काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले वार्षिक पारिश्रमिक ५९ लाख ३१ हजार ८४० रुपैयाँ बुझेका छन् । उनले आर्थिक वर्ष २०७६/७७ मा उक्त रकम बुझेका हुन् । खड्काले यस बाहेक नियम अनुसार मुनाफाबाट बोनस, विभिन्न सेवा सुविधाहरु प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा भने प्रमुख कार्यकारी अधिकृतको तलब तथा अलाउन्सेस बापत ७१ लाख ८४ हजार रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । यस वर्ष खड्डाको सेवा सुविधा १२ लाख रुपैयाँले घटेको छ । कोभिड १९ का कारण नेपाल सरकारले लकडाउन गर्दा कम्पनीको मुभमेन्ट कम हुँदा उनको सेवा सुविधामा पनि असर गरेको छ ।
समग्र कर्मचारीहरुको तलबका लागि मात्रै १२ करोड ३७ लाख रुपैयाँ खर्च भएको कम्पनीको लेखपरिक्षण प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सञ्चालकहरुले बैठक भत्ता बापत २१ लाख ३१ हजार रुपैयाँ बुझेका छन् ।