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना जारी गर्दै आवेदन दिनका लागि थप पाँच स्थान तोकेको हो ।
विभागका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भक्तपुर र ललितपुर बाहेक वाग्मती प्रदेशका सबै जिल्लाका नागरिकले परिचयपत्रका लागि आवेदन दिन सक्नेछन् ।
यसैगरी, नारायणहिटी दरबार परिसरबाट कोशी, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश न.२ का सिरहा, महोत्तरी, बारा र रौतहट जिल्लाका सेवाग्राहीले आवेदन दिन सक्नेछन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा भने नेपाल सरकारतथा मातहतका कर्मचारी, पूर्व कर्मचारी तथा विशिष्ट पदाधिकारीले आवेदन दिन सक्नेछन् । साथै राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गबाट भने राष्ट्रसेवक कर्मचारीका परिवारले आवेदन दिन सक्नेछन् ।
साथै, जिल्ला प्रशासन कार्यालय ललितपुबाट भने कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका सबै तथा मधेश प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिन सकिने विभागले जनाएको छ ।