काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते एक दिन बुक क्लोज गर्ने भएकाले आज असोज २७ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
यस वर्ष कम्पनीले करसमेत गरी ९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू १४ अर्ब २० करोड ९ लाख ७४ हजार रहेको छ । सोही पूँजीको आधारमा रू १ अर्ब २७ करोड ८० लाख बराबरको नगद लाभांश कम्पनीले वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश पारितका लागि कम्पनीले आगामी कात्तिक ४ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गरेको यस कम्पनीले साधारण सभासमेत सबैभन्दा पहिला गर्न लागेको हो ।
कम्पनीले सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंको विहान ११ बजे सभा बोलाएको छ ।