काठमाडौं । बि.सं. २०२५ मा बीमा ऐन जारी भई जेठ १ गते पहिलो बैठक बसेको सन्दर्भलाई टेकेर आज हामीहरु ५३ औं वर्ष पूरा गरी ५४ औं बीमा दिवस हर्षोल्लासका साथ मनाउदै छौ । यसै वर्ष राष्ट्रिय बीमा संस्थान ऐन पनि जारी भएको थियो । बीमा नियमनको इतिहासका ५३ वर्षको सिहांवलोकन गर्दा धेरै परिवर्तनहरु भएको हामी पाउँछौं तर बीमाको आधुनिक विश्व बजारमा हाम्रो उपस्थिति, योगदान, प्रभावकारीता नगन्य नै छ अर्थात् हामीले धेरै काम गर्नै बाँकी छ ।
बीमा कम्पनी स्थापनाको हिसावले बीमा उद्योगले ७५ वर्ष पूरा गरिसकेको छ । यस मामलामा छिमेकी भारतको इतिहास धेरै पुरानो (२०४ बर्ष) छ भने र चीन हाम्रै उमेरको (७३ वर्ष) देखिन्छ । युरोपमा आधुनिक बीमाको शूरुवात सन् १८०० को शताब्दीबाट भएको थियो र युरोपियन उपनिवेशले सबैतिर बीमाको ब्यवसायको बिस्तार गरेको पनि थियो । त्यसैले भारतीय बीमा बजार बेलायती परम्पराबाट बढी प्रभावित छ भने नेपालले पनि सोही परम्परालाई नै आत्मसात् गरेको देखिन्छ ।
पोलिसीहरु बिक्री गर्नु मात्रै बीमा बजार होइन किनकी बीमा जस्तो जटिल बित्तीय उपकरणको कारोवार हुने बजारको अपरेशन र रेगुलेशन सशक्त हुनु जरुरी हुन्छ । विश्वका विकसित देशमा बीमाले जुन अवस्थामा बिकास गरेको छ त्यसलाई तुलना गर्ने हो भने आकाश र जमीनको फरक पाउंछौं । हामीकहां न्यूनतम आवश्यक निकायहरु, प्रबन्धहरु, कानूनी व्यवस्थाहरुको अभाव छ ।
हामीले तत्कालै गर्नु पर्र्ने केही महत्वपूर्ण बिषयहरुलाई बुंदागत रुपमा पुनः पेश गर्न चाहन्छु ।
१. सशक्त बीमा ऐन र बीमा सम्बन्धी अन्य ऐनहरु लागू गर्नु पर्ने :
नियामक ऐन र सेवा प्रदायक संस्थाको ऐन दुवै बलियो भएको कारण कतिपय अवस्थामा समस्या उत्पन्न भएको अनुभव बीमा उद्योगले गर्दै गर्दा आजका दिनसम्म पनि एकल नियामक ऐनको सशक्त उपस्थित हुन सकेको छैन । बीमा कसूर तथा सजाय ऐन, बीमा बजार ऐन, र सो को मातहतमा दर्जनौं नियमहरु बन्नु आवश्यक छ । ऐन विनाको बीमा बजार जग बिनाको महल जस्तै हो ।
२. गुणस्तरीय जनशक्ति उत्पादन गर्ने बीमा कलेज स्थापनाः
जुन देशमा बीमा सम्बन्धी अध्ययन, अध्यापन, अनुसन्धान हुंदैन, त्यस्तो देशको बीमा उद्योगको बिकास हुनै सक्दैन । शिक्षा बिकासको मेरुदण्ड हो भने प्रोफेशनल शिक्षा बिकासलाई फड्को मार्ने बलियो साधन हो । आज जुन जुन देशमा दक्ष जनशक्ति उत्पादन भएको छ, शिक्षित र अनुभवी मानिसहरुले ती देशका बीमा क्षेत्रको नेतृत्व गरेका छन् ती देशमा बीमाको बिकास अभूतपूर्व ढंगबाट भएको छ । नेपालका निति निर्माताहरुले एउटा कुरा बुझ्नु जरुरी छ कि त्रिचन्द्र कलेज खोल्नु अघि नेपालको शैक्षिक स्तर जुन अवस्थामा थियो, बीमा उद्योगको अवस्था अन्तर्राष्ट्रिय बीमा बजारको तुलनामा आज पनि त्यही अवस्थामा छ भन्दा अतिशयोक्ति हुंदैन ।
