काठमाडौं। लामो अवधिको लागि जीवन बीमालेख जारी गरेपनि दोश्रो वर्षको शुरुवातमै बीमितलाई बीमांकको निश्चित रकम दिनेगरी प्रचलनमा ल्याइएको बीमा योजनाले खोक्रो बनाउँदै लगेको छ। वार्षिक कारोबार अंक र प्रथम बीमाशुल्क आम्दानीवापतको रकम धेरै देखाउनको लागि वार्षिक धनलाभ बीमा योजनाको आड लिएपनि यो धमिरा सरह भएर बीमा कम्पनीमा प्रवेश गरेको छ।
वार्षिक धनलाभ बीमालेख बिक्री गरेर हौंसिएका राम्रा मानिने कम्पनीहरुको पनि जीवन बीमा कोष वृद्धि दरमा सुस्तता देखिन थालेको छ। अभिकर्ता कमिशन, संचालन खर्च, पूनर्बीमा शुल्कलगायतका कारणले यो बीमालेख बिक्रीबाट प्राप्त हुने बीमाशुल्क रकमको मुश्किलले ३० प्रतिशत रकम बचत हुन्छ।
लगानीयोग्य बचत अत्यन्त न्यून हुने भएकाले यस्तो बीमालेखको बोनश दर एकदमै कमजोर हुन्छ। उदाहरणको लागि यूनियन लाइफ इन्स्योरेन्सको घोषित बोनश दरको अंक ज्यादै दयनीय छ।
बीमा गरिसकेपछि कर्जा पाइन्छ भन्ने आम धारणा हुन्छ। तर वार्षिक धनलाभ बीमा योजनामा बीमितले बीमालेख कर्जावापत एकदमै थोरै रकम प्राप्त गर्छन् । उदाहरणको लागि ५ वर्षमा ५ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्ने बीमितले बीमालेख कर्जावापत बढीमा ३६ हजार रुपैयाँ मात्र पाउन सक्छन्।
वार्षिक धनलाभ अन्तर्गत अग्रिम भुक्तानीवापतको रकम बीमा अवधिभर बीमितले प्राप्त गर्ने भएकाले
बीमा अवधि थपिंदै जाँदा कर्जा पाउने रकम घट्दै जान्छ।
बीमितको सहजताको लागि जीवन बीमा कम्पनीले वार्षिक अग्रिम भुक्तानीवापतको रकम बीमाशुल्कमा समायोजन गरिदिन्छन्। उदाहरणका लागि कुनै बीमितले ५० लाख रुपैयाँको बीमा गरेको छ भने उसले दोश्रो वर्षको प्रारम्भ देखि वार्षिक रुपमा ५० लाख रुपैंयाँको ५ प्रतिशत रकम २ लाख ५० हजार रुपैयाँ फिर्ता प्राप्त गर्छ। तर बीमा कम्पनीले बीमितबाट वार्षिक बीमाशुल्कवापत प्राप्त गर्नुपर्ने रकममा २ लाख ५०हजार रुपैयाँ कट्टा गरी बाँकी रकम मात्र जम्मा गर्न लगाउने र बाँकी रकम अग्रिम भुक्तानीवातपको पैसाबाटै समायोजन गरिदिन्छ।
दोश्रो वर्षबाट बीमाशुल्कमा अग्रिम भुक्तानी वापतको रकम समायोजन गरेर कम्पनीले प्राप्त गर्ने वास्तविक बीमाशुल्क रकम खासै हुँदैन। त्यसैल बचतवापतको लगानीयोग्य रकम कम हुने भएकोले बोनश दर पनि राम्रो हुँदैन।
जीवन बीमा कम्पनीले पहिलो वर्ष २५ प्रतिशत, दोश्रो वर्ष १५ प्रतिशत र तेश्रो वर्षदेखि ५ प्रतिशत रकम अभिकर्ता कमिशन वितरण गर्छ। यसबाहेक पूनर्बीमा शुल्कवापत खर्च हुन्छ। यो बीमा योजनामा कम्पनीले १ अर्ब रुपैयाँ उठाउँदा खर्च र अग्रिम भुक्तानीवापतको रकम कटाउँदा वास्तविक रुपमा ३० करोड रुपैयाँ प्राप्त गरेको हुन्छ।