काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्पत्ति बीमालाई काठमाडौंमा समेत अभियानका रूपमा अगाडि बढाउनका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन् ।
अध्यक्ष सिलवालले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई भेटेरै महानगरभित्रका व्यवसायिक भवन तथा घरको निर्माण सम्पन्न प्रमाणपत्र लिँदा र कर तिर्दा सँगसँगै भवन तथा घरको बीमा गर्नूपर्ने व्यवस्था गर्न आग्रह गरेका हुन् । साथै, उनले व्यवसाय, पसल र गोदाम संचालनको अनुमति दिँदा तिनको समेत अनिवार्यरूपमा बीमा गर्नुपर्ने व्यवस्था गर्न आग्रह गरेका हुन् । सम्पत्ति बीमाबाट भविष्यमा भूकम्प, आगलागी, हावाहुरी, बाढी, पहिरा लगायतका विपत्तिका कारण हुने क्षतिको आर्थिक सुरक्षा हुने बताए ।
अध्यक्ष सिलवालले बीमा समितिले स्थानीय तहमा बीमा सचेतना कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाएको जानकारी दिदै काठमाडौंमा पनि वडास्तरमा बीमा सचेतना कार्यक्रम संचालनका लागि सहकार्य गर्न समिति तत्पर रहेको जानकारी दिए ।
भेटका अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाभित्रका व्यवसायिक भवन, घर, पसल, गोदाम, व्यवसाय लगायतका सम्पत्तिको बीमा गर्नुपर्ने व्यवस्था लागू गर्न तत्पर रहेको बताए । उनले सम्पत्ति बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू संचालनका लागि बीमा समितिसँग सहकार्य गर्न महानगरपालिका इच्छुक रहेको बताए ।
भेटका अवसरमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरू पूजन ढुङ्गेल (अधिकारी) तथा दिनेश कुमार लाल र महानगरपालिकाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।