बैंकबाट ऋण लिनका लागि मात्रै बीमा गर्दा वास्तविक जोखिम बहन हुन सक्दैन, भिमसेन एलनको लेख

भिमसेन एलन 

बालाजुका गणेश कार्कीले महाभूकम्पबाट पूर्णरुपमा क्षति पुर्याएको घर बीमा नगरेकै कारण बीमा दाबीमार्फत आउने रकमले नयाँ घर निर्माण गर्ने अवसरबाट बञ्चित हुनुपर्यो । कार्की जस्ता धेरै संख्यामा ग्रामीण र शहरी क्षेत्रमै पनि अधिकांश भवनको बीमा नगर्दा बीमा दाबी गर्नबाट बञ्चित भए ।

त्यस्तै बाढीबाट हुने क्षतिको बीमा नहुँदा केहि समय अगाडि पर्यटकीय नगरी सौराहाका होटल व्यवसायीहरु आफ्ना व्यवसाय र घरकै क्षति हुँदा पनि टुलटुल हेरेर बस्नुपर्यो । बीमा बैंकबाट ऋण लिने क्रममा भूकम्प र आगलागीको बैंकले नै अनिवार्य रुपमा गर्न लगाउने भए पनि बाढीबाट हुने क्षतिको बीमा नगर्दा व्यवसायीलाई ठूलै मर्का पर्यो ।

साउन महिनामा राप्ती र बूढी राप्तीमा बाढी आएपछि सौराहाका सबै होटल डुबानमा परेका थिए ।  राप्ती किनारका पाँचवटा रेस्टुरेन्ट बगाएर पूरै क्षति भएको थियो भने अन्य होटलमा पनि क्षति पुगेको थियो । क्षेत्रीय होटल संघ सौराहाका अनुसार बाढीका कारण १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको थियो भने ९० प्रतिशत होटलले बाढीबाट हुने क्षतिको बीमा गरेका थिएनन् । क्षति भएका अधिकांश होटलको बैंकमा ऋण रहेको थियो । संघका अनुसार सौराहाका होटलको मात्रै १२ अर्बभन्दा बढी ऋण रहेको थियो । यसअघि पनि पटकपटक बाढीले करोडौको क्षति पुर्याएको सौराहामा बैंकले ऋण दिदा बाढीको समेटने गरी बीमा गर्न नलगाएको पाइएको थियो । अनिवार्य भन्दै भूकम्प र आगजनीको बीमा गराए पनि बाढीको बीमा गर्न बैंकले पनि नभन्ने र व्यवसायीले पनि ध्यान नदिदाँ पूरै जोखिम व्यवसायीले व्यहोर्न बाध्य भएका थिए ।

जोखिन बहन गर्ने भन्दा पनि बैंकबाट कर्जा लिनका लागि बैंकले खोजे अनुसारको बीमा गरि टोपल्ने प्रवृतिले आम सर्वसाधारण मर्कामा पर्ने गरेका घटना थुप्रै छन् । भवनको बीमा गर्न अहिले अनिवार्य छैन ऐच्छिक भएकै कारण धेरैले बीमा नगर्ने गरेका छन् । बैंकबाट ऋण लिएर घर बनाउनु परे मात्रै बैंकले कर्जाको सुरक्षाका लागी बीमा खोज्ने भएकाले बुझदै नबुझी बीमा गर्ने टेण्ड अहिले व्याप्त छ । बैंकबाट ऋण लिएर निर्माण हुने भौतिक संरचनामा बीमा अनिवार्य छ ।

बैंकहरूले आवासीय तथा व्यावसायिक भवनहरु निर्माणका लागि कर्जा दिदाँ उक्त संरचनाको बीमा अनिवार्य गर्ने गरेका छन् । यस्तो नियमले पनि अधिकांश भवन बीमाको दायराभित्र अटाउने गरेका छन् । तर यसबाट पुरै जोखिम बहन गर्ने भन्दा पनि बैंकबाट कर्जा लिन प्रयोग हने खालको मात्रै रहेको पाइन्छ । ग्रामीण क्षेत्र र न्यून आय भएका व्यक्तिलाई लक्षित गरेर न्यून शुल्कमा बीमा गराउन सबै बीमा कम्पनीलाई बीमा समितिले निर्देशन जारी गरेको छ । अधिकांश व्यक्तिमा बीमा र यस सम्बन्धी हरेक व्यक्तिलाई बीमा क्षेत्रसँग जोड्ने प्रयोजनका लागी यस्तो निर्देशन जारी गरेको हो । सरकारले ठूला आवासीय भवन र सरकारी भवनमा बीना अनिवार्य गर्ने कुरा उठाउदै आए पनि हालसम्म कुनै ठोस निर्णय गर्न सकेको छैन ।

