काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि यहि भदौ २९ देखि असोज २ गतेसम्म आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले केहि दिन अगाडी आयोजना प्रभावितलाई सेयर बाँडफाँट गरेको थियो ।
प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता शेयर जारी गर्न लागेको हो । यस मध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम एक लाखकित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले १३ मेगावट क्षमता आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लगात २ अर्ब ३१ करोड ७६ लाख ५५ हजार छ भने प्रति मेगावाट उत्पादन लागत लगभग १७ करोड ८२ लाख ८१ हजार रुपैयाँ छ ।