काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले मर्जरका लागि स्वाप रेसियोमा सहमति जनाएका छन् । आपसी सहमति पछि एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुको स्वामित्व १५ प्रतिशत खुम्चिने भएको छ । दुई कम्पनी विचमा स्वाप रेसियो एक बराबर ०.८५ प्रतिशत कायम भए सँगै अव एभरेष्टका शेयरधनीहरुको शेयर संख्या घट्ने भएको हो ।
स्वाप रेसियोका साथै मर्जर पछिको नामको विषयमा पनि सहमति जुटेको छ । मर्जर पछिको कम्पनीको नाम ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड’ रहने भएको छ । दुबै कम्पनीले मर्जरको विशेष प्रस्ताव सहित आगामी असार २ गते विशेष साधारणसभा बोलाएका छन् ।
मर्जर प्रयोजनका लागि जेबि राजभण्डारी एण्ड डिबिन्सले डिडिए गरेको थियो । डिडिए पश्चात स्वाप रेसियो तय भएको दुबै कम्पनीले जनाएका छन् ।
मर्जर पछि केन्द्रिय कार्यालय हाल हिमालयनकै कार्यालय रहेको बबरमहलमा रहनेछ । एभरेष्ट इन्स्योरेन्स यस अगाडी नै आफ्नो केन्द्रिय कार्यालय रहेको भवनको स्वामित्व बिक्रीका लागि बोलकबोल आह्वान गरिसकेको छ ।
दुबै कम्पनीले विशेष साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरे सँगै एकिकृत कारोबारका लागि आवस्यक कानुनी प्रकृयाँ सुरु हुने कम्पनीले जनाएका छन् ।