काठमाडौं । वार्षिक धन लाभ जीवन बीमा योजना झट्ट हेर्दा बीमित र बीमा कम्पनी दुबैको लागी फाइदाजनक देखिए पनि वास्तवमा यो दुबै पक्षको लागी घाटाको सौदा हो । बीमा अवधि बित्दै जाँदा बीमा कम्पनीले बीमितको रकम बीमितलाई नै फिर्ता दिइ सक्ने अवस्था हुने भएकाले यसको बोनश दर कमजोर हुनेमा कुनै शंका छैन ।
अर्कोतर्फ अग्रिम भुक्तानी वापतको रकम फिर्ता दिंदै गएपनि बीमा कम्पनीले पुरै बीमांक बराबरको जोखिम बहन गर्नुपर्छ । उदाहरणको लागी १० लाख रुपैयाँ बीमांकको २० वर्षे अवधिको लागी वार्षिक धन लाभ बीमा योजना कुनै बीमितले खरिद गरेको छ । बीमालेख जारी भएको १० वर्ष पुरा हुँदा सम्मप्रतिवर्ष ५ प्रतिशतको दरले बीमितले बीमा कम्पनीबाट १० लाख रुपैयाँ बीमांकबाट ५ लाख रुपैयाँफिर्ता लिई सकेको हुन्छ ।
यसबाहेक अभिकर्ता कमिशन, पूनर्बीमाशुल्क र संचालन खर्च वापत थप रकम बीमा कम्पनीले खर्चिएको हुन्छ । बीमांकको आधा रकम भुक्तानी दिएपछि बीमा अवधि पुरा नहुँदै बीमितको मृत्यु भइहाल्यो भने बीमा कम्पनीले बीमांक बराबर अर्थात् १० लाख रुपैयाँ थप दाबी दिनुपर्छ । अर्थात् बीमांक १० लाख रुपैयाँ भएपनि बीमा कम्पनीले पहिलो १० वर्षमा ५ लाख रुपैयाँ दिइसकेको हुन्छ र बीमितको मृत्युपछि थप १० लाख सहित १५ लाख रुपैयाँ भुक्तानी दिनुपर्छ ।
अझ बीमा गरेको १९ वर्ष पुरा भएपछि बीमितको मृत्यु भएको अवस्थामा बीमा कम्पनीले ५ प्रतिशतको दरले बीमितलाई ९ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिसकेको हुन्छ । १९ औं किस्ता वापतको रकम भुक्तानी लिई सकेपछि फ्याट्टै बीमितको निधन भएको अवस्थामा बीमा कम्पनीले थप १० लाख रुपैयाँ भुक्तानी दिनुपर्छ । अर्थात् बीमा कम्पनीले १० लाख रुपैयाँको बीमामा बीमित र उसको परिवारजनलाई समेत गरेर १९ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने अवस्था हुन्छ ।
यसबाहेक बीमितले दुर्घटना मृत्युको जोखिम समेत बीमालेखमा समावेश गरेको रहेछ भने बीमा कम्पनीले थप १० लाख रुपैयाँ सहितकूल २९ लाख ५० हजार रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था आउँछ ।
अन्य सावधिक जीवन बीमा योजनामा पनि बीमा कम्पनीले जोखिम व्यहोर्नु परेपनि वार्षिक धन लाभ बीमा योजनामा झैं वार्षिक रुपमै बीमांक रकम फिर्ता गर्नुपरेको हुँदैन । बीमितबाट बीमा शुल्कवापत प्राप्त रकम बीमा कोषमा जम्मा गरेर लगानी गर्ने र ब्याज आम्दानी गर्ने अवसर बीमा कम्पनीले प्राप्त गरिरहेको हुन्छ । तर वार्षिक धन लाभ बीमा योजनामा लगानीका लागी बीमा कम्पनीसँग खासै रकम बाँकी रहेको हुँदैन ।