रुपन्देही । तिलोत्तमामा केन्द्रित भलवारी जेसिजको वर्ष २०२३ को अध्यक्षमा सक्रिय शेयर लगानीकर्ता माधव पाण्डेय निर्वाचित भएका छन् । भलवारी जेसिजको पुष १ गते सम्पन्न २० औं शाखा अधिवेशनबाट अध्यक्षमा पाण्डेय सहित सिंगो कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
नेपाल पूँजीबजार लगानीकर्ता संघ, लुम्बिनी प्रदेश संयोजक माधव पाण्डेय हाल भलवारी जेसिजको वर्ष २०२२ को कोषाध्यक्षको रुपमा कार्यरत छन् ।
त्यस्तै, भलवारी जेसीस सन् २०२३ को लागि कार्यकारिणी उपाध्यक्ष पदमा लोकनाथ खनाल(सन्तोष) र सुलभ कार्की, उपाध्यक्षमा रमेश खनाल, अरुण पन्थी, रूपेश पाण्डे र प्रांजल पंगेनी चयन भएका छन् । त्यस्तै सह-सचिवमा प्रेम नारायण पंगेनी( अमित) र सह- कोषाध्यक्ष पदमा किरण पाठक सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । भलवारी जेसिजले सन् २०१८ मा नेपाल जेसिजको विशेष साधारणसभामा आथित्यता गरेको थियो भने सन् २०२१ मा नेपाल जेसिजको राष्ट्रिय महाधिवेशनको आथित्यता गरेको थियो ।
निर्वाचित अध्यक्ष पाण्डेले भलवारी जेसिजको कुनै पनि कार्यक्रममा आयातीत खादा, माला र मायाको चिनोको प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै आफ्नो कार्यकालमा युवाहरुको व्यक्तित्व र नेतृत्व विकाससँगै उद्यमशीलता विकासमा सहयोग पुग्ने खालका विभिन्न तालीमहरु आयोजना गर्ने जानकारी दिएका छन् ।