भूकम्पपछि निजीवन बीमा अन्तर्गत आवासीय भवन तथा भौतिक संरचनमा बीमा गर्ने चलन बढदै गए पनि हालका दिनमा फेरि खस्किदै गएको छ । भूकम्पपछि साधारण नागरिकहरुमा बीमाप्रतिको आकर्षण बढेको थियो । २०७२ को विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पर्यायो। तीमध्ये जम्मा तीन प्रतिशतले बीमा गरेको पाइएपछि तीन प्रतिशतलाई मात्रै बीमा रकम हस्तान्तरण गरियो । सो घटनापछि नागरिकमा बीमा गनुपर्ने रहेछ भन्ने चेतनामा कोही वृद्धि भर पनि विस्तारै सबैले बिर्सदै गएका छन् । भुकम्पले अर्बाैंको भौतिक संरचना लगायतका सम्पतिको विनाश गरे पनि बीमाको दायरामा आएकाले मात्र क्षतिको दाबी गरेका थिए । बीमा कम्पनीहरुले एक अर्व २२ करोड ७३ लाख रुपयाँ पेस्की दिएका थिए। भुक्तानी प्रक्रियालाई सन्तोषजनक नै मान्नुपर्ने भए पनि बीमा गर्ने तर्फ सर्वसाधारणको ध्यान जान सकेको छैन।

बीमा गरेर बाढी पहिरो, भूकम्प, आगलागी, चोरी लगायतका प्राकृतिक प्रकोपबाट हुनसक्ने नोक्सानीको क्षतिपूर्ति र लागत उठाउन सकिन्छ भन्ने आम मानिसलाई अझै पनि बुझाउन सकिएको छैन । भुकम्प अघि थोरै व्यक्तिले मात्र बीमा गर्ने गरेकोमा भुकम्पपछि एकाएक फस्टाएको थियो भने हालका दिनमा भौतिक संरचनाको बीमा फरि ओरालो लागेको छ । जोखिम हस्तान्तरणाको सिद्धान्तका आधारमा सञ्चालन हुने बीमा व्यवसाय नेपालमा अन्य देश जस्तो उत्साहप्रद छैन ।

जीवन बीमा कम्पनीभन्दा पनि निर्जीवन बीमा कम्पनीका विषयमा हामी कम जानकार छौ भने यसको प्रभावकारिता पनि कम छ । व्यक्तिले आर्जन गरेको सम्पत्तिको सुरक्षाका लागि निर्जीवन बीमा गरिन्छ । घर, उद्योगधन्दा, कलकारखानाका सम्भावित दुर्घटनाबाट हुनसक्ने हानी नोक्सानीको क्षतिपूर्तिका लागी बीमा जरुरी हुने गर्दछ । बीमा गरेर बाढी पहिरो, भुकम्प, आगलागी, चोरी लगायतका प्राकृतिक प्रकोपबाट हुनसक्ने नोक्सानीको क्षतिपूर्ति र लागत उठाउन सकिन्छ ।

भूकम्प गएको ३४ महिनामा बीमा कम्पनीहरुले ८२.५६ प्रतिशत दाबी भुक्तानी गरेका थिए । २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले १६ अर्ब ९ करोड १९ लाख बराबरको क्षति भएको दावी परेको थियो । १७ हजार ७ सय ९९ वटा दाबी परेकोमा बीमा समितिसहितको छानबिन समितिले छ हजार १६५ वटा दावी नलाग्ने निष्कर्ष निकालेको छ । यस आधारमा १६ अर्ब ६८ करोड ८४ लाख रुपयाँ बराबरको क्षति भएको भने पनि त्यसलाई घटाउँदा वास्तविक क्षति केही कम देखिएको हो । दाबी परेको संख्याको आधारमा भने अहिलेसम्म विभिन्न १६ निर्जीवन बीमा कम्पनीले ९८.०५ प्रतिशत भूक्तानी गरिसकेको बीमा समितिले जनाएको छ । ठूलठूला क्षतिको अनुगमन, मूल्याङ्कन र हिसाब निकाल्न समय लाग्ने भएकाले शतप्रतिशत भुक्तानी हुन नसकेको समितिले जनाएको छ ।

अहिले जति पनि भुक्तानी गर्न बाँकी छ, ती ठूला रकमका दाबी हुन् । तत्कालीन समयमा नियामक निकाय बीमा समितिले भुकम्पसँग सम्बन्धित बीमा दाबीको भुक्तानी फास्ट ट्याकबाट गर्ने भने पनि झण्डै तीन वर्ष बित्न लाग्दा समेत ८२.५६ प्रतिशत ढाबी भुक्तानी भएको हो ।

संस्थाका आधारमा सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्समा तीन हजार १५ वटा दाबी परेकोमा एक हजार २१२ वटा दाबी नलाग्ने देखिएको समितिले जनाएको छ । कम्पनीले ९८.६४ प्रतिशत दाबी भुक्तानी गरिसकेको छ ा रकमका आधारमा भने सबैभन्दा बढी हिमालयन जनरल इन्सुरेन्समा चार अर्ब ८८ करोड २४ लाख रुपयाँ बराबरको दाबी परेकोमा कम्पनिले ७८.९२ प्रतिशत दाबी भुक्तानी गरिसकोको छ ।
नेपालमा अहिले जीवन बीमा १८, निजीवन बीमा २० र पुनबीमा तर्फ एउटा गरेर कुल ४९ बीमा कम्पनीहरु रहेका छन ्। बीमाको कभरेज भन्नु पर्दा जीवन बीमातर्फ जनसख्याको जम्मा १० प्रतिशत हाराहारी छ । ९० प्रतिशत यसको दायराभित्र छैनन् । त्यस्तै, निर्जीवन बीमातर्फ बीमाको प्रिमियम वृद्धिदर लगभग २० प्रतिशत छ भने जीवन बीमातर्फ बीस–बाईस प्रतिशत गरेर वार्षिक बृद्धिदर २२ प्रतिशत जति छ । समग्रमा भन्नुपर्दा वृद्धिदर राम्रो भए पनि जनता समक्ष पहुचँ नपुगेको कारण सन्तोष गर्ने ठाउँ छैन।

