अभिकर्ता नानु खड्काको नजरमा बीमाः बालबच्चाको भविष्य सुनिश्चि बनाउने योजना, बृद्धबृद्धाका लागि बुढेसकालको साहारा

काठमाडौं । बीमा कम्पनीहरुले शाहरा विहिनलाई शाहरा प्रदान गर्छ भन्दै बीमाको प्रचार प्रसार गर्ने गरेका छन् । हविगतमा समेत यो प्रचार वास्तविकतामा परिणत भएको एकदमै कमै व्यक्तिहरुले महसुस गरेका छन् । बीमा गरेकाले मात्रै नभई बीमा गराउनेले समेत आफ्नो जीवनमा बीमालाई बाँच्ने आधारको रुपमा पाएका छन् । तीनै थोरै व्यक्तिहरुमध्येका एक व्यक्ति हुन् अभिकर्ता नानु खड्का । उनी विगत ८ वर्षदेखि लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) मा सक्रिय अभिकर्ताको रुपमा क्रियाशिल छिन् ।

खड्का उच्च शिक्षा हाँसिल गर्नका लागि सोलुखुम्बुबाट काठमाडौं झरेकी थिइन् । २०६९ सालमा काठमाडौं झरेकी नानुले काठमाडौं शहरमा आफू बाँच्न निक्कै अप्ठेरा पाटाहरु झेलीन् । काठमाडौं झरेको दुई वर्षपछि भने उनको अंकल श्याम प्रसाद भट्टराईले एलआइसीमा  अभिकर्ताको जागिर लगाइदिएका थिए । २०१४ देखि एलआइसीमा जोडिएकी उनी हालसम्म पनि सोही इन्स्योरेन्स कम्पनीको सक्रिय अभिकर्ताको रुपमा काम गर्दै आइरहेकी छिन् । २०२० सम्म उनी एलआइसीकै सबैभन्दा कान्छो अभिकर्ताको रुपमा थिइन् । उनको अथक मिहिनेत र लगनशिलताले उनलाई अभिकर्ता पेशाको एउटा उचाइमा पुर्याएको छ । उनले यस अवधिमा ३ पटकसम्म एमडीआरर्टीको उपाधि समेत पाइसकेकी छिन् । यो पेशाबाट आफू सन्तुष्टि रहेको उनी बताउँछिन् । गाँस बास र कपास एलआइसीले नै दिइरहेको छ अवको दिनमा पनि आफू यहि कम्पनीमा आवद्ध रहने उनको भनाई छ ।

अभिकर्ता पेशामा लागेपछि नानुको जीवन शैलि फेरिएको छ । कुनै समय गाडी भाडा तिर्न धौधौ हुने उनी अहिले निजि सवारीमा निस्किन्छिन् । मासिक ५०/६० हजार रुपैयाँ कमाउनका लागि उनलाई विदेशिनुपर्ने बाध्यता छैन । आफ्नो यो सफलता भने एलआइसीमा जोडिएपछि भएको उनी बताउँछिन् । हाल उनले बार्षिक ६० देखि ७० लाखसम्म प्रिमियम तिर्ने गर्छिन् । उनी कहिल्यै पनि काठमाडौं केन्द्रित भइनन् । न त उच्च ओहोदाको व्यक्तिको मात्रै बीमा गराइन् । सडकमा ठेलागाडावालादेखि फुटपाथ व्यापारीलाई समेत उनी बीमाको ज्ञान बाँड्छिन् । आफूले जानेको कुरा बुझाउँदै गर्दा कुनै एउटा परिवारले आर्थिक आश्रय पाउने उनको विश्वास छ । बालबच्चाका लागि बीमा भविष्य सुनिश्चित बनाउने माध्यम हो भने बृद्धबृद्धाका लागि बुढेसकालको साहारा बन्ने उनी बताउँछिन् । तसर्थ यो पेशालाई उनी सामाजिक सेवाको रुपमा पनि लिन्छिन् ।

