काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले एक वर्षमा तलब भत्ता र बोनस सहित ६५ लाख १० हजार रुपैयाँ बुझेका छन् । उनले आर्थिक वर्ष २०७६/७७ मा तलब भत्ता बापत ५१ लाख ३६ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै नियम अनुसार मुनाफाबाट १३ लाख ७४ हजार रुपैयाँ बोनस सहित ६५ लाख १० हजार रुपैयाँ बुझेका हुन् ।
त्यस्तै नायव महाप्रबन्धक तथा विभागीय प्रमुख पदाधिकारीहरुलाई समीक्षा अवधिमा पारिश्रमिक भत्ता तथा अन्य सुविधा वापत एक करोड ५४ लाख रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा संञ्चालक समितिका पदाधिकारीहरुले बैठक भत्ता बापत १३ लाख ३३ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै लेखापरिक्षण समितिका पदाधिकारीहरुले बैठक भत्ता बापत एक लाख ७० हजार, दाबी भुक्तानी तथा पुनर्बीमा उपसमितिका पदाधिकारीहरुले २ लाख २० हजार रुपैयाँ, लगानी जोखिम व्यवस्थापन उपसमितिका पदाधिकारीहरुले एक लाख २० हजार रुपैयाँ बुझेका छन् ।
कम्पनीले आज सम्पन्न गरेको १५ औ वार्षिक साधारणसभाबाट १० प्रतिशत बोनस शेयर पारित भएको छ । शेयरधनीहरुले बोनस शेयर बापत १० करोड ९६ लाख रुपैयाँ र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ५७ लाख ७० हजार रुपैयाँ नगद लाभांस प्राप्त गरेका छन् ।