काठमाडौं । निर्जीवन बीमा व्यवसायमा पनि विस्तारै मन्दीको संकेत देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामै निर्जीवन बीमा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा गिरावट आएको छ । निर्जीवन बीमा कम्पनीले साउनमा २ लाख २१ हजार पोलिसी जारी गरेका छन् । उक्त पोलिसी मार्फत ४ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
कम्पनीले गत आर्थिक वर्षको पहिलो महिनामा २ लाख ४१ हजार वटा पोलिसी बिक्री गरेका थिए । तर बीमा शुल्क आर्जन भने जम्मा २ अर्ब ९९ करोड रुपैयाँ मात्रै थियो । बीमा समितिले नन ट्यारिफ र इन्जिनियरिङ बीमाको दर बढाए सँगै बीमा कम्पनीको बीमा शुल्क आर्जन बढेको देखिन्छ । तर पोलिसी संख्या घट्नुले भने राम्रो संकेत गर्दैन ।
कम्पनीले गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै २ लाख ४४ हजार वटा पोलिसी जारी गरी ५ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । एक महिनामै कम्पनीहरुको व्यवसायमा गिरावट देखिएको छ । अझ जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले एक लाख ६७ हजार वटा पोलिसी जारी गरी २ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । त्यस्तै गत बैशाख महिनामा निर्जीवन बीमा कम्पनीले २ लाख ४४ हजार वटा पोलिसी जारी गरी ५ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका थिए ।
निर्जीवन बीमा कम्पनीहरुलाई पनि नयाँ व्यवसाय पाउन र नविकरण हम्मे हम्मे परिरहेको छ । बैंकले नयाँ कर्जा प्रवाह नगर्दा नयाँ व्यवसाय खुल्न सकेको छैन । नयाँ व्यवसाय नपाउने अवस्थामा अन्य कम्पनीकै व्यवसाय खोस्नु पर्ने अवस्थामा बीमा कम्पनी छन् । यदि आर्थिक मन्दी विस्तारै सुधार भएन भने चालु आर्थिक वर्षमा बीमा कम्पनीको व्यवसायिक बृद्धिदर खुम्चिने बीमकहरु बताउछन् ।
यस वर्षको साउन महिनामा मात्रै नेको इन्स्योरेन्स कम्पनीले सर्वाधिक धेरै २१ हजार ८९९ वटा पोलिसी जारी गरी २७ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बीमा शुल्क तर्फहेर्ने हो भने सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको छ । कम्पनीले ८४ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जवकी कम्पनीले ३ हजार ११२ वटा मात्रै पोलिसी जारी गरेको पाइएको छ । राष्ट्रिय बीमा कम्पनीले सरकारको व्यवसाय गर्ने भएकाले पनि बीमा शुल्क आर्जन धेरै गरेको देखिएको हो ।
दोस्रो धेरै बीमा लेख जारी गर्नेमा शिखर रहेको छ । शिखरले २० हजार ९१७ वटा पोलिसी जारी गरेको छ । यस पोलिसीबाट ३५ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हिमालयन र एभरेष्ट मर्जर सँगै पोलसी जारी भएको हिसावले तेस्रो नम्बरमा आएको छ । कम्पनीले साउन महिनामा मात्रै १८ हजार ७१३ वटा पोलिसी जारी गरेको छ । जस मार्फत ३३ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
हेर्नुहोस् कुन कम्पनीको कति सूची