काठमाडौं । शेयर बजार लगातार घटेसँगै आत्तीएका लगानीकर्तालाई संबोधन गर्न सरकारले ४ जनाको उच्च स्तरीय धितोपत्र सम्बन्धी सुझाव समिति गठन गरेको छ । उक्त समितिमा अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र बीमा समितिका प्रतिनिधिहरु रहने छन् ।
अर्थमन्त्री शर्माले शेयर बजारमा देखिएका समस्या समाधानका लागि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र गभर्नर महाप्रसाद अधिकारी सँग छलफल गरेका छन् । तीन जनाको छलफल पछि शेयर बजारमा देखिएका समस्याको अध्ययन गर्न तथा समाधानका उपाय पहिल्याउन उक्त समिति गठन गर्ने निर्णय भएको हो ।
शेयर बजार लगातार ओरालो झरेसँगै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । लगानीकर्ताले प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नर लगायतका उच्च पदस्थ व्यक्तिहरुलाई लगातार भेटिरहेका छन् । शेयर बजारको सुधारका लागि लगानीकर्ताको सक्रियता बढे सँगै सरकारले पनि चासो व्यक्त गरेको छ । चासो व्यक्त सँगै सुधारका लागि आवस्यक पहल गर्ने अर्थमन्त्री शर्माले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।