काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले हरेक सूचकमा उल्लेख सुधार गर्न सफल भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाशिक अवधिमा ३३ प्रतिशतले बीमा शुल्क आर्जन बढाउदै एक अर्ब ११ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ८३ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको थियो ।
अन्य जीवन बीमा कम्पनीहरुको मुनाफामा गिरावट आउदै गर्दा सूर्या लाइफको भने बढेको छ । कम्पनीको मुनाफा ११.८८ प्रतिशतले सुधार हुँदा ११ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १० करोड १६ लाख रुपैयाँ आर्जन गरेको थियो । मुनाफा सुधार सँगै प्रतिशेयर आम्दानी पनि २० रुपैयाँ पुगेको छ ।
कम्पनीले जीवन बीमा कोषलाई थप बलियो बनाएको छ । एक वर्ष अगाडी ८ अर्ब रुपैयाँ रहेको यस्तो कोषमा अहिले ११ अर्ब ५१ करोड रुपैयाँ पुगिसकेको छ । कम्पनीले कोषको रकम मध्ये ८ अर्ब ६५ करोड रुपैयाँ दिर्घकालिन लगानी गरेको छ । त्यस्तै बीमितले बीमालेख धितोमा राखेर एक अर्ब २४ करोड रुपैयाँ कर्जा लिएका छन् ।
अभिकर्ताले यस अवधिमा १३ करोड ५६ लाख रुपैयाँ कमिशन बुझेका छन् । यस अवधिमा कम्पनीले १९ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ भने ५ करोड ५१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीमा हाल कायम रहेको बीमालेखको संख्या तीन लाख ८९ हजार वटा रहेको छ ।