काठमाडौं । दोस्रो सफल मर्जरको इतिहास सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले रचेका छन् । दुई कम्पनीले यहि कार्तिक ७ गतेदेखि एकिकृत कारोबार गर्ने घोषणा गरेका छन् । यस भन्दा अगाडी हिमालयन जरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीले पहिलो सफल मर्जर गरेका थिए । अहिले दुई कम्पनी मर्ज भइ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको रुपमा सञ्चालन भइरहेको छ । हिमालयन एभरेष्ट पछि सानिमा जिआइसी दोस्रो मर्जरको इतिहास रच्न सफल भएको छ ।
दुबै कम्पनीले असोज ११ गते विशेष साधारणसभा मार्फत मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए । विशेष साधारणसभाबाट पारित गरे सँगै बीमा समितिले दुबै कम्पनीलाई असोज १४ गते मर्जरको लागि अन्तिम स्वीकृति पत्र प्रदान गरेको थियो ।
कम्पनी रजिष्ट्रार कार्यालयले पनि असोज २७ गते स्वीकृति दिइसकेको छ । गाभ्ने र गाभिने कम्पनीको गाभ्ने गाभिने हुने अन्तिम दिनसम्म कायम रहने सम्पुर्ण सम्पत्ती र दायित्वहरु नयाँ बन्ने कम्पनी सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले सकार्ने गरी स्वीकृत दिएको हो ।
संयुक्त मर्जर समितिको असोज ३१ गतेको निर्णयले मर्जर पश्चात सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट कार्तिक ७ गते सोमबारदेखि निर्जीवन बीमा सेवाको एकिकृत कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो । मर्जस समितिले दुबै कम्पनीका ग्राहक वर्ग, अभिकर्ता, सर्भेयर, शेयरधनी, नियमनकारी निकाय तथा सम्पुर्ण सरोकारवालाहरुलाई कार्तिक ७ गतेदेखि एकिकृत कारोबार गर्न थालिएको भन्दै जानकारी गराएको छ ।
बीमा समितिले चैत १० गते न्युनतम चुक्ता पूँजी बृद्धि गर्दै कम्पनीहरुलाई मर्जरका लागि दवाव दिदै आएको छ । हाल १९ वटा कम्पनीले मर्जरको प्रकृयाँमा छन् । समितिले चैतसम्म कम्पनीहरुलाई आफुखुसी मर्जरको सहमति गर्न दिने र त्यस पछि फोर्स मर्जरको नीति लिने योजनामा छ । त्यसैले अहिले पनि मर्जरको सहमितपत्रमा हस्ताक्षर नगरेका कम्पनीहरु पनि जोडी खोजि रहेका छन् ।