उनको यो सफलता भने ठूलो संघर्षबाट आएको हो । २०७९ मा काठमाडौं आएकी उनले सुरुवाती दिनमा निक्कै संघर्ष गरिन् । एसएलसी सकेर गाउँमै १८ महिने जेटिए अध्ययनका लागि भर्ना भएकी उनले सोही समय आमा गुमाएपछि जेटिएको कोर्ष पूरा गर्न पाएकी थिइनन् । तर ३ महिने तालिममले भने भेटनरी सम्बन्धी केही सिप सिकेकी थिइन् । उक्त सिपको आडमा उनले एउटा केनलमा कुकुरलाई सुई लगाउने जागिर पाएकी थिइन् । कुकुरको उपचारका लागि जाने क्रममा लामा थरकी एकजना दिदीको घर पुगेकी थिइन् । थाई घर धरान भएकी बसोबास भने काठमाडौंमै रहेको लामा दिदीबाट उनले आफ्नी आमाबाट जस्तै माया र आड भरोसा पाइन् । जसले गर्दा काठमाडौंमा संघर्ष गर्न थप उर्जा मिलेको थियो उनलाई ।

मासिक ५ हजार रुपैयाँले काठमाडौंमा खाना बस्न समेत धौधौ भएको समय उनी अभिभावक विहिन नै थिइन् । कक्षा १२ को अध्ययनपछि उनले आफ्नो बुबालाई पनि गुमाएकी थिइन् । घर अभिभावक विहिन भएपछि भाइको जीम्मेवारी उठाउन काठमाडौं पसेकी थिइन् । तर थोरै कमाई र काठमाडौंको महंगीले आफू पालिन समेत मुस्किल थियो । यो अवस्थामा लोकसेवा पढेर सरकारी जागिर खाने उनको सपनाले विजारोपन गर्नुअघि नै निमोटिनुपर्यो ।

उनको यो संघर्षमा साथ दिन उनको अंकल श्याम प्रसाद भट्टराई अभिभावक बनेर आए । १९ वर्षको उमेरदेखि नानु बीमा क्षेत्रमा लागेकी थिइन् । पैसा कमाउने उपयुक्त क्षेत्र भएकोले यो क्षेत्रमा लाग्न उनै अंकलले सुझाए । आफूसँगै भाइको जीम्मेवारी समेत वहन गर्नुपर्ने भएकोले उनले यहि क्षेत्रमा जम्ने अठोट गरिन । उनले कामलाई नै सबैथोक ठानिन् र पुग्न थालिन हरेक ठाउँमा बीमाको ज्ञान बाँड्दै ।

हरेक अवस्थामा पनि घुलमिल हुन सक्ने उनले हालसम्म ६६ जिल्लामा बीमाको ज्ञान बाँडेकी छिन् । घुमफिरमा रुची भएकोले पनि बीमा क्षेत्रमा आफूले चाहे जति काम गर्न सकेको उनी सु्नाउँछिन् । यदि काठमाडौंमै मात्र सिमित भएको भए आफूले यति धेरै ठाउँ घुम्न सम्भव नहुने उनको भनाई छ । यो पेशामा जिज्ञासुसँगै बोलीमा मिठासता भएमा हरकोहीले पनि बीमा पोलिसी बिक्रि गर्न सक्ने उनको अनुभव छ । तर कम्पनी र बीमा पोलिसीको अर्धज्ञान भएका अभिकर्ताले बाँडेको अर्धज्ञानले भने बीमा क्षेत्रलाई नै बदनाम बनाउँदै गएको उनको भनाई छ । घर घरमै  लाइसेन्स बाँड्ने कम्पनीहरुको प्रचलनले राम्रो ज्ञान भएका अभिकर्ताले समेत ग्राहकसमक्ष लज्ज्ति हुनुपरेको उनी सुनाउँछिन् । तसर्थ कम्पनीले राम्रो तालिम प्रदान गरेर मात्र लाइसेन्स बाँडेको राम्रो हुने उनको भनाई छ ।

अभिकर्ताको रुपमा आफूले पाएको सफलतामा उनलाई आत्मसन्तुष्टि मिल्ने गरेको छ । यदि कोही नयाँ व्यक्ति यो क्षेत्रमा आउन चाहेमा यो क्षेत्र उपयुक्त रहेको उनी सुझाउँछिन् । विशेषगरि महिलाको लागि क्षेत्र उपयुक्त रहेको उनको अनुभव छ । शारिरक परिश्रम नपर्ने र पब्लिक रिलेसन राम्रो हुने भएकोले समाज बुझ्न थप सहयोग गर्ने भएकोले महिलाका लागि यो क्षेत्र उपयुक्त रहने उनले बताए । तर यो पेशामा लाग्ने हो भने फुल टाइम नै लाग्नु उपयुक्त हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार