काठमाडौं । संसदमा गभर्नर महाप्रसाद अधिकारीको राजिनामा माग भए सँगै बिहीबार शेयर बजार दोहोरो अंकले सुधार भएको छ । शेयर बजार विरोधी गभर्नरका रुपमा चिनिएका अधिकारीको राजिनामा माग भए सँगै शेयर बजारमा सुधारिएको हो ।
आजै प्रधानमन्त्री शेर बहादुर देउवाले गभर्नर अधिकारी सँग आगामी आर्थिक वर्षको मौद्रिक नीतिका साथै अधिकारीलाई आफ्नो विवादको प्रमाण पेश गर्न निर्देशन दिएका छन् । देउवाले प्रमाण पेश गर्न नसके राजिनामा दिन समेत अनुरोध गरेको विषय सञ्चार माध्यममा आएका छन् । यसले पनि बिहीबार शेयर बजारमा सुधार देखिएको हो । नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागका सदस्य ‘एम अधिकारी’ नै नेपाल राष्ट्र बैंकका गभर्नर रहेको भन्दै हिजोदेखि चर्को विरोध हुँदै आएको छ । गभर्नर अधिकारी हिजोदेखि नै कुनै पनि सार्वजनिक कार्यक्रममा उभिएर बोल्न सकेका छैनन् ।
बिहीबार नेप्से सूचक १४.७१ अंकले सुधार भएर २००१.५३ अंकमा बन्द भएको छ । कारोबार सुरु भएदेखिनै सुधारिन थालेको शेयर बजार केहि समय घटे पनि अधिकाम्स समय सुधारकै अवस्थामा रह्यो । नेप्से सूचक ०.७४ प्रतिशतले सुधार हुँदा २ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक धेरै अपरतामाकोशीको शेयर मूल्य ७.१४ प्रतिशतले बढेको छ । सर्वाधिक धेरै एनआईसी एशियाको कारोबार भएको छ भने प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक धेरै घटेको छ ।