काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले वार्षिक तलब सुविधा ९१ लाख ८ हजार रुपैयाँ प्राप्त गरेका छन् । कर्णको यस्तो तलब सुविधा ५४.८३ प्रतिशतले बृद्धि भएको हो ।
कर्णले गत आर्थिक वर्ष २०७७/७८ मा तलब तथा अलाउन्से बापत ८४ लाख १२ हजार रुपैयाँ बुझेका छन् । नियम अनुसार कर्मचारी बोनस ६ लाख ७२ हजार रुपैयाँ प्राप्त गरेका छन् । कम्पनीले जीवन तथा निर्जीवन बीमा बापत २३ हजार ६६६ रुपैयाँ प्रिमियम भुक्तानी गरिदिएको छ ।
कर्णले अघिल्लो आर्थिक वर्षमा तलब भत्ता तथा अन्य सुविधा बापत ५८ लाख ४२ हजार रुपैयाँ बुझेका थिए । उच्च व्यवस्थापनमा रहेका कर्मचारीले पनि गत आर्थिक वर्षमा ९१ लाख ८ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
कार्यकारी अधिकृत अन्य प्रबन्धक सम्मका पदाधिकारीहरुलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत ८ करोड २१ लाख १६ हजार १३० रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ । त्यस्तै संचालक समितिका अध्यक्ष तथा संचालकहरुलाई पारिश्रमिक, भत्ता तथा सुविधा वापत ४ लाख २० हजार रुपैयाँ प्रदान गरिएको छ ।