नेपालीको बीमामा पहुँचको अवस्था सन्तोषजनक रहेको पाइन । जनताको बीमा हँदा त्यसको सकारात्मक प्रभाव राज्यलाई समेत पुग्ने हुनाले जति धेरै जनताको बीमा हुन सक्यो त्यति राम्रो हो । निर्जीवन बीमा भने विस्तारै बढदो क्रममा रहेको छ। बीमामा यो पहुँचको अवस्था हेदी बीमाको विस्तार जुन हिसाबमा भएको हुनुपथ्यौं, त्यो हुन सकेको छैन । एउटा कारणचाहिँ चेतनाको अभाव नै हो । त्यसैले आज नागरिकमा बीमा के हो ? यो किन गर्नु जरुरी छ ? यसका फाइदा के छन् ? भन्ने चेतना फैलाउन सकिएको छैन । चेतना मात्र नभई बीमाप्रतिको दृष्टिकोण पनि महत्वपूर्ण हुन्छ । बीमा के हो ? भन्ने बुझेकाले पनि बीमा नगरेको धेरै भेटिन्छ । त्यसैले बीमाप्रतिको चेतना र दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने अवस्था छ । त्यसो भए मात्र बीमाको दायरा अझ बढ्न जान्छ ।

आर्थिक विकास र बीमा एकअर्काका परिपूरक हुन् । आर्थिक गतिविधि बढदै गयो जने बीमा आफै बढेदै जान्छ । किनकि आर्थिक गतिविधिमा आउने जोखिम हस्तान्तरणका लागि त बीमा चाहियो । त्यस्तै आर्थिक गतिविधि बढाउन लगानीको अवसर चाहिन्छ । जहाँ लगानीको अवसर र लगानी क्रियाकलाप बढ्छ भने स्वतः बीमाको विकास हुने हो। त्यसैले आर्थिक विकास हुँदै गए बीमा पनि विकास हुन्छ । बीमाको विकास भएको देखिन्छ भने आर्थिक विकास पनि भएको छ भनेर भन्न सकिन्छ । आर्थिक विकासले गति लिन नसक्दा पनि बीमा क्षेत्र पछि पर्छ भन्ने बुभनुपर्छ । तैपनि भविष्यमा आर्थिक स्थायित्व, राजनीतिक संक्रमणको अन्त्य, लगानीको गतिविधि बढेपछि बीमाले पनि फड्को मार्छ । त्यस्तै सुरक्षा नभई लगानी आउँदैन । चाहे त्यो व्यक्तिगत लगानी होस् वा बैंक, वित्तीय संस्थाहरुले गर्ने लगानी होस् । बैंक वित्तीय संस्थाले गर्ने लगानीमा सुरक्षण अनिवार्य नै छ । तर, व्यक्तिगत लगानी पनि सुरक्षण भएमा बढ्नु स्वाभाविक हो । त्यसैले बीमा र आर्थिक विकासलाई एकअर्काबाट छुट्याएर हेर्न मिल्दैन ।

बीमा भनेको आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ सोही सम्झौताका आधारबाट बीमा कम्पनीले

नोक्सानीको क्षतिपूर्ति दिन्छ । तपाई हामी सबै मानिस भोली अर्थात भविष्यका बारेमा अनभिक्ष हुन्छौ । तर अचानक भोली जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । यसरी भोलिका दिनमा हन सक्ने जोखिमको न्यूनिकरण गर्न तथा भविष्यमा हुने जोखिमहरुलाई हस्तान्तरण गर्नका लागि अपनाउन कानूनी विधि वा बीमा कम्पनीसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो । बीमा सरकारी ऐन अनुसार स्थापना भई नियामक निकायको रेखदेखमा सञ्चालन हुने तथा विदेशी ठुला कम्पनिसँग पुनर्बीमा हुने हुँदा बीमा कम्पनी कसैको पैसा लिएर भाग्न सक्दैनन । यी कम्पनिहरु आधिकारीक, भरपर्दो र विश्वासिलो मानिन्छन् । ‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो। जसको अर्थ हुन्छ– ‘भावार्थ’ अर्थात ‘जिम्मेवारी लिनु ।’ त्यसैले पनि विभिन्न विश्लेषकहरुले बीमालाई ‘जोखिम हस्तान्तरण’को रुपमा व्याख्या गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार