काठमाडौं । बीमा समितिले दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । समितिले निर्देशिकामा दुर्घटना बीमालेखको न्युनतम दर समेत तोकिदिएको छ । यस्तो बीमा गर्दा बीमा कम्पनीहरुले न्युनतम पनि प्रतिहजार दुई रुपैयाँका दरले बीमा शुल्क लिनु पर्ने छ । सामुहिक दुर्घटना बीमालेखको हकमा भने दुई जनादेखि २५ जनासम्मको लागि न्युनतम दुई रुपैयाँ, २६ देखि सय जनाको हकमा १.७५ रुपैयाँ, एक सय भन्दा धेरैको हकमा १.५० रुपैयाँ हुनु पर्नेछ ।
यस्तो बीमा पोलिसी एक वर्ष भन्दा कम अवधिको रहने समितिले निर्देशिकामा उल्लेख गरेका छन् । कम्पनीहरुले व्यक्तिगत दुर्घटना बीमा र सामुहिक दुर्घटना बीमालेख जारी गर्न सक्नेछन् । सामुहिक बीमा गर्ने मात्रै उद्देश्यले कुनै समूह खडा गर्न नपाइने व्यवस्था गरिएको छ । त्यस्तै सामुहिक बीमा गर्ने उद्देश्यका लागि मात्रै समुह खडा गरेको प्रमाणित भएमा त्यस्तो बीमालेख स्वतः रद्द हुनेछ । यस्तो बीमालेख जारी गर्दा बीमालेख जारी गर्दा बीमितको पेशासँग निहित जोखिमहरु प्रष्ट रुपमा खुलाउनु पर्नेछ ।