३. बीमा सूचना केन्द्र तथा बीमा ठगी तथा जालसाजी अनुसन्धान केन्द्रको स्थापनाः
बीमा क्षेत्रमा हुने ठगी तथा जालसाजीलाई रोक्नु जरुरी छ, यसले प्रिमियम बढाइरहेको छ, र बीमा क्षेत्रलाई बद्नाम बनाइरहेको छ । ठगी कार्यमा कस कसको संलग्नता छ भन्ने थाहा पाउनका लागि बीमा सूचना केन्द्र आवश्यक छ भने ठगलाई समात्न र ठगीलाई रोक्नका लागि बीमा ठगी तथा जालसाजी अनुसन्धान केन्द्रको आवश्यकता छ ।
४. लघुबीमा कम्पनी र जलबायु मापन केन्द्रहरुको स्थापनाः
आम किसानको कृषिबालीको बीमा गर्न जति कठीन छ उती कठीन क्षति मूल्यांकन र क्षति प्रदान गर्न छ । जबसम्म हामी वेदर इन्डेक्स मोडेलमा जादैैनौं तबसम्म कृषि बीमा आम किसानको बारीमा पुग्न सक्दैन । स साना किसानहरुको बीमाको लागि लघु बीमा कम्पनी जरुरी हून्छ भने सो को लागि हरेक गाउंहरुमा जलबायु मापन केन्द्रहरुको स्थापना हुनु आवश्यक छ । यसले मात्रै बीमाको पहूंच गाउं र गरीबसम्म पुर्यायन सक्दछ ।
५. डिजिटलाइजेशन र आर्टिफिसियल इन्टीलिजेन्सको प्रयोगः
आम जनतामा बीमा सेवाको पहूंच पुर्याउने चुनौतीलाई डिजिटलाइजेशनले सम्बोधन गर्दछ भने छिटो र सही ढंगबाट दाबी भुक्तानी गर्न आर्टिफिसियल इन्टीलिजेन्सले सहयोग गर्दछ । दुर्घटनाको सही अनुसन्धानका लागि ड्रोनको प्रयोग उती नै आवश्यक छ । यी प्रविधिको प्रयोगबाट नेपालले बीमा क्षेत्रको बिकासमा फड्को मार्नेछ ।
६. ब्रोकिङ्ग सेवाको अभ्यास, वेभ एग्रिगेटरको प्रयोग, र एक्चुरियल बिषयको अध्यापनः
ब्रोकर विनाको बीमा उद्योगको कल्पना गर्न सकिदैन । नेपालले पुनर्बीमा ब्रोकरको सेवा लिए पनि बीमा ब्रोकरको सेवा भने आजसम्म लिन सकेको छैन । तत्कालै बीमा ब्रोकरको लाइसेन्स खोल्नु आवश्यक छ । बीमितले सबै बीमा कम्पनीका पोलिसीहरु बीच तुलनात्मक अध्ययन गरि उपयुक्त पोलिसी किन्ने अवसर दिनको लागि वेभ एग्रिगेटरको प्रयोग हुनु पर्दछ । बीमा उद्योगको पोष्टमार्टम गर्ने बिज्ञान एक्चुरियल साइन्स हो । अब छिट्टै एक्चुरियल साइन्सको अध्ययन शुरु गर्नु आवश्यक छ अन्यथा बीमा बजारमा गुणस्तरीयता आउने छैन ।
बि.सं. २०७९ मा नेपाल सरकारले बजेट मार्फत बीमा उद्योगमा केही नयां योजना र कार्यक्रम ल्याउनु आवश्यक छ । आशा गरौं हामी सबैको प्रयासबाट बीमा उद्योगमा सकारात्मक परिवर्तन आउने छ ।
(डा. घिमिरे पोखरा विश्वविद्यालयका सह प्राध्यापक तथा नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष हुन् ।)