काठमाण्डौं । पछिल्लो एक दशकको अवधिमा नेपालको बीमा व्यवसायले औसत २२ प्रतिशतको उल्लेखनीय वृद्धि दर हासिल गरेको छ । बीमा समितिले प्रकाशन गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०६९/७० देखि आ.व. २०७९/८० सम्ममा बीमा व्यवसायको औसत वार्षिक वृद्धिदर २२ प्रतिशत रहेको छ ।
पछिल्लो दश वर्षको अवधिमा बीमा कम्पनीहरुले आठ खर्ब १६ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो मध्ये आ.व. २०७५/७६ देखि आ.व. २०७८/७९ सम्ममा चार वर्षको अवधिमै ६६ प्रतिशतभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् ।
समितिका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीको कूल बीमशुल्क आम्दानी आ.व. २०६९/७० मा २४ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । आ.व. २०७९/८० मा आइपुग्दा यो वृद्धि भएर १ खर्ब ७७ अर्ब ५० करोड रुपैयाँ नाघेको छ ।
आ.व. २०७५/७६ सम्म अर्बको आँकडा रहेको कूल बीमाशुल्क आम्दानी पहिलो पटक खर्बमा उक्लिएर आ.व. २०७६/७७ मा १ खर्ब २१ करोड रुपैयाँ पुगेको थियो ।
बीमा समितिका अनुसार बीमा व्यवसायको आकार वृद्धि हुँदै जाँदा बीमामा पहुँच हुने जनसंख्या पनि क्रमशः वृद्धि हुँदै गएको छ । कूल गार्हस्थ उत्पादनमा कूल बीमाशुल्क प्रतिशतको आधारमा योगदान १ प्रतिशत हाराहारीमा रहेकोमा आ.व. २०७९/८० मा उक्लिएर ३.६७ प्रतिशत पुगेको छ । आ.व. २०७९/८० सम्ममा बीमालेख बिक्री संख्याको आधारमा कूल जनसंख्याको ३८.२६ प्रतिशतमा बीमाको पहुँच पुगेको छ ।