काठमाडौं । बडा दशैंको अवसरमा एक साताभन्दा लामो अवधिको लागी कार्यालय बन्द रहने भएपछि बीमा कम्पनीहरुले ग्राहक सेवालाई वैकल्पिकरुपमा निरन्तरता दिने भएका छन् । निर्जीवन बीमा कम्पनीमध्ये नेपाल इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सले बडा दशैंको सार्वजनिक बिदा तथा शनिबारको दिन समेत प्रधान कार्यालय खुल्ला नै राख्ने भएको छ ।
त्यसैगरी शिखर इन्स्योरेन्स, प्रभू इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्सले बीमा दाबी, अण्डरराइटिङ र बीमालेख बिक्री सम्बन्धी सेवा लिनको लागी ग्राहकलाई सम्बन्धित विभागका कर्मचारीको सम्पर्क नम्बर सामाजिक संजाल तथा आधिकारिक वेब साइटमार्फत् उपलब्ध गराएका छन् ।
नेपाल इन्स्योरेन्सको सूचना अनुसार दशैंको बिदाका बेला असोज १६ देखि १८ गतेसम्म कार्यालय खुल्ला रहनेछ । त्यसैगरी अजोड इन्स्योरेन्सको प्रधान कार्यालय असोज १५ देखि १८ गतेसम्म, त्यसपछि २१ गतेदेखि २२ गतेसम्म र दशैं पछि असोज २९ गते शनिबारका दिन समेत खुल्ला रहनेछ ।