काठमाडौं । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले सहरी क्षेत्रका विद्यालय बैशाखभर बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले कोभिड नियन्त्रण सम्बन्धी आदेश जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गर्नुका साथै २५ जना भन्दा बढीको भेलामा रोक लगाउने निर्णय गरेको छ ।
भौतिक रुपमा विद्यालय सञ्चालनमा रोक लगाए सँगै सम्पुर्ण विद्यालयलाई भर्चुअल माध्यमबाट पठन पाठन अगाडि बढाउन निर्देशन दिएको छ । यस अगाडि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न निर्देशन दिए पनि विद्यालय सञ्चालकहरुले बन्द नगर्न सरकारलाई दवाव दिएका थिए । तर दिन प्रतिदिन कोभिड संक्रमितको संख्या बढ्नुका साथै मृत्युदर पनि बढिरहेको छ ।
यसै अवधिमा केहि बालवालिकाको पनि कोभिड १९ को संक्रमणका कारण मृत्यु भए पछि मन्त्रिपरिषदले बैशाखभर बन्द गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित १४ वटा जिल्लालाई वर्गिकरण गरेर शिक्षण संस्था, सार्वजनिक भेला तथा कार्यक्रम नगर्न निर्देशन दिएको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङलाई अतिप्रभावित भनी वर्गीकरण गरेको छ ।
आइतबार कोभिड संक्रमणका कारण एक हजार ९६ जना संक्रमित भेटिएका थिए । पछिल्लो समय कम उमेरका मानिसहरुमा पनि कोरोनाको संक्रमणदर उच्च देखिएको छ । यसले गर्दा वालवालिका थप जोखिममा पर्दै गएका छन् ।