काठमाडौं । यहि चैत ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिका सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालय कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन तालिका प्रकाशन भएसँगै वार्षिक प्रणाली अनुसार भइरहेको स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द हुने त्रिविले जनाएको छ ।
निर्देशनालयले फागुन १९ देखि चैत ५ गतेसम्मको निर्वाचन तालिका सार्वजनिक गरेको छ । उक्त तालिका अनुसार फागुन १९ गते विद्यार्थी संगठन दर्ता गर्ने दिन तोकिएको छ । यसैगरी क्रमश फागुन २१ गते मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचिमा दाबी बिरोधको समय तोकिएको छ । साथै फागुन २६ गचे उम्मेदवारको मनोनयनपत्र वितरण गर्ने, २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने रहेको छ । फागुन २८ गते बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारीको नामावलीमाथि दाबी बिरोध र सोहि दिन साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्देशनालयले जनाएको छ ।
साथै चुनाव प्रचारप्रसारका लागि भने फागुन २९ देखि चैत २ गते राति १२ बजेसम्म मात्र समय तोकिएको छ । फागुन ५ गते भने बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदनको समय तोकिएको हो ।
त्रिविले २०५१ चैत १८ वा सोभन्दा पछि जन्मेकालाई मात्र विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने त्रिविले जनाएको छ ।