काठमाडौं । बीमा समितिले अभिकर्ता तथा बीमा मध्यस्थकर्ताको परिक्षाको छुट्टै कार्यविधि बनाउने भएको छ । समितिले अभिकर्ताको लाइसेन्स लिनु भन्दा अगाडी परिक्षा लिने व्यवस्था गरे सँगै यसको कार्यविधिको पनि तयारी गरेको छ । सोही क्रममा बीमा समितिको भदौ ६ गतेको निर्णयले बीमा मध्यस्थकर्ताहरुको परीक्षा सम्बन्धी कार्यविधि २०७९, मस्यौदा तयार गर्न उप समिति गठन गरेको हो ।
उक्त समितिको संयोजकमा बीमा समितिका सञ्चालक कपिलदेव ओली रहेका छन् । नेपाल बीमक संघको तर्फबाट एक जना प्रतिनिधि रहेका छन् । त्यस्तै जीवन बीमक संघको तर्फबाट सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल छन् । इन्स्योरेन्स इन्ष्टिच्युट नेपालका कार्यकारी प्रमुख भोजराज शर्मा र बीमा समितिका निर्देशक कमल प्रसाद रेग्मी सदश्य सचिव छन् ।
उक्त उप समितिले बीमा मध्यस्थकर्ताको रुपमा काम गर्ने बीमा अभिकर्ता, बीमा सर्भेयर, बीमा दलाल, तेस्रो पक्ष सहजकर्ता आदी पर्छन् । समितिले पहिलो चरणमा अभिकर्ताको परिक्षालाई प्राथमिकता दिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । अहिले अभिकर्तालाई लाइसेन्स दिदा के कस्ता कार्यविधिहरु आवस्यक पर्छ यहि उपसमितिले तय गर्छ । समितिले यो उपसिमितिमा प्रतिनिधित्व जनाउने दुबै बीमक संघबाट विज्ञ सदश्यहलाई पठाउन अनुरोध गरेको छ । प्रमुख कार्यकारी अधिकृत नै हुन नपर्ने तर बीमा मध्यस्थकर्ताको विषयमा धेरै बुझेको व्यक्तिलाई प्रतिनिधि पठाउन अनुरोध गरिएको पौडेलले जानकारी दिए ।
यस उपसमितिले मध्यस्थकर्ताको कार्यविधि बनाउनेछ । उक्त कार्यविधिका आधारमा अभिकर्ताको परिक्षा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।