काठमाडौं । नेपालले ५ महिनामा करिव १४ करोडको पान मसला र पानको पात आयात गरेको छ । साउन देखि मंसिर महिनासम्मको अवधिमा १२ करोड ९० लाख बराबरको पान मसला आयात भएको छ । ६८ हजार ९७६ केजी आयात हुँदा उक्त परिमाणको रकम नेपालबाट भारत बाहिरिएको हो । त्यस्तै ५ महिनामा १ करोड १० लाख बराबरको पानको पात पनि नेपाल आएको छ । ५१ हजार ६४५ केजी पानको पात यो ५ महिनामा नेपाल आएको हो ।
यो औपचारिक रुपमा भन्सार तिरेर आएको तथ्यांक हो । खुला सीमाको कारणले गर्दा अनौपचारिक माध्यमबाट यो भन्दा निकै ठूलो परिमाणमा पान मसला र पानको पात आएको हुनु पर्छ । पहाड र हिमाली जिल्ला भन्दा तराईका क्षेत्रमा अत्याधिक रुपमा पानको खपत हुने गर्दछ । तर,अहिले राजधानी सहित देशका प्रमुख शहरहरुमा पानको व्यापार बढिरहेको छ । निकट भविष्यमा पानको आयात अझै वृद्धि हुने देखिन्छ ।