काठमाडौं । बीमा अभिकर्ताहरुले नियम अनुसार बीमा पोलिसी नविकरण छुटको सुविधा पोलिसी अवधिभर कायम रहनु पर्ने माग राखेका छन् । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमा कम्पनीहरुले मनलाग्दी ब्याज छुटको समय सिमा तोक्ने अभ्यासको विरोध गरेका हुन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताले व्यतित बीमालेखको विलम्ब छुट र बीमालेख धितोकर्जाको व्याजदर परिवर्तनका विषयमा कम्पनीले एकलौटी रुपमा निर्णय गरेको भन्दै विरोध जनाएका हुन् । कम्पनीले बीमा नविकरण छुटलाई १० दिनको मात्रै समय सिमा तोकी छुट दिने व्यवस्था गरेको हुँदा उक्त निर्णयलाई तत्काल फिर्ता लिन समेत अनुरोध गरेका छन् ।
उनिहरुले यस्तो व्यवस्थालाई बीमितले बीमा अवधिभर जुनसुकै बेला पनि उक्त छुट सुविधा पाउनु पर्ने व्यवस्था गर्न निर्देशन दिएका छन् । त्यस्तै बीमालेख धितो कर्जामा लाग्ने व्याज बढाएको विषयमा पनि अभिकर्ताले विरोध जनाएका छन् । उनिहरुले हालको आर्थिक विषम परिस्थितिलाई मध्यनजर नगरी गैरजिम्मेवार ढंगले एक्कासी वार्षिक १० प्रतिशतबाट १२ प्रतिशतमा बृद्धिगरी बीमित माथि अन्याय गरिएको भन्दै विरोध जनाएका हुन् ।
कम्पनीले यस्तो निर्णय यथासिघ्र फिर्ता नलिएमा पेशागत बीमा अभिकर्ता संघ बीमक केन्द्रिय समिति नेपाल लाइफ जस्तो सुकै कठोर निर्णय गर्न पनि बाध्य रहने चेतावनी समेत दिएका छन् ।