काठमाडौं । राष्ट्रिय बीमा संस्थाले एकै पटक आज तीन आर्थिक वर्षको साधारणसभा गर्ने भएको छ । कम्पनीको विगत १२ वर्षदेखि साधारणसभा हुन सकेको छैन । संस्थानले आज अपरान्ह दुई बजे संस्थानको प्रधान कार्यालय रामशाहपथमा साधारण सभा गर्न लागेको छ ।
बीमा समितिले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरिक्षण प्रतिवेदन स्वीकृत गरे सँगै साधारणसभा गर्ने तयारी गरेको हो । संस्थान, बीमा समिति, महालेखा परिक्षकको कार्यालय र अर्थमन्त्रालयको समन्वयमा उक्त तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न गर्ने सहमति भएको थियो । कतिपय पुराना हिसाव नभेटिएको तथा हिसाव कितावको रेकर्ड नै नष्ट गरेका कारण पनि लेखापरिक्षण हुन सकिरहेको थिएन ।
महालेखा परिक्षणकको कार्यालय तथा अर्थमन्त्रालयले पटक पटक हिसाव मिलाउन तथा लेखापरिक्षण गर्न निर्देशन दिए पनि काम पुरा हुन सकेको थिएन । यसले गर्दा तीन वटै निकायको रोहवरमा उक्त लेखापरिक्षण सम्पन्नका लागि बाटो खुलाइएको हो ।
उक्त तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न भएर साधारणसभा हुने वित्तीकै अर्को तीन आर्थिक वर्षको पनि लेखापरिक्षण सम्पन्न हुने संस्थानले जनाएको छ । संस्थानले आन्तरिक रुपमा २०६९/७०, २०७०/७१, २०७२/७३ र २०७३/७४ को काम पुरा गरिसकेको छ ।
अघिल्लो तीन वर्षको साधारणसभा सम्पन्न हुने वित्तीकै थप चार वर्षको साधारणसभा गर्न संस्थानलाई खासै समस्या पर्ने छैन । बीमा समितिले पनि दुई तीन पटक गरेर साधारणसभा सम्पन्न गर्न सुझाव दिदै आएको छ । अहिलेकै हिसावले काम भैइरह्यो भने यसै वर्षमा उक्त चार वर्षको साधारणसभा पनि सम्पन्न गर्ने योजनामा संस्थान रहेको छ र २०७४/७५ पछाडिको हिसाव किताव पुर्ण रुपमा सुरक्षित भएकाले संस्थानलाई लेखापरिक्षण गर्न गाह्रो पर्ने छैन । अहिलेको साधारणसभाले उक्त लेखापरिक्षण पारित मात्रै गर्ने कार्य योजना रहेको छ । विगत १२ वर्षदेखिको लेखापरिक्षण सम्पन्न भए पछि समितिले तोके अनुसारको पूँजी बढाउने पक्षमा संस्थान रहेको